थापाथलीस्थित प्रसूति गृहबाट आमाकै काखबाट २६ दिने शिशुको चोरी – Nepalboli

थापाथलीस्थित प्रसूति गृहबाट आमाकै काखबाट २६ दिने शिशुको चोरी

   २०८० फाल्गुन ११, शुक्रबार  

थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो । काभ्रेकी एक जना महिलाले उजुरी दिएकी छिन् । जन्मदिएको २६ दिनको शिशु चोरी भएको उजुरीमा भनिएको छ ।

शिशुलाई अस्पताल गएकी एक महिलाले केहिबेर खेलाउने भनेर बोकेकी थिइन् । पछि उनले शिशुलाई लिएर गायब भएको बताइएको छ । शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंको सबै युनिटले खोजी तीव्र पारेको जनाएको छ । अनुसन्धान अधिकृतहरूले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा देखिए अनुसार मास्क लगाएकी महिलाले शिशु लगेको देखिन्छ ।

रातो कपडा लगाएकी महिलाले टाउको समेत रातो सलले छोपेकी छिन् । साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरीमा खबर आएको थियो । सीसीटीभीबाट फुटेज पाएलगतै प्रहरीले खोजी तीव्र बनाएको छ । काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु अस्पतालबाटै चोरी भएको हो । बिहान ११ बजे काभ्रेकी सुत्केरी ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आएकी थिइन् ।

उनले परीक्षण गर्ने बेलामा एकछिन बच्चा समाइदिने भन्दै एक अपरिचितले बच्चा लिइन् । सुत्केरीले पनि सहजै दिइन् । तर, सुत्केरी स्वास्थ्य परीक्षणबाट फर्केर बाहिर आउँदा शिशु समाउने महिला गायब भइसकेकी थिइन् । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आएकी महिलाको हातबाट शिशु चोरी भएको जानकारी दिए ।

शिशु हराएपछि सबैतिर खोजी भयो । नभेटिएपछि प्रहरीमा खबर गरिएको थियो । चोरिएको शिशुको खोजी कार्य तीव्र पारिएको छ ।

‘काखमा बच्चा च्यापेकी महिलाले मास्क लगाएर मुख छोपेकी छिन् । सीसीटीभी क्यामरामा देखिएको छ,’ काठमाडौं प्रहरी परिसरका एसपी प्रवक्ता नवराज अधिकारीले भने, ‘काठमाडौंका सबै प्रहरी युनिटबाट बच्चाको खोजी कार्य जारी छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै