सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यक- मन्त्री शर्मा – Nepalboli

सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यक- मन्त्री शर्मा

   २०८० माघ २५, बिहीबार  

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउनुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा राजधानीमा सुरु भएको २९ औँ सूचना तथा प्रविधि प्रदर्शनी २०८० को उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

‘‘डिजिटल अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रको मूल आधार बनाउन वृहत् सहकार्य आवश्यक छ । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ ।,’’ उहाँले भन्नुभयो, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासङ्घसँग आग्रह गर्दछु ।’’

डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनमार्फत हरेक क्षेत्रलाई डिजिटाइजेसन गर्दै लैजाने सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै उहाँले डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, अर्थ र सहरी पूर्वाधारमा प्रविधिको प्रयोग बढाउन सकिएमा ठुलो परिणाम दिनसक्ने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै