नेपाललाई लगानीको गन्तव्यको रुपमा चिनाउने उद्देश्य- अर्थमन्त्री
तेस्रो लगानी सम्मेलन निर्देशक समितिको तेस्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भयो । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो ।
बैठकलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताउनुहुँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न निर्देशन दिनुभयो ।
‘‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ, विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन ।,’’ अर्थमन्त्रीले भन्नुभयो, ‘‘लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येय हो ।’’
बैठकमा मन्त्री डा महतले आउँदो जुन महिनामा विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्थाले (आईडी) को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेको जानकारी दिनुभयो । उहाँले औपचारिक पत्र केही दिनमा आउँदैछ । अहिलेसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ । विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशको प्रतिनिधि सम्मेलनमा सहभागी रहने बताउनुभयो ।
योभन्दा अगाडि अप्रिल २८–२९ ९वैशाख १६–१७० मा हामी लगानी सम्मेलन गर्दैछौं । यो सम्मेलनलाई उपलब्धीमूलक बनाइयो भने नेपालमा बहुराष्ट्रिय कम्पनी मात्र होइन, निजी लगानी बढ्ने सम्भावना छ । त्यसकारण हामीले छाती फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको मन्त्री डा महतले बताउनुभयो ।
बैठकमा नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधार सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।