संघीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्छ- एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले महोत्तरी जिल्ला सम्मेलनको उद्घाटनको लागि सोमबार जनकपुरधाम आउनुभएका अध्यक्ष ओलीले जनकपुरधाम विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो।
उहाँले संघीय सरकारको कामकारवाहीले संघीयता अप्ठयारोमा पर्न लागेको र जनताबाट विभिन्न खालका प्रश्नहरु उठ्न थालेको भन्दै अहिले प्रश्न उठाउनुभन्दा संघीयतालाई सफल बनाउनेबेला भएको बताउनुभयो । उहाँले भन्नुभयो, संघीयता आएपछि देशमा राम्ररी काम भएन, जनताले सेवा पाएन, विकास निमार्णका कामहरु भएन जस्ता प्रश्नहरु उठ्न थालेको छ । त्यसैले संविधान तहत आएको संघीयतालाई हामी सबैले सफल पार्नुपर्छ ।
उहाँले संघ, प्रदेश र स्थानीय गरी तीनै वटै तह मिलेर संघीयता बनेकोले सही ढङ्गले संघीयताको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले संघीयतामा एकले अर्काको अधिकारलाई स्वीकार गर्नुपर्ने भन्दै त्यो अहिले हुन नसकेको बताउनुभयो । उहाँले भनुभयो, प्रदेशले आफ्नो अधिकार मागि रहँदा अर्काको अधिकार खोस्नुभएन । १५ शय्याको अस्पताल स्थानीय तहको अधिनमा रहेकोबेला त्यसलाई खोसेर चलाउने, आतङ्क मचाउने जस्ता कामहरु भएको छ । प्रदेशका मन्त्रीहरुले आफ्नै जिल्लाका स्थानीय तहलाई बढी बजेट दिने र अन्य जिल्लाका स्थानीय तहहरुलाई विभेद गरेको सुन्नुभएको होला । यसो गर्न हुँदैन, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले प्रदेशहरुले पाएका अधिकारलाई ठिक ढंगले कार्यान्वयन गर्नुपर्ने भन्दै संघीयता कार्यान्वयनमा संघ सरकार उदासिन रहेको कुरा अपवाह मात्रै भएको बताउनुभयो। उहाँले भन्नुभयो, हामीले संविधान, ऐन, कानुन निमार्ण गरेर संघीयता ल्याएको कारण संघीयता कार्यान्वयन गर्न संघ सरकार उदासिन छ भने कुरा गलत रहेको बताउनुभयो । संघीयतामाथि विभिन्न खालका टिका टिप्णीहरु उठेपनि संघीयता माथि पुन विचार गर्ने वेला अहिले नआएको बताउनुभयो । अध्यक्ष ओलीले सरकारको हस्तक्षेपकारी क्रिया कलापले नेपालमा रेडक्रसले मान्यता नपाएको र इतिहासमा यो पहिलो पटक भएको बताउनुभयो ।