विकासको मान्यताअनुसार अघि बढौं- प्रमुख मिश्र – Nepalboli

विकासको मान्यताअनुसार अघि बढौं- प्रमुख मिश्र

   २०८० माघ २१, आईतवार  

मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस प्रदेश संघीयताको जननी भएकाले विकास निर्माणको काममा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । मधेश प्रदेशसभाको छैठौं वार्षिकोत्सव कार्यक्रममा आज उहाँले सो कुरा बताउनुभएको हो । वार्षिकोत्सव मनाउन गठित मूल समारोह समितिले सप्ताहको अन्तिम दिन आइतबार प्रदेशसभाको प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा मिश्रले भन्नुभयो, “मधेश प्रदेश संघीयताको जननी हो । यसलाई जोगाउने दायित्व हामी सबैको काँधमा छ ।”

विभिन्न कालखण्डमा देशमा भएको विभिन्नखालका आन्दोलनमा यस प्रदेशका व्यक्तिले अग्रस्थानमा भूमिका निर्वाह गरेर सहिदसम्म भएकाले सहिदको सपना सकार पार्नेवेला आइसकेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख मिश्रले सबैको साथ सबैको विकासको मान्यताअनुसार मधेश प्रदेश सरकार अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकारले भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गर्न कामकाज अगाडि बढाएको बताउनुभयो । संघ सरकारले समयमै कानुन नबनाएका कारण प्रदेश सरकारले गर्न खोजेको धेरैजसो काम प्रभावित भएको बताउनुभयो ।

कर्मचारी समायोजन र प्रहरी ऐनको विषयमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र दिंदा प्रधानमन्त्रीले सकारात्मक प्रतिवद्धता दिनुभएको बताउनुभयो । प्रदेशले पूर्णरुपमा अधिकार नपाएसम्म संघीयता कार्यान्वयनमा जटिलता रहिरहने उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधारमन्त्री एवम नेपाली काँग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादवले कम स्रोत साधनमा भ्याएजतिको काम अगाडि बढाएको बताउनुभयो । उहाँले संघीयतालाई बदनाम गर्न पनि विभिन्न खालका षडयन्त्र भइरहेको भन्दै षडयन्त्र विफल पार्न प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभयो ।

भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री एवम नेकपा (एकीकृत समाजवादी) पार्टी मधेश प्रदेश संसदीय दलका नेता गोविन्द न्यौपानेले मधेश प्रदेशबाट अरु प्रदेशले पनि सिक्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले देशमा संघीयता आए पनि त्यसको अनुभूति जनताले गर्न नसकेको बताउनुभयो । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा (नेकपा माओवादी केन्द्र) का प्रदेशसभा सदस्य मालाकुमारी कर्ण, लोसपाका प्रदेशसभा सदस्य उपेन्द्र महतोसहितले शुभकामना मन्तव्य राख्नुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै