छ महिनामा वैदेशिक रोजगारीमा विदेशिएका ६ सय ५६ नेपालीको मृत्यु – Nepalboli

छ महिनामा वैदेशिक रोजगारीमा विदेशिएका ६ सय ५६ नेपालीको मृत्यु

   २०८० माघ १९, शुक्रबार  

चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा गएका ६५६ नेपालीले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् ।

बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका छन् । तथ्याङ्क अनुसार औसतमा दैनिक पाँच वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।

बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको २०८०/८१ को पुस महिनासम्म १३ हजार ७७ जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गुमाएका छन् ।

चालु आवको छ महिनामा तीन लाख ५० हजार वैदेशिक रोजगारीमा गएकामध्ये ६५६ नेपाली श्रमिकले ज्यान गुमाएका छन् । सो अवधिमा करिब सात खर्ब विप्रेषण भित्रिएको हिसाबमा देखिन्छ । बोर्डका अनुसार कोभिड–१९ सङ्क्रमणका कारण श्रम गन्तव्यमा नै मृत्यु भएका र सोही देशमा नै अन्त्येष्टिका लागि सहमति प्रदान गर्ने परिवारका सदस्यलाई बोर्डको निर्णय अनुसार प्रतिपरिवार थप ५० हजार सान्त्वना राहत सहयोग गरेको थियो । यसरी राहत सहयोगका लागि बोर्डले थप ४६ लाख रुपियाँ प्रदान गरेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस अवधिमा ३०७ जना अङ्गभङ्ग तथा बिरामी भएर स्वदेश फर्किएका थिए । गत आवको साउनदेखि पुससम्म ११५ श्रमिक अङ्गभङ्ग तथा बिरामी भएर फर्किएका थिए ।

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मुत्युको कारण कार्यस्थलमा दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु र आत्महत्याको ठुलो सङ्ख्या छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै