खानेपानीको चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम
स्यापोरो वाटर वर्कस् ब्यूरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौँको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ ।
खानेपानी सेवा तथा व्यवस्थापन प्रणालीमा सुधारका लागि प्राविधिक सहयोग परियोजना अन्तर्गत भौतिक सुविधा विस्तारको साथै नेपाल खानेपानी संस्थान पोखरा शाखाको पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गर्नका लागि प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ नेपाल खानेपानी संस्थानअन्तर्गतका इन्जिनियर र अन्य प्राविधिक कर्मचारी गरी १५ जनालाई तालिम दिन लागिएको हो ।
तालिमका लागि जापानबाट ११ जना विशेषज्ञको टोली माघ १४ मा नेपाल आई नेपाल खानेपानी संस्थानको केन्द्रीय कार्यालय र खानेपानी मन्त्रालयका उच्च पदाधिकारीसँग छलफल गरी पोखरा आएको हो । पोखरामा हुने तालिमका क्रममा मर्दीखोला ड्याम, नवनिर्मित पानी थिग्र्याउने प्रणाली र पुरनचौरस्थित मुख्य पानी शुद्धीकरण प्लान्ट, हेमजालगायत पोखराको विभिन्न स्थानमा रहेका पानी वितरण प्रणालीहरूको अध्ययन र जाँच गरी देखिएका समस्या समाधान गर्न सहयोग गरिने जनाइएको छ ।
तालिमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले संयुक्त रुपमा उदघाटन गर्नुुभयो । कार्यक्रममा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगरपालिका क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउने विषय प्राथमिकतामा रहेको बताउनुभयो ।
नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले तालिमले पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गराउन महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नुुभयो । आजदेखि सुरु तालिम आगामी माघ २९ गतेसम्म सञ्चालन हुने छ ।