आज शहीद दिवस, काठमाडौ महानगरपालिकाद्धारा शहीद दिवसको अवसरमा कार्यक्रम
काठमाडौं महानगरपालिकाले आज शहीद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। शहीद सप्ताहको अन्तिम दिन महानगरपालिकाले प्रभातफेरी तथा स्मृति सभा कार्यक्रम आयोजना गर्यो।
शहीद दिवसको अवसरमा मंगलबार बिहान शान्ति बाटिकादेखि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। प्रभातफेरी लैनचौरमा रहेको शहीद स्मारकमा पुगेर सभामा परिणत भएको थियो।
सभामा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहेको बताउनुभएको छ ।
मङ्गलवार सहिद दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको दिन महान् सहिदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताउनुभयो ।
जहानियाँ राणाशासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति वि सं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतको स्मरण र सम्मानमा प्रत्येक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइदै आएका छन ।
