कर्मचारी कुट्ने प्रहरीलाई कारबाही नभए सेवा ठप्प पार्ने ट्रेड युनियनहरूको चेतावनी – Nepalboli

कर्मचारी कुट्ने प्रहरीलाई कारबाही नभए सेवा ठप्प पार्ने ट्रेड युनियनहरूको चेतावनी

   २०८० माघ १४, आईतवार  

विभिन्न पाँच वटा ट्रेड युनियनहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीमाथि भएको आक्रमणमा संलग्न प्रहरीलाई कारबाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । आइतबार नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्न माग गरेका हुन् ।

अन्यथा अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्ने र आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरूको चेतावनी छ ।

‘‘उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्नेलगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने ब्यहोरा यसै ज्ञापन पत्रमार्फत जानकारी गराउँदछौँ’, उनीहरूले भनेका छन् ।

अध्यागमन अधिकृत र प्रमुख अध्यागमन अधिकृतमाथि भएको कुटपिटको विषयलाई लिएर विमानस्थलमा तनाव उत्पन्न भएको छ । विरोधमा कर्मचारीहरूले शनिवारबाट कालोपट्टि बाँधेर काम गर्दै आएका छन् भने गृह मन्त्रालयले छानबिन समिति नै गठन गरेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै