पुर्वसभामुखको छोरा राहुल महरा लाई थुनामै राख्न उच्च अदालतको पनि ठहर
जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेपछि राहुल महरा कारागारमै रहने भएका छन्। भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लाथि थुनामा रहेका माओवादी केन्द्रका नेता तथा पुर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि कारागारमा थिए।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई पक्राउ गरेको थियो। महरालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो। जिल्लाका उक्त आदेशविरुद्ध उनी उच्च गएका थिए। उच्चले पनि जिल्लाकै आदेश सदर गरेको छ।
बिहीबार उच्च अदालतका न्यायाधीश अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गरेको हो। महराविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधमा अभियोग कसुर लगाइएको छ।