राष्ट्रियसभा निर्वाचनका लागी सातै प्रदेशमा मतदान सम्पन्न, नतिजा साँझ सम्ममा आउने
राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सम्पन्न भएको छ । ९९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । अहिले मतदान सकिएर मतपेटिका बन्द गरेर गणनास्थलतर्फ लगिन लागेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।
फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन् ।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदान स्थल र दुई–दुई मतदान केन्द्र कायम गरेर मतदानको व्यवस्था गरेको थियो । अब केहीबेरमा मतगणना थाल्ने र नतिजा साँझ सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।
त्यसैगरि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।
यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।