जनकपुर बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ६६ कार्यकर्ता पक्राउ – Nepalboli

जनकपुर बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ६६ कार्यकर्ता पक्राउ

   २०८० माघ ११, बिहीबार  

जनकपुरका बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ६६ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जनकपुरका विभिन्न चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। ३६ जना पुरूष र ३० जना महिलालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए। ‘सवारी आवागमनमा अवरोध गर्ने, बन्द गर्ने, गाडीमा ढुंगामुढा गरी अराजक गतिविधि गर्नेलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने।

पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आजपाले बिहीबार बन्द आह्वान गरेको थियो। लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने, बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्नेलगायत माग गर्दै आजपाले बन्द गरेको हो। बन्दको प्रभाव नपरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी श्याम महतोले बताए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै