छ वर्षदेखि पुल अलपत्र – Nepalboli

छ वर्षदेखि पुल अलपत्र

   २०८० माघ ११, बिहीबार  

सुर्खेतको गुर्भाकोट नगरपालिकाको गोचे खोलामा निर्माण गरिन लागेको पक्की पुल छ वर्षदेखि अलपत्र छ । विभिन्न कारण देखाउँदै ठेकेदारले पटक पटक म्याद थप गरेर निर्माण अधुरै राखेको छ । दुई वटा वडाका नागरिकलाई आउजाउ सहज बनाउन गोचे खोलामा ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको थियो । नगरपालिकाको वडा नं ४ र ५ को सिमाना गोचेखोलामा २०७४ साल भदौ २३ देखि निर्माण सुरु गरिएको थियो । २०७६ साल वैशाख ३१ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी एडभेन्च जेभी बाँकेसँग चार करोड ३० लाख ९७ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको हो ।

पुल निर्माणका लागि तीन पटक म्याद थप भएको छ । अन्तिम पटक २०८१ साल वैशाखसम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । ठेकेदारको लापरबाहीका कारण काममा ढिलाइ भइरहेको कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार गत असारदेखि पुल निर्माणको काम ठप्प छ । पटक पटक काममा फर्कन निर्माण कम्पनीलाई ताकिता गर्दासमेत ठेकेदारले अटेरी गरेको उहाँको भनाइ छ । अन्तिम पटक म्याद थपिएको अवधिमा निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनीसमेत कार्यालयले दिएको छ । पुल निर्माणको आधा काम सकिएको भन्दै पौडेलले सुपर स्ट्रक्चरको मात्र काम बाँकी रहेको बताउनुभयो ।

हालसम्म पुल निर्माणको ५२ प्रतिशत मात्र काम सम्पन्न भएको जनाइएको छ । ४८ प्रतिशत काम बाँकी छ । अहिले पुल निर्माणको काम ठप्प रहेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । छ वर्षसम्म पुलको पिल्लर र दुई वटा स्ल्याब मात्र हाल्ने काम भएको छ । सुपर स्ट्रक्चरको काम बाँकी नै रहेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै