स्वास्थ्य क्षेत्रमा ९२ हजार स्वास्थ्यकर्मीको आवश्यक- स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताउनुभयो ।
उहाँले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताउनु भयो । उहाँले अहिले गाउँहरु बसाईंसराईका कारण रित्तिसकेको बताउनु भयो ।
मन्त्री बस्नेतले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरु विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरुको उपचार खर्च सरकारले नव्यहोर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट छ । त्यसकारण नेपालमा पढ्न पाउनुपर्यो भनेर, धेरै देशले पैसा तिरेर पढ्न पाउनुपर्छ भनिरहेका छन् । माल्दिभ्सका स्वास्थ्यमन्त्रीजीले त जति पटक भेट्यो उतिपल्ट भन्नुभएको छ । त्यो विश्वास छ, नेपालको मेडिकल शिक्षाप्रति । इण्डियामा २० लाख मान्छेले पढ्न फारम एप्किेसन दिँदा रहेछन् । परीक्षा दिँदा रहेछन् । नौ लाख बराबर पास हुँदा रहेछन् । एक लाखले भर्ना हुन पाउँदा रहेछन् । आठ लाखमध्येमा २५ हजार मात्रै डाक्टर नेपालमा पढाउन पाउने हो भने नेपालले खर्बौं रुपियाँ कमाउँछ । भारतका मात्रै विद्यार्थी आउँदा ।’’
स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘आज हाम्रा विद्यार्थीहरु बेपत्ता छन् । नेपालको इतिहासमा नेपालको मेडिकल क्षेत्रको इतिहासमा यो ठूलो क्रान्तिकारी कदम हो । आज हामी एयरपोर्टमा जाऔँ, हजारौँको सङ्ख्यामा बाहिरएका छन् । गाउँ रित्तिसक्यो अब । बुढापाका, बच्चाबच्चीहरु मात्रै छन् । बच्चा पनि कहाँ युवायुवती गाउँमा बस्दैनन् । बसाईंसराईको समस्या ठूलो भइसक्यो अब । हामी नेताहरु ठूलाबडा भन्नेहरु सामान्य रोग लागे विदेश जाने, ठूलो रकम खर्च गराउने, गरिव र विपन्नहरुको लागि हामीले डाक्टर पठाउन सकेका छैनौँ ।’’