छानबिनमा रहेका जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा – Nepalboli

छानबिनमा रहेका जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा

   २०८० माघ ७, आईतवार  

छानबिनमा तानिएका जिल्ला न्यायाधीश डा परशुराम भट्टराईले राजीनामा बुझाएका छन्। न्यायाधीश भट्टराईले प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठलाई आफ्नो राजीनामा वुझाएका हुन्।प्रधानन्यायाधीशको सचिवालयका अनुसार भट्टराईले माघ ५ गते, शुक्रबार आफ्नो राजीनामा बुझाएका थिए।

लामो समयदेखि न्याय परिषद्‌मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले छानबिन नसकिँदै राजीनामा दिएका हुन्। आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश भट्टराईले शुक्रबार राजीनामा दिएका हुन्।

दिनदहाडै गोली प्रहार गरी व्यवसायीको हत्या गरेको आरोप लागेका अभियुक्तलाई सफाइ दिने फैसला गरेको भन्दै धनुषा जिल्ला अदालतमा कार्यरत रहेका न्यायाधीश पर्शुराम भट्टराई २०७९ असार २७ गते सर्वोच्च अदालत तानिएका थिए।

तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको न्याय परिषद्को बैठकले विवादित फैसलाका सन्दर्भमा छानबिन गर्न न्यायाधीश भट्टराईलाई सर्वोच्च तान्ने निर्णय गरेको थियो। उनीमाथि निहारिका राजपुतको मुद्दामा पनि कैफियत फैसला सुनाएको भन्दै परिषद्‌मा उजुरी परेको थियो। राजपुतले राष्ट्रपति कार्यालय शितल निवास अगाडि आत्मदाहको प्रयास नै गरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै