जिबी राई र उनीसँग सम्बन्धित करिब ५० करोडको सम्पत्ति रोक्का – Nepalboli

जिबी राई र उनीसँग सम्बन्धित करिब ५० करोडको सम्पत्ति रोक्का

   २०८० माघ ५, शुक्रबार  

विभिन्न सहकारी संस्था डुबाएर फरार भएका ग्यालेक्सी टिभीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईको ५० करोड भन्दा बढी मूल्यको सम्पत्ति रोक्का गरिएको छ । राईसँग सम्बन्धित ३२ वटा कम्पनीको सम्पत्ति रोक्का भएको हो । थप केही घर, जग्गा रोक्का गर्न प्रहरीले मालपोत कार्यालयमा पत्र पठाएको छ।

राई संस्थापक अध्यक्ष रहेको नारायणगढस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, एपिवान मिडिया, अरूणदेव कन्स्ट्रक्सन एण्ड सप्लायर्स, गोर्खा ग्रुप मल्टी इन्भेष्टमेन्ट, देव दीप एग्रिकल्चर एण्ड एनिमल हावेष्ट्री फार्म, इगल आइज प्रालि, दि सिचुयस्नल एजुकेसनल कन्सल्टेन्सी प्रालि, तारापुञ्ज इन्भेष्टमेन्ट, शाङ्की एजुकेसन फाउण्डेसन प्रालि, प्रोफेसनल एग्रिकल्चर फर्म, नेपाल श्री मल्टिमिडिया, गोर्खा इन्टरनेसनल प्रालिको नाममा रहेको सम्पत्ति रोक्का गरिएको छ ।

त्यस्तै, प्यागोडाज होम प्रालि, नेचर हर्ब्स बिजनेश स्कुल प्रालि, नेसनल एग्रिकल्चर एण्ड रिसर्च सेन्टर, मिल्की वे एजुकेसनल कन्सल्टेन्सी, मन्दरा टुर एण्ड एक्सिडिसन प्रालि, मन्दरा स्पा एण्ड वेलनेश सेन्टर प्रालि, हाउस अफ दि मिल्क वे, हिमालयन किङ्गडम एक्सपोर्ट प्रालि, हर्बो इन्टरनेसनल प्रालि, जिटिआर लिंक प्रालि, गोर्खा हर्बल प्रडक्सन, गोर्खा ग्रुप अफ इन्टरनेसनल, गोरखा ग्रुप अफ कम्पनी, गोर्खा आयुर्वेद कम्पनी, बोधान एजुकेसन फाउण्डेसन, भगवती बालुवाखानीमा रहेको सम्पत्ति पनि रोक्का भएको छ ।

सहकारी संस्थामा जम्मा भएको रकम राईले ग्यालेक्सी टेलिभिजनका साथै विभिन्न ठाउँमा लगानी गरेका थिए । उनले मलेसिया र सिंगापुरमा सञ्चालन गरेको व्यवसायमा पनि लगानी गरेको पाइएको छ ।

साहारा चितवन सहकारी संस्थामा ८५ करोड रूपैयाँ जम्मा भएकोमध्ये करिब ३० करोड रूपैयाँ मात्रै फिर्ता गरिएको छ ।

जिबी राई सञ्चालक रहेको स्प्रिङ उड रियल स्टेट एण्ड हाउजिङ प्रालिको नाममा रहेको मकवानपुरको ठिंगनस्थित ४० रोपनी, रूपन्देहीको आनन्दवनमा रहेको १८ कट्ठा मालपोत कार्यालयले रोक्का गरेका छन्।

सहकारी संस्था डुबेको केही समयपछि राईले कुमार रम्तेल लगायतका व्यक्ति सञ्चालक रहेको चेनी क्यापिटल नामको कम्पनीलाई पास गरेको ललितपुर भैंसेपाटी स्थित २४ रोपनी ३ आना जग्गा पनि रोक्का गरिएको छ । यस्तै राईसँग सम्बन्धित काठमाडौंमा रहेको ८ करोड रूपैयाँ मूल्य बराबरको घरसहितको जग्गा र भक्तपुरमा रहेको जमिन पनि रोक्काका लागि सम्बन्धित मालपोत कार्यालयमा पत्र पठाइएको छ। यी सबै सम्पत्तिको मूल्य ५० करोडभन्दा बढि हुने बताईएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै