युगान्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया, सम्मेलनमा आज सम्बोधन – Nepalboli

युगान्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया, सम्मेलनमा आज सम्बोधन

   २०८० माघ ५, शुक्रबार  

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगान्डामा रहेका नेपालीहरूसँग भेट गर्नुभएको छ।

भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगान्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “युगान्डामा मेरो पहिलो भ्रमण हो। तपाईँहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईँहरूले केही कुरा उठाउनुभयो। ती महत्त्वपूर्ण छन्। हिजो मात्रै मैले भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ।”

“विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन। विदेशमा रहेका नेपालीहरूका दुख कष्ट बुझ्ने अवसर पनि पाएँ” प्रधानमन्त्रीले भन्नुभयो, “अफ्रिकामा रहेका नेपालीहरू ।” कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले युगान्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपिल गर्नुभयो।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ युगान्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताउनुभयो। सो कार्यक्रममा गैर आवासीय सङ्घका युगान्डाका संरक्षक रमेश कँडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगान्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगान्डामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउनु भएको थियो।

सम्बोधन आज

प्रधानमन्त्री ‘प्रचण्ड’ लेअसंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । उहाँले विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ बनाउन आवश्यक पहलका विषयमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड नाम शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार युगान्डा प्रस्थान गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड युगान्डाका राष्ट्रपति योवेरी कागुता मुसेभेनीले आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनुहुने छ । साइड लाइन बैठकमा उहाँले शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका मित्रराष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालमा लगानी भिœयाउने र दोहोरो साझेदारी गर्नका लागि आवश्यक पहल गर्नुहुने जनाइएको छ ।

शिखर सम्मेलनले मन्त्रीस्तरीय बैठकको प्रतिवेदनमाथि छलफल गर्दै यसबिचमा भएका प्रगतिको समीक्षा गर्दै नयाँ साझेदारीको मार्गचित्र प्रस्तुत गर्ने छ । मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको कम्पाला घोषणापत्र पारित गर्दै बैठक सकिने छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक भएकाले पनि यसका निर्देशक सिद्धान्तप्रति सदैव प्रतिबद्ध रहेको छ ।

मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नामको मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसक्नुभयो । मन्त्री साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतका उच्चाधिकारी नेपाली प्रतिनिधिमण्डलमा रहनु भएको छ । यसैबिच मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउदले नामको मन्त्रीस्तरीय बैठकमा बुधबार सहभागिता जनाउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै