टेरामक्स र एमडिएमएस सम्बन्धी कागजात एक हप्तामा बुझाउन संसदीय समितिको निर्देशन – Nepalboli

टेरामक्स र एमडिएमएस सम्बन्धी कागजात एक हप्तामा बुझाउन संसदीय समितिको निर्देशन

   २०८० माघ ४, बिहीबार  

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स प्रविधि र एमडिएमएस सम्बन्धी कागजात एक हप्तामा बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यस्तो निर्देशन दिएको हो ।

समिति सभापति भानुभक्त जोशीले ६ वर्षअघि टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गर्दाको अवस्थादेखि अहिलेको परिस्थितिबारे स्पष्ट दृष्टिकोण पेश गर्न निर्देशन दिए । उनले टेरामक्स खरिद गर्ने विषयमा मन्त्रालय र प्राधिकरणले गरेका नीतिगत निर्णय सहितको कागजात समितिमा पेश गर्न पनि निर्देशन दिए ।

उनले नीतिगत निर्णयपछि ठेक्का प्रक्रियामा भएका सबै डकुमेन्टहरू, सञ्चार मन्त्रालयले यो विषय सम्बन्धी अध्ययन र छानबिन गरेका प्रतिवदेनहरु तथा मन्त्रालयको टेरामक्स प्रविधि र एमडिएमएस प्रणालीको विषयमा स्पष्ट धारणा के हो ? भन्नेबारे पनि स्पष्ट धारणा पेश गर्नुपर्ने बताए ।

‘टेरामक्स र एमडिएमसका बारेमा उहाँहरूले सुरुमा गरेको नीतिगत निर्णय,मन्त्रालय वा प्राधिकरणले गरेका सबै नीतिगत निर्णयहरू,नीतिगत निर्णयपछि ठेक्का प्रक्रियामा भएका सबै डकुमेन्टहरू,सञ्चार मन्त्रालयले यी विषय सम्बन्धी अध्ययन र छानबिन गरेका प्रतिवदेनहरु र मन्त्रालयको टेरामक्स प्रविधि र एमडिएमएस प्रणालीको विषयमा स्पष्ट धारणा के हो ? मन्त्रालय के भन्न चाहन्छ ? समितिले भन्दा मन्त्रालयले अध्ययन गरिसक्यो । मन्त्रालय टेरामक्स र एमडिएमएस प्रणालीका बारेमा के भन्न चाहन्छ ? त्यो विषयको स्पष्ट अवधारणा र अदालतका आदेशहरू समेत गरी सबै डकुमेन्टहरू एक हप्ताभित्र समितिमा आइपुग्ने गरी मन्त्रालयलाई निर्देशन दिन्छु ।’ उनले भने ।

समितिले मन्त्रालयकै सहसचिवको संयोजकत्वमा गठन भएको छानबिन समितिले तयार पारेको एमडीएमएस प्रतिवेदन पेश गर्न पनि निर्देशन दिने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै