Page 218 – Nepalboli

भारत सरकारको आर्थिक सहयोगमा बागलुङमा निर्माण गरिएको विद्यालय भवनमा हस्तान्तरण

‘भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बागलुङ स्थित श्री भीमगिठे माध्यमिक विद्यालयको विद्यालय भवन आज हस्तान्तरण गरिएको छ । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत निर्माण गरिएको विद्यालय भवन जिल्ला समन्वय समिति, बागलुङका प्रमुख श्री अमर बहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष श्रीमती गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

भारत सरकारको अनुदान सहयोगमा विद्यालय भवनको निर्माण गरिएको छ । यस परियोजनालाई भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएको थियो ।

जिल्ला समन्वय समिति, बागलुङका प्रमुख, बडिगाड गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गर्नुभएको थियो । नवनिर्मित संरचना बागलुङस्थित श्री भीमगिठे माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न उपयोगी हुनेछ । साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउँनेछ ।

प्राथमिक विद्यालयका रुपमा श्री भीमगिठे माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भई सन् १९६८ मा निम्न माध्यमिक विद्यालयका रुपमा स्तरोन्नत भएको हो । पछि सन् १९८८ मा यो विद्यालय माध्यमिक तहमा स्तरोन्नत भएको हो । विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

 

 

नेप्सेमा ६ अंकको वृद्धि

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ६.१६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ४६.८४ बिन्दुमा पुगेको हो । अघिल्ला चार कारोबार दिन सामान्य बढेको नेप्से मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

उक्त दिन कारोबारमा आएकामध्ये १२६ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १०७ वटाको घट्यो भने बाँकी १० वटा कम्पनीको स्थिर रह्यो ।

६६ हजार ६ सय २६ पटकको कारोबारमा १ करोड २० लाख ८१ हजार ६ सय ६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत सोमबार ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये बैकिङ, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक घटे । बाँकी सबै उपसमूहको परिसूचक बढेका छन् ।

‘पर्यटक बसपार्क’ निर्माण गर्न माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताउनुभएको छ । यहाँस्थित अस्थायी बसपार्कको निरीक्षण गर्दै उहाँले सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भन्नुभयो ।

“नेपाल पर्यटकीय दृष्टिकोणले धनी देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क आवश्यक छ, यसका निर्माणका लागि पहल गर्छु”, उहाँले भन्नुभयो । टुरिष्ट बस एसोसिएसन अफ नेपालले काठमाडौँको गौशालास्थित पशुपति क्षेत्र विकास कोषमा बसपार्क निर्माणका लागि गरेको पहलबारे आफू छलफल गरेर अगाडि बढ्ने मन्त्री पाण्डेको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको आवश्यक रहेको बताउनुभएको थियो । उहाँले पर्यटक बसपार्क निर्माणका लागि बोर्डले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेपाल एसोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले टिवान र नाट्टाले पशुपति क्षेत्र विकास कोषसँग बसपार्क निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको भन्दै उक्त कार्यमा सहयोग गर्न मन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय राजधानी पोखरा र चितवनको सौराहामा पर्यटकका लागि छुट्टै बसपार्क भए पनि सङ्घीय राजधानी काठमाडौँबाट भने सडकबाट पर्यटक बस गुडाउनुपर्ने बाध्यता रहेको भन्दै यसलाई अन्त्य गर्न पहल गरिदिन सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।

टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्य, सल्लाहकार केदार शर्मा, मदन आचार्यलगायतले मुुलुकको राजधानीमा काठमाडौँबाट बसपार्कको अभावका कारण बिहान ७ बजे चितवन, पोखरा, लुम्बिनीलगायत क्षेत्रमा पर्यटक बस गुडाउनुपर्ने अवस्था आएको भन्दै बसपार्क निर्माण भए जुनसुकै समयमा पर्यटक बस सञ्चालन गर्न सकिने बताउनुभएको थियो ।

हाल मुलुकको राजधानी काठमाडौँबाट पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरका लागि मात्रै दैनिक झण्डै एक सयवटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् ।

व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस ‘पार्किङ’ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ‘ग्यारेज’मा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् ।

 

जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी

नवलपुर । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझँै चराको प्रजाति र सङ्ख्या नभेटिएको बताउनुभयो । “अघिल्लो वर्ष जलपन्छी गणनामा ४७ प्रजातिका चरा भेटिएका थिए”, उहाँले भन्नुभयो, “यस वर्ष २८ प्रजातिको मात्र चरा भेटिए ।” साना चराको सङ्ख्यासमेत थोरै भेटिएको उहाँको भनाइ छ ।

विगतमा गणना गरिएको जुरे हुटिट््याउँ, चित्र दङ्गालगायत जलपन्छी यसपटक नभेटिएको उहाँले जानकारी दिनुभयो । “चखेवा र खोया हाँसको सङ्ख्या भने विगतमाझैँ भेटिएको छ”, उहाँले भन्नुभयो । नदीमा बढेको प्रदूषणका कारण यस क्षेत्रमा जलपन्छी न्यून आएको हुनसक्ने उहाँले बताउनुभयो ।

गणनाको केही दिन अगाडि निकुञ्ज क्षेत्रमा पहिलोपटक ‘कालो टाउके लेक चरी’ भेटिएको थियो । “यसअघि यो चरा हामीले निकुञ्ज क्षेत्रमा कहिल्यै भेटेका थिएनौँ”, लिम्बूले भन्नुभयो, “दुई हप्ता अगाडि भेटिएको यो चरा चितवनका लागि नयाँ प्रजाति हो ।” हाल उत्तरी ध्रुव, रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो क्षेत्रबाट जाडो छल्न र खानेकुराको खोजीमा विभिन्न ताल, तलैया, नदी र जङ्गलमा चरा आउने उहाँले बताउनुभयो ।

निकुञ्जको पश्चिमी क्षेत्र र नवलपुरका तालतलैयामा भने पुस २७ गतेमात्र जलपन्छी गणना गर्ने तयारी गरिएको संयोजक डिबी चौधरीले बताउनुभयो । विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा देशभरका ताल, तलैया, नदी र सिमसारमा पाइने जलपन्छीको सङ्ख्या, प्रजाति र बासस्थानको अवस्थाबारे जानकारी लिन यस वर्षको गणना यही पुस २० गतेबाट माघ ६ गतेसम्म सञ्चालन हुने चौधरीले बताउनुभयो । “चरा गणना स्वयंसेवी रूपमा गरिने भएकाले सबैलाई पायक पर्ने समय मिलाएर आगामी शनिबार र आइतबार गणना गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “जलपन्छी गणनामा सहभागी हुने गणक होटल व्यवसायी, नेचरगाइड हुने भएकाले अन्य ठाउँमा भन्दा केही दिन पछाडि गणना गर्न लागिएको हो ।”

यस क्षेत्रमा पाँच समूह बनाएर दुई दिनसम्म चरा गणना गर्ने योजना बनाइएको छ । जलपन्छी गणनाका क्रममा पानीमा आश्रित तथा पानी वरिपर बस्ने परम्परागत र बसाइँसराइ गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ । चराको प्रारम्भिक तथ्याङ्क गणना सकिएलगत्तै गरिने भए प्नि विस्तृत प्रतिवेदन आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने संयोजक चौधरीले बताउनुभयो ।

 

 

तिब्बत भूकम्पले ५३ भन्दा वढीको मृत्यु

आज बिहान ६ः५० बजे चीनको तिब्बत क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ। चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार यो समाचार तयार पार्ने अवस्थासम्म मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको र थप विवरण आउने क्रममा रहेको जनाएको छ । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा दर्जनौंको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणले ७.१ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । बिहान १० बजेसम्म, बहु परकम्पहरू रेकर्ड गरिएको थियो, सबैभन्दा ठूलो ४.४ म्याग्निच्युड थियो, सिन्ह्वाका रिपोर्टरले थपे।

डिंगरी काउन्टी र यसको वरपरका क्षेत्रहरूले धेरै शक्तिशाली भूकम्पको अनुभव गरे, र केन्द्रविन्दु नजिकका धेरै भवनहरू ध्वस्त भएका छन, राज्य प्रसारक सीसीटीभीले भने। चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ। तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो।

रोयटर्स समाचार एजेन्सीले देखेको भिडियो फुटेजले सिगात्से र ल्हात्सेका ठूला सहरहरूमा क्षतिग्रस्त भवनहरू र भत्किएका पसलहरू देखाएको छ, भग्नावशेष सडकहरूमा फैलिएको छ।

आज पशुपतिनाथलाई तातोपानीले नुहाइँदै

सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि मङ्गलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाला चतुर्दशीदेखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

परम्पराअनुसार मङ्गलबार रातिदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उनले बताए । उनका अनुसार उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने गरेको धार्मिक विश्वाससमेत रहेको छ ।

यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्किने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

राज्य व्यवस्था समितिमा ९२ उजुरी

प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी पुगेका छन् । त्यसमध्ये ५८ वटा दर्ता भएका र बाँकी ३४ वटा अध्ययनका क्रममा रहेको समितिले जनाएको छ । विभिन्न उजुरीमाथि छलफल गर्न सोमबार बसेको समितिको बैठकमा उजुरीबारे जानकारी दिइएको हो ।

समिति बैठकमा एमाले सांसद रघुजी पन्तले नियमावली भित्र रहेर आएका उजुरीलाई लिन उचित नहोला कि भनेर प्रश्न गरे । उनले भने, ‘सुशासनसँग सम्बन्धित छ भने पनि सम्बन्धित समितिलाई हेर्न दिदा उपयुक्त होला । कार्यक्षेत्र कति हो कतिसम्मको उजुरी लिएर एड्रेस गर्न सक्छौं त्यसबारे मनन गर्नुपर्छ ।’

राप्रपा सांसद बुद्धिमान तामाङले सरकारले गरेको काम कामकारबाहीमा सुझाव दिनपर्ने तर समितिले निर्देशन दिन नसक्ने बताए । त्यस्तै लोसपा सांसद सर्वेन्द्रनाथ शुक्लले उजुरी हेर्ने जिम्मा उपसमितिलाई दिनुपर्ने भन्दै टुंगोमा पुग्न सकिँदैन भने त्यस्ता उजुरीमा जोड गर्न नहुने बताए ।

जसपा सांसद अशोक राईले समितिले उजुरी हेरेर पार लगाउन अवस्था नहुने धारणा राखे । ‘समितिको कार्यकारी अधिकार हुदैन । यस्तो रहेछ भनेर सरकारको ध्यानाकर्षण गराउने हो र निर्देशन दिने भन्ने सम्मको काम हुन्छ’, राईले भने, ‘संसदबाटै सरकार जन्मिन्छ त्यसैले सरकारले पनि सुन्नपर्छ । समय फाल्ने र हात लाग्यो शून्य हुने काममा ध्यान दिन उचित नहोला ।’

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले विषयगत समितिको निर्णय गर्ने र टुंगोमा पु¥याउने काम नभएपनि समितिमा उजुरी आउने गरेको बताए । ‘कानुन सम्मत गर्न भनेर सम्बन्धित निकायलाई लेखेका छौ । अब कारबाही गरि जानकारी दिन पनि भन्नुपर्नेछ । सम्बन्धित मन्त्रालय वा निकायले सुनुवाई नगरेर हामीकहाँ आएको हो’, बडुले भने, ‘हाम्रो ध्यानाकर्षणले दबाएर रहेका विषयको ध्यानाकर्षण र सुनुवाइ हुन्छ ।’

बडुले उजुरीहरु उपसमितिमार्फत अध्ययन गर्न सकिने बताए । रास्वपा सांसद चन्दा कार्कीले उजुरी पल्टाएर हेर्ने समितिको काम नभएको भन्दै गाह्रो नै भएर उजुरीहरु पर्ने गरेको पनि हुनसक्ने बताइन् । उनले पनि स्थायी रूपमा समाधान गर्न उपसमिति बनाउन उचित हुने धारणा राखिन् ।

त्यस्तै सांसद इश्वरी न्यौपानेले उजुरी विश्वास भएर आएको बताए । उजुरीमा तुरुन्त ध्यानाकर्षण गराउने खालका विषय रहेको बताउँदै सचिवालयले ती उजुरी हेर्नुपर्नेमा जोड दिए । त्यस्तै सांसद कृष्णगोपाल श्रेष्ठले उजुरीलाई सकारात्मक रूपमा लिँदा राम्रो हुने बताए ।

 

पठन संस्कृतिले बौद्धिक चेत बढाउँछ- सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना, बौद्धिकता, सूचना र ज्ञानको विकास गर्ने बताउनुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र ‘चाइना इन्टरनेसनल बुक ट्रेडिङ’द्वारा भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी समापन समारोहमा सभामुख घिमिरेले सो कुरा बताउनुभएको हो ।

पठन संस्कृतिले ज्ञान आर्जन गर्ने भएकाले पुस्तक प्रदर्शनीमा सहयोग गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाज पछिल्लो समय पुस्तक पढ्ने संस्कृतिबाट टाढा हुँदै गएको छ, पठन संस्कृति ज्ञान आर्जन गर्ने स्वभाव, व्यवहार, प्रयत्न, संस्कार र संस्कृति हो ।”

पठन संस्कृतिबाट प्राप्त ज्ञानले समाज तथा देश बनाउने र मानव जातिलाई अग्रगतिमा लैजान योगदान गर्ने उल्लेख गर्दै सभामुख घिमिरेले नेपाली समाज, संस्कृति र सभ्यता पठनपाठन तथा संस्कृतिबाट अघि बढ्दै आएको सुनाउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “राज्यको भूमिका नियन्त्रित छैन, निजी क्षेत्र भूमिअनुसार लगानी गर्दै आफैँ प्रतिस्पर्धामा आउन सक्छ, ज्ञान आर्जन गर्ने मेलामा सुविधा र सहुलियत उपलब्ध गराए सरकार आफैँ बलियो र अर्थतन्त्र सुदृढ हुन्छ ।”

प्रदेशसभा सदस्य रघुनाथ महर्जनले पुस्तक प्रदर्शनीले व्यवसायी, लगानीकर्ता, प्रकाशक र पाठक वर्गका बिचको अन्तरक्रियाबाट भविष्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने मार्गनिर्देश गरेको बताउनुभयो । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले पुस्तक पढेको जस्तो स्वाद र आनन्द मोबाइलबाट नपाइने भएकाले किताब पढ्ने नेपाली संस्कार र संस्कृतिलाई नभुल्न सुझाव दिनुभयो ।

अर्का हास्यकलाकार हरिवंश आचार्यले पुस्तक मिल्ने शिरानको साथी भएकाले पुस्तक पढ्दा घरपरिवारका कुनै सदस्यबाट विरोध र आलोचना बेहोर्नु नपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पुस्तक लेखन पनि इज्जतको पेसा हो, नेपालमा पछिल्लो समय पठन संस्कृतिमा शिथिलता आएको छ, हाम्रो पुस्तक पढ्ने पुरानो संस्कार र संस्कृतिलाई पुनर्जागरण गर्न आवश्यक छ ।”

आयोजक संस्था नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष शिवसागर शर्माले शिक्षा चेतनाको संवाहक भएकाले सूचना र ज्ञान प्राप्तिका लागि सहयोग पुगोस् भन्ने हेतुले प्रदर्शनी गर्दैआएको बताउनुभयो ।

महासङ्घका सल्लाहकार रामचन्द्र तिमोती र वरिष्ठ उपाध्यक्ष मात्रिका सिवाकोटीले विश्वका अरू देशमा सरकार आफैँले गर्दै आए पनि नेपालमा भने निजी क्षेत्रबाट भएको पुस्तक प्रदर्शनीमा समेत सरकारले आवश्यक सहयोग नगरेको दुखेसो पोख्नुभयो । उहाँहरुले पुस्तक प्रदर्शनी तथा मेलालाई आफूहरुले चाडपर्वका रुपमा लिने गरेको प्रतिक्रिया दिनुभयो ।

पुस १७ गतेदेखि आइतबारसम्म भएको पाँचदिने पुस्तक प्रदर्शनी तथा मेलाको करिब १० हजार जनाले अवलोकन गरेको आयोजकको भनाइ छ । मेलामा भारत, चीन, बङ्गलादेश, पाकिस्तान र थाइल्यान्डका लगानीकर्ता, प्रकाशक र व्यवसायीको समेत सहभागिता थियो । महासङ्घले यसअघि नौवटा राष्ट्रिय पुस्तक प्रदर्शनी गरिसकेको छ। गत वर्ष असोज ५ देखि ९ गतेसम्म दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी गरिएको थियो ।

 

 

 

 

 

निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो- राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पुर्‍याएको योगदान सराहनीय रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्र, निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधारस्तम्भ भएकाले हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । त्यही भएर लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु ।”

राष्ट्रपतिले सूचनाप्रविधिको क्षेत्रमा भएको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउनुभयो ।

उहाँले सूचना प्राप्ति र सम्प्रेषणमा सहज भएसँगै चाँडो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुनसक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्नसक्ने जोखिमतर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी भएको बताउनुभयो ।

राष्ट्रपतिले उपलब्ध नवीन सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अङ्गका रूपमा रहेका सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठताजस्ता व्यावसायिक धर्मको अधीनमा रही सत्यको अन्वेषण र त्यसको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीलाई चिर्दै सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घकी अध्यक्ष निर्मला शर्माको टोली राष्ट्रपति निवास पुगेको हो । राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि महासङ्घले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

 

वार्ता तथा संवादका लागी तमलोपाद्धारा डा विजय सिंहको नेतृत्वमा कार्यदल गठन

मधेस केन्द्रित दलहरूसँग सहकार्य र एकताका लागि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले कार्यदल गठन गरेको छ । तमलोपाका वरिष्ठ नेता एवं संविधानसभा सदस्य डा विजय कुमार सिंहको संयोजकत्वमा गठन भएको कार्यदलमा रविशंकरलाल कर्ण (सुभाष) र बिभा ठाकुर सदस्य रहेका छन् ।

कार्यदल २०७९ साउनमा नै गठन गरिएको थियो । तर सोमबार मात्रै उक्त कार्यदल सार्वजनिक गरिएको हो । अन्तर पार्टी संवाद र विचार मिल्ने पार्टीहरूसँग सहकार्यको वातावरण बनाउन गठित कार्यदल नै मधेस केन्द्रित दलहरूबिच हुने संवादमा सहभागी हुने तमलोपाको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले बताए ।

तमलोपा, जनता प्रगतिशील पार्टी र जनमत पार्टीको बिचमा सहकार्य गर्ने सहमति पहिले नै भइसकेको बताउँदै उनले संविधान संशोधनको विषयमा केन्द्रित रहेर तमलोपा, मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल सद्भावना पार्टी, जन अधिकार पार्टी तथा एकीकृत समाजवादी पार्टीका स्थानीय नेताहरू सम्मिलित संयुक्त मधेस संघर्ष समिति समेत यसअघि नै भइसकेको बताए ।