Page 212 – Nepalboli

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा आज उपस्थित भएका छन । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका छन्। यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। जिल्ला अदालत कास्कीका न्यायाधीश राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए ।

उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने कागज गराई उनलाई परिवारको जिम्मा लगाइएको थियो । लामिछानेको बयान आज काठमाडौमा अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ ।

लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत हाजिर भएका हुन् ।

स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिलले रविलाई सो रकम बिगो मागदाबी राखेका छन् ।

कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहित, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताउँछन् । नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उनले यो गौरवलाई जोगाइ राख्नुपर्ने बताए ।

कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ ।

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ । धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यसकार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीले पनि विश्वास गरेका छन् ।

 

 

 

भरियाले धानेकोे खुम्बु क्षेत्रको ढुवानी

सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।

यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्दछ । तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ । उमेरले २६ वर्षमात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो । निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि सङ्र्घषसँग साक्षत्कार गरे। सानै उमेरमा आमा गुमाएका उनको घरमा अहिले बुबा, श्रीमती र दुई साना छोरा छन् । बालबच्चाको शिक्षादीक्षा र सिङ्गो परिवारको पालनपोषण गर्ने जिम्मेवारी कुलुङकै काँधमा छ । परिवारको गुजारा चलाउन र बालबच्चाको शिक्षादीक्षाको खर्च जुटाउन दैनिकजसो भारी बोक्नु उनको बाध्यता हो ।

“हाम्रो जिन्दगी यसरी नै चल्छ । यो काम नगरी बाँच्न सकिँदैन”, निधारको पसिना पुच्दै उनी भन्छन् । दैनिक जीवनको लागि काठ, खाद्यान्न, जस्तापाता र अन्य सामग्रीका भारी बोकेर उकाली चढ्दा कुलुङ दिनभरि पसिना बगाउछन् । भारी बोक्ने एक दिनमा उनले रु दुई हजार पाँच सयदेखि तीन हजारसम्म कमाउछन्, तर यो कमाइले परिवारको आवश्यकता पूरा गर्न हम्मेहम्मे पर्छ ।

बढ्दो महँगी र घट्दो आर्थिक उपार्जनले कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ । तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका बेरोजगार युवामा छ ।

उकालोमा पसिनाको कथा
सुर्केबाट लुक्लासम्मको यात्रामा उकाला मात्र छैनन्, खुड्किला–खुड्किला परेको अप्ठ्यारो बाटो पनि छ । यो बाटोमा भारी बोक्दै उकाली चढ्नु चानचुने कुरा होइन । भारी बोक्दा थाकेर कुलुङ केही समय विश्राम गर्छन् । त्यहीबेला लामो श्वास फेर्दै उहाँ भन्छन्, “यो जिन्दगी सजिलो छैन ।”

कुलुङका अनुसार खुम्बु क्षेत्रमा काम गर्ने भरियाको कामले मात्र स्थानीय ढुवानी प्रणाली धानेको छ । सडक अभावमा सामान ओसार्न भरियाकै भर पर्नुपर्छ । आकाश कुलुङ एक प्रतिनिधि पात्रमात्र हुन् । खुम्बु क्षेत्रका सयौँ भरियाको जीवन यस्तै छ । महाकुलुङ, सोताङ र आसपासका विकट गाउँका युवा रोजगार खोज्दै खुम्बु पुग्छन् । भारी बोक्ने कामले उनीहरूको परिवारको जीविका धानेको छ । तर यो कामले न उनीहरूको जीवन सजिलो बनाएको छ, न भविष्यको ग्यारेन्टी नै गरेको छ । सुर्केसम्म सडक विस्तार भइसकेको छ, तर त्यसभन्दा माथि सडक पुगेको छैन । यसले गर्दा लुक्ला र आसपासका क्षेत्रमा भरियाको माग छ ।

सामान ओसार–पसारको एकमात्र विकल्प मानव श्रम नै हो । खुम्बु क्षेत्रका पर्यटक गन्तव्य विश्वमै प्रसिद्ध छ, तर त्यहाँका भरियाको जीवन भने उस्तै कष्टकर छ । खुम्बुमा महँगी भएका कारण दिनभर कमाएको आम्दानी खानामै बढी खर्च हुने गरेको भरिया नवराज विकले बताए।

“यहाँ महँगो छ, दिनभर पसिनाको धारा छुटाएर भारी बोक्छौँ तर त्यो पैसा खाना बस्नमा धेरै खर्च हुन्छ, यहाँ यसो हिसाब गर्दा चाहिँ धेरै कमाइ भयोजस्तो लाग्छ तर घर फर्किँदा कहिले त रित्तो हातजस्तै हुन्छ, गाह्रो छ भरियाको जिन्दगी”, विकले भने । उनीहरूका लागि भारी बोक्नुबाहेक अरू विकल्प छैन । उनीहरूको पसिनाले खुम्बुको अर्थतन्त्र धानेको छ, तर भारियाको जीवनमा स्थायित्व र सुविधा भने आउन सकेको छैन ।

“मलाई अर्को सजिलो काम भेटिए हुन्थ्योजस्तो लाग्छ”, भरिया विक भन्छन् । यति मेहनत गरे पनि यहाँ भरियालाई गर्ने व्यवहार भने फरक रहेको उनीहरूको गुनासो छ । भारी बोक्ने भन्नेबित्तिकै नराम्रो नजरले हेर्ने र कतिले त अपमान नै गर्ने गरेको भारियाहरूको गुनासो छ ।

खुम्बुको उकालो र भारी बोक्ने कथाले नेपालका विकट क्षेत्रका युवाहरूको जीवनको यथार्थलाई चित्रण गर्दछ । विकट भूगोल र विकासको असमानताले उनीहरूको सङ्घर्षलाई थप चुनौतीपूर्ण बनाएको छ । स्थानीय पूर्वाधारको सुधार र रोजगारीका विकल्प खोज्नु यस्ता समस्याको दीर्घकालीन समाधान हुनसक्छ ।

आकाश कुलुङ र नवराज विकजस्ता युवाहरूले ढुवानीमा गरेको परिश्रमलाई सम्मान गर्दै सरकारले उनीहरूको जीवनस्तर सुधार गर्ने योजना अघि सार्न आवश्यक छ । खुम्बुका पर्यटकका लागि यो उकाली दृश्यावलोकनको रमाइलो पाटो हो । तर भारियाका लागि यो उकाली जीवन धान्ने सङ्घर्ष हो ।

७ करोडको काठ वन कार्यालयमै कुहिँदै

धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ । लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिए । दुई दशकदेखिको काठ यहाँ रहेको छ । विशेषगरी मुद्दाको काठ वर्षौँदेखि थन्किएको छ ।

‘ठेक्का नलाग्दा रु सात करोड बराबरको काठ त्यत्तिकै थन्किएर वन कार्यालयमै कुहिन थालेको छ’, प्रमुख साहले भने । अहिले ‘ए ग्रेड’ को प्रतिक्युफिट काठ रु एक हजार दुई सय, ‘बी ग्रेड’को रु नौ सय र ‘सी ग्रेड’को रु छ सय ५० मा बिक्री हुँदैआएको छ ।

नेपाल वन पैदावर उद्योग व्यवसायी सङ्घका अध्यक्ष डिकबहादुर भुजेलले झन्झटिला नीति–नियमका कारण काठ त्यसै खेर गइरहेको बताए । नेपाली काठ उत्पादन प्रशस्त भए पनि सरकारको नीति र कर्मचारीले नै विभिन्न झमेला गरिदिँदा काठ त्यत्तिकै खेर जाने गरेको उनको भनाइ छ ।

जिल्ला वन कार्यालयका अनुसार यहाँ आर्थिक वर्ष २०८०-८१ मा ६४ हजार पाँच सय क्युफिट काठ थन्किएको छ । चालु आव २०८१-८२ को हालसम्ममा २५ हजार चार सय क्युफिट काठ नयाँ थपिएको छ । एक महिनाअघि वन कार्यालयले १६ हजार नौ सय क्युफिट काठ बोलपत्र प्रक्रियाबाट बिक्री गरेको छ भने हाल वन कार्यायलमा ७२ हजार नौ सय क्युफिट काठ घाटगद्दी गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला वन कार्यालयका डिभिजन वन अधिकृत खुद्रिस मियाँले अदालती प्रक्रिया र केही झन्झटिलो कानुनी प्रक्रियाका कारण चाहेको समयमा काठ लिलामी गर्न नसकिएको बताए । उनले भने, ‘पाँच पटकसम्म ठेक्का रद्द भएको छ । दुई–तीन पटक ठेक्का लागेर पनि ठेकेदारले धरौटी नै छाडेर पनि काठ उठाएनन् ।’

वर्षेनी चाहिनेभन्दा तीन गुणा बढी काठ उत्पादन गर्न सकिन्छ । तर सरकारी नियम र कर्मचारीको बदमासीका कारण स्वदेशमै आवश्यक काठ आपूर्ति हुन नसकेको काठ व्यापारीको भनाइ छ ।

 

 

 

बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै

बागलुङ । दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युत्गृह निर्माण गरिने भएको छ ।

विसं २०७९ देखि सुरु भएको हाइड्रोपावरको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको ह्वाइट गोल्ड इनर्जीका अध्यक्ष हेमबहादुर खत्रीले जानकारी दिए । अहिले ताराखोला गाउँपालिका–१ गाईघाट क्षेत्रमा विद्युत्गृह निर्माण सुरु भएको छ । इनर्जीको ६० र फरेन इन्भेष्टमेन्टको ४० प्रतिशत लगानीमा हाइड्रोपावर निर्माण थालिएको अध्यक्ष खत्री बताउछन् ।

हाइड्रोपावर निर्माण सम्पन्न भएपछि केन्द्रीय प्रसारण लाइनको हरिचौर सबस्टेशनमा जोड्ने योजना रहेको उनले बताए । आगामी दुई वर्षमा योजना सम्पन्न गर्ने काम तीव्रगतिमा भइरहेको खत्री बताउछन् । आयोजना रु ७५ करोड लागतमा सम्पन्न हुने उनले बताए । स्वदेशमा लगानी गरी देशको अर्थतन्त्र सुधार गर्न आफूहरूले हाइड्रोपावर निर्माण थालेको खत्रीले बताए ।

“देशमा केही गर्नुपर्छ र युवालाई रोजगारी दिनुपर्छ भन्ने हिसाबले हामीले यहाँ ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालेका हौँ, यसबाट धेरैले रोजगारी पनि पाउन थालेका छन्”, अध्यक्ष खत्रीले भने, “दुई वर्ष अगाडि सुरु गरेको आयोजना बीचमा कामले गति लिन सकेको थिएन, अब धमाधम हुनेछ, यहाँबाट विद्युत् उत्पादन हुन थाल्यो भने बागलुङका दूरदराजसम्म पुग्ने अपेक्षा छ ।”

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सकियो, एकअर्कालाई सहयोग गर्ने सहमति

काठमाडौंको चन्द्रागिरिमा आयोजित नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठकमा लगानी र व्यापारमा दुवै देशले एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ ।बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरुले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए । सो बैठक नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठककै अंगकै रुपमा आयोजना गरिएको थियो । बैठकमा व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायतका विषयहरुमा छलफल भएको थियो ।

साथै सीमापार व्यापार तथा लगानी सहज बनाउँदै कृषि उत्पादनको कोटा हटाउने, उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायीकरणका लागि सहकार्य गर्ने र डिजिटल प्रविधि एवम् स्टार्टअपमा सहयोगका लागि सहजीकरण गर्ने सहमति भएको बैठकमा सहभागीहरुले बताए ।

मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताए ।

सो अवसरमा उनले गैर भन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स ९बीआईएस० को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानका लागि सहजीकरण आवश्यक रहेको बताए । साथै नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ती तथा भैरहवा र पोखरा विमानस्थलसँग भारतका शहर जोड्नुपर्ने आवश्यकतामा जोड दिए ।

यस्तै उनले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायतका भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरु उठान गरेका थिए ।

बैठकमा भएका सहमतीका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्द बहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले हस्तान्तरण गरेका थिए ।

मञ्चको बैठकपछि आयोजित (जेबीएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबीएफको मिटिङमा भएका सहमतीलाई दुवै पक्षले कार्यान्वयनमा लैजानु पर्ने बताए । उनँले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्याको समाधान सहज ढंगले हुने गरी काम गर्नुपर्ने धारणा समेत राखे ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत विषयहरुको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए । भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबीएफमा उठेका एजेण्डा कार्यान्वयनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता जनाए । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहमति कार्यान्वयनका लागि दुवै पक्षले पहल गर्नुपर्ने धारणा राखे ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्दाहरुमा यो बैठक महत्वपूर्ण रहेको बताउँदै यहाँ उठेका विषयहरुमा सहजीकरणको लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धछा जनाए । सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल भारत बीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताइन् ।

यस्तै भारतीय पक्षबाट एन।सुनिल कुमारले नेपाल–भारत बीच सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकाले आउने दिनमा थप सहजता थपिने बताए । मञ्चको अर्को बैठक भारतको नयाँदिल्लीमा आयोजना गर्ने सहमति भएको छ ।

वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्मै चल्छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्नुहुँदै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) ले विगतमा नौ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्नसक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले विगतमा कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको बताउनुभयो । उहाँले यस पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै तीन वर्ष भनेको सानो समय नभएकाले नेपाली नागरिकले बेनिफिट पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

‘‘नेपाली कांग्रेस र नेकपा ९एमाल०ले विगतमा नौ महिना, एक वर्ष, तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ । त्यो विगतमा कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ । यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘तीन वर्ष भनेको सानो समय होइन । तीन वर्ष ठूला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले बेनिफिट पाउनुपर्छ ।’’

उहाँले विगतमा २०४८ सालमा संविधान, २०७० मा संविधान पाएको उदाहरण दिँदै अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्ने बताउनुभयो । उहाँले सुधार भए मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहने बताउनुभयो । उहाँले केही जनता र उद्योगी व्यवसायीहरुका लागि भनेर वर्तमान सत्ता समीकरणले दिनरात नभनि अर्थतन्त्र सुधारका लागि काम गरिरहेको जानकारी दिनुभयो । उहाँले सरकारले निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गर्ने प्रयास गरिरहेको भनाइ राख्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘‘अहिले सबैभन्दा बढी बिग्रेको अर्थतन्त्र हो । अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्छ । अनि मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहन्छ । नत्र सरकार पहिला पनि थिए चलेकै थियो । वर्तमान सत्ता समिकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेका छौं । निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गरौं भन्ने हो । धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ ।’’

उहाँले नेपाल उत्पादन जुत्ता ५० लाख जोर जुनसुकै अवस्थामा पनि निर्यात हुनसक्ने अवस्था रहेको भन्दै नेपाली उत्पादनले नेपालभित्र बजार पाउने सम्भावना ठुलो रहेको बताउनुभयो । उहाँले सम्भावनाको ठुलो क्षेत्र भएकाले सरकारले यो क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नु जरुरी रहेको जिकिर गर्नुभयो ।

 

 

 

‘स्वास्थ्यमा जनतालाई अनुभूति हुनेगरी परिवर्तन गछौं’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललेले सरकारले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँले शनिबार दमौलीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको उपचारका लागि सहुलियत र सहज बनाएर अनुभूति दिलाएको बताउनुभयो । स्वास्थ्य बीमाको पहुँच र रकमको वृद्धि गरेर उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कामलाई सरकारले पहिलो प्राथमिकता दिएको उहाँको भनाइ छ । बिरामीको जीवनरक्षामा मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनमा कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलले बताउनुभयो ।

स्वास्थ्य बीमालाई पाँच लाख बनाउन स्रोत व्यवस्थापनमा सरकार लागेको जानकारी दिँदै मन्त्री पौडेलले भन्नुभयो, ‘‘स्वास्थ्य बीमालाई पाँच लाख बनाउँछौं, मात्र भनेका होइनौं, कसरी स्रोत जम्मा गर्छौं भन्ने कुराको गृहकार्य गरेका छौं ।’’ नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकम बीमा कोषमा ल्याइने उहाँले बताउनुभयो ।

जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने भएकाले पाँच लाख पुगाउने उहाँको भनाइ छ । स्वास्थ्य बीमाको स्रोत व्यवस्थापनमा नागरिकको योगदानलाई सुनिश्चित हुनेगरी कार्यक्रम ल्याइने पौडेलले बताउनुभयो । नेपाली नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

नेपाली नागरिकले तिर्ने करको शुन्य दशमलव ५ प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । स्रोत व्यवस्थापन गर्ने क्षेत्रको उदाहरण दिँदै भने ‘राज्यले जुनजुन क्षेत्रमा कर र भ्याट लिन्छ यी सबै शुल्कको शुन्य दशमलव ५ प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गरिनु पर्ने बताउनुभयो ।

सबै नागरीको उपचारमा पहुँच बनाउन प्रभावकारी निर्णय भएको पौडेलले बताउनुभयो । पूर्वाधार, उपकरण र जनशक्ति तीन चिज नै आवश्यक परेकाले त्यसको पूर्ति गर्न सरकार लागेको उहाँले जानकारी दिनुभयो । मन्त्री पौडेलले भन्नुभयो, “बीमाको प्रतिबेदन आइसकेको छ, कार्यान्वयन लैजानका लागि तयारी गरिरहेका छौं ।’

प्रधानमन्त्रीले प्रतिवेदन राम्रो बनेको भन्ने पतिक्रिया दिएको उल्लेख गर्दै पाँच लाखको बीमाको व्यवस्था हुने पौडेलले दाबी गर्नुभयो । छिरलिएको स्वास्थ्यको पैसा बीमा कोषमा लैजाने उहाँले बताउनुभयो । १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क हुने उपचार कार्यान्वयमा आइसकेको उदाहरण दिँदै सरकार स्वास्थ्यप्रति गम्भीर रहेको बताउनुभयो ।

क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भइसकेको, मतिष्कघात हुनेलाई निःशुल्क औषधीको व्यवस्थापन गर्न लागिएको पौडेलको भनाइ थियो । पौडेलले भन्नुभयो, “सरकार बोल्ने मात्र हैन, बोलेको कुरा पूरा गर्न प्रतिबद्ध छ । सरकार गठबन्धनको भावानाअनुसार चलेको छ ।”

 

 

 

कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ- माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय तथा जनजीविकाका विषयलाई उचित ढङ्गले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् । शनिवार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको भन्दै सबैलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविका लगायतका विषयलाई उचित ढङ्गले अघि बढाउन राज्यलाई दबाब दिने बताए ।

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको धारणा राखे ।

उनले बिचार मिलेसँगै अघि बढ्न सकिने र बिचार मिल्न बाकी रहे सहकार्य गर्न सकिने उल्लेख गरे । सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय ढङ्गले अघि बढ्न नसकेकाले पुन सक्रिय बनाउन खोजेको उनले बताए ।

अध्यक्ष नेपालले राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा निराश नभई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

 

 

 

संसद् अधिवेशन चाडै आह्वान हुने सभामुखको विश्वास

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयको संसद्को अधिवेशन चाडै आह्वान हुने विश्वास व्यक्त गरेका छन् । ३०३ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।

संघीय संसद्को अधिवेशन बस्ने समय भइसकेको भन्दै चाडै अधिवेशन आह्वान हुने उनको भनाई थियो । सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइ नसकेकाले जानकारी नभएको उनले बताए ।

त्यस्तै घिमिरेले पृथ्वी नारायण शाहले एकीकरण गरेकाले नेपाल अस्तित्वमा रहेको भन्दै नेपाललाई थप एकताबद्ध बनाएर प्रगतितर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो ।