Page 200 – Nepalboli

वर्तमान ओली सरकार लामो समय टिक्दैन- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समयसम्म नजाने पुन दोहोर्‍याएका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अवैध ढंगले सरकार जन्मिएकाले पनि यो सरकार धेरै लामो समयसम्म नजाने बताएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पछिल्ला दिन कांग्रेस–एमाले नेतृत्वको सरकार लामो समय नचल्ने बताउँदै आएका छन् । यद्यपि, माओवादीको ध्यान अहिले सरकारमा जाने नभएको उनको दावी भनाइ छ ।

‘यो सरकारको जन्म नै अवैध ढंगले भएको छ,’ उनले भने, ‘सरकार लोकतान्त्रिक मान्यताविपरीत छ । संविधान र जनताको भावनाविपरीत छ । त्यसैले सुरुदेखि नै मैले भन्दै आएको छु यो धेरै लामो जानेवाला छैन ।’

केही दिनअघि भरतपुर विमानस्थलमा कांग्रेस नेताहरूमा डा शशांक कोइराला र डा चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर पनि प्रचण्डले सरकार लामो समय नजाने बताएका थिए । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी एमालेभित्र पनि निकै ठूलो उकुसमुकुस देखिएको दावी गर्दै सरकार सामान्य ढंगले नभई जबरजस्ती चलाइएको जिकिर गरे ।

माओवादीको ध्यान अहिले सरकारतर्फ नभई जनतातर्फ केन्द्रित रहेको उनले दावी गरे । ‘सरकार ढाल्नका लागि सक्रिय भूमिकामा छैनौँ । विपक्षी भूमिका नै अहिलेलाई ठीक छ,’ अध्यक्ष प्रचण्डले भने ।

यो सरकार पनि चल्दैन र माओवादी केन्द्र पनि सरकारमा जाँदैन । त्यसपछि के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले त्यस्तो अवस्था आए सत्ता साझेदार बन्न सक्ने स्पष्ट पारे । ‘शशांकजी र चन्द्रजीसँग भनेको जस्तै हुन्छ, साझेदारी त हुन सक्छ,।’ प्रचण्डले भने ।

हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो ।

सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार महोत्सवमा सरोकार भएका निकायका प्रतिनिधिसँग हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा अध्ययन, अवलोकन गरी अनुसन्धानमार्फत समस्या समाधानका विषयमा छलफल हुनेछ ।

गाउँपालिकाको आयोजनामा पछिल्लो समयमा जलवायु परिवर्तका कारणले हिमाली क्षेत्रको प्रभावका विषयमा अध्ययन, अवलोकन गर्नुका साथै महोत्सवमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको उनले जानकारी दिए । कञ्चनजङ्घा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो ।

कञ्चनजङ्घा हिमाल हेर्न आउनेका लागि गाउँपालिकाले सङ्घीय र स्थानीय सरकारको साझेदारीमा साहसिक पदमार्ग निर्माणमार्फत यात्रा सहज र रमणीय बनाउने काम गरिरहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार आगामी वैशाखमा आयोजना हुने महोत्सवमा निर्माणाधीन साहसिक पदमार्गको प्रचारप्रसार गर्ने, पर्यटन प्रवर्द्धनका साथै स्थानीय कला, संस्कृति र परम्परालाई चिनाउने उद्देश्य राखिएको छ ।

महोत्सवमा चार हजार पाँच सय मिटर उचाइको सहसिक कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने प्रवक्ता गौतमले जानकारी दिए । गत मङ्सिर २३ गते बसेको कार्यपालिका बैठकमा महोत्सव आयोजना सचिवालय समितिले मिति र स्थान तय गरी पेस गरेको थियो ।

सोही बैठकले सर्वसहमतिका आधारमा आगामी वैशाख १३ गतेदेखि १५ गतेसम्म नयाँ झोडेनीमा महोत्सव गर्ने निर्णय गरेको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए । उनले भने, “वर्ष नयाँको अवसर पारेर झोडेनीमा आयोजना हुने महोत्सवमा म्याराथुन प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गर्ने योजना छ ।” म्याराथुन प्रतियोगिताका लागि नयाँ झोडेनी र मछेवा बीचको दूरी कायम गरिएको उपाध्यक्ष माबोले बताए ।

यो स्थान कञ्चनजङ्घा हिमशृङ्खलाको सबै भन्दा उत्तम भ्यू पोइन्ट रहेको सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले गत कात्तिकमा निर्माणाधीन याम्फुदिनको आम्जि खोलाबाट कञ्चनजङ्घा बेस क्याम्पसम्मको साहसिक पदमार्गको अनुगमन गर्नुका साथै महोत्सव आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । महोत्सव आयोजनाले कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन सहयोग पुर्‍याउने गाउँपालिकाले जनाएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । “यो यहाँको मुख्य विशेषता हो । चौरी तथा याकको अवलोकन, नेपालको राष्ट्रिय फूल लालीगुराँस र हिमालले छपक्क छोपेको पहाड, पहाडको सिरैमा सेताम्मे हिमाल, हिमाली धुपी र सल्लाले यहाँको सौन्दर्यलाई थप आकर्षक बनाएको छ । यी सौन्दर्यले पर्यटकको थकान मेटाउने छ र मनोरञ्जन प्रदान गर्दछन्”, उनले भने ।

महोत्सव आयोजनाले आन्तरिक पर्यटकलाई हिमालको महत्व बोध गराई हिमाल हेर्न जान उत्साहित बनाउने विश्वास लिइएको गाउँपालिकाका प्रवक्ता गौतमले बताए । यो स्थानमा महोत्सव आयोजना गर्दा खर्च कम लाग्नुका साथै नजिकबाट धेरै हिमालको अवलोकन गर्न सकिने हुँदा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

 

 

 

 

 

 

 

 

 

भारतको ठूलो सौर्य कम्पनी प्रोजिलले नेपालमा नवीकरणीय ऊर्जामा काम गर्ने

२ गिगावाटभन्दा बढी सौर्य क्षमता प्रदान गर्ने ट्र्याक रेकर्ड भएको भारतको सबैभन्दा ठूलो सौर्य इपिसी कम्पनी प्रोजिल ग्रिन इनर्जीले नेपालमा नवीकरणीय ऊर्जामा काम थाल्ने भएको छ। प्रोजिल ग्रिन इनर्जी र गोल्यान पावर लिमिटेडबीचको संयुक्त उपक्रम प्रोजिल ग्रिन इनर्जी नेपालु बुधबार काठमाडौंमा आयोजित प्रोजल ग्रिन इनर्जी शिखर सम्मेलनमा औपचारिक रूपमा सुरू गरिएको छ। कार्यक्रममा विशेष अतिथि रहेका विद्युत नियमन आयोगका अध्यक्ष डा। रामप्रसाद धितालले सरकारले नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई अगाडि बढाउनका लागि विभिन्न नीतिहरू ल्याइरहेको बताए।

उनले नियामक निकायको हैसियतले विद्युत नियमन आयोगले पनि नयाँ नयाँ नीतिहरूमा काम गरिरहेको र यस क्षेत्रलाई थप अगाडि बढाउनका लागि सधैं तत्पर रहेको बताए। उनले भने, सरकार नवीकरणीय ऊर्जाका क्षेत्रमा साथै निजी क्षेत्रलाई सहयोग गर्नका लागि सधैं तत्पर रहेको छ। तपाईंहरूले लगानी बढाउँदै जानुहुन्छ भन्ने विश्वास छ।

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले गोल्यान समूहले ५ सय मेगावाट विद्युत उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताए। हामीले चाहेमा र सरकारले बाटो खुला गरिदिएमा अर्कौ वर्षमा एक हजार मेगावाट ऊर्जा उत्पादन गर्न सक्छौँ भन्ने लाग्यो, उनले भने।

यस्तो भएमा मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्यून मात्रै किन्नुपर्ने अवस्था आउने उनको भनाइ छ। अहिले ८ सय मेगावाटको टेण्डर भइसकेपनि त्यो कहाँ छ भन्ने थाहा नभएको जस्तो अवस्था रहेको गुनासो गरे।

मुद्दा मामिलाका कारण यसमा धेरै समस्या सिर्जना भएको भन्दै उनले सरकार र मन्त्रीलाई पनि आफूहरूले यस्ता समस्या हटाएर स्पष्ट भिजनसहित अगाडि बढ्न सुझाइ रहेको बताए।

उनले सोलार ऊर्जालाई कसरी अगाडि बढाउने भन्ने कुरा अझै प्रष्ट नभइसकेकाले यसमा स्पष्ट भिजन बनाउनुपर्नेमा जोड दिए।

विद्युत विधेयक बन्दै गरेको विद्युत विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएकाले त्यसलाई समेट्नुपर्नेमा उनको जोड थियो। उनले भने, विधेयक हरेक वर्ष परिवर्तन गर्ने कुरा हुँदैन।

शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह

काठमाडौँ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरु गरिएको हो । सो अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उनको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्।

तत्कालीन राणा शासकले विक्रम संवत् १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन्। टेकुस्थित शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पणपछि बोल्दै उनले देशको लागि योगदान गर्नेहरूको कदर गर्न सक्नुपर्ने बताइन् । उनले शहीदहरूको योगदानबारेको ज्ञान पुस्तान्तरण हुँदै जानुपर्ने बताइन् । योगदानबारेको चर्चा पुस्तान्तरण भएमात्रै इतिहासलाई सम्मान गर्न सकिने र सच्चा नागरिक भएर काम गर्नसक्ने उनले बताइन् ।

झण्डै साढे ८७ अर्बको पेट्रोलियम पदार्थ आयात हुँदा ३७ अर्ब राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यसबाट ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व संकलन भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व संकलन भएको हो। चालु आवको ६ महिनामा ४२ अर्ब २४ करोड बराबरको ४ लाख ७९ हजार ७९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

चालु आवको ६ महिनामा दुई लाख २० हजार ३८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ। चालु आवको ६ महिनामा आठ अर्ब ९ करोड बराबरको ८९ हजार ३८० किलोलिटर ९एटिएफ० आयातबाट १ अर्ब एक करोड तथा ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड राजस्व संकलन भएको जनाइएको छ।

आव २०८०-८१ को ६ महिनामा ८८ अर्ब ७८ करोड बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो। गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व संकलन गरेको थियो।

महाभारत जङ्गलको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो । हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको वन कार्यलयका प्रमुख कृष्णबहादुर थापाले बताए । उनका अनुसार वनमा आगो फैलिरहेकाले त्यसको नियन्त्रणका लागि आज जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ ।

आगलागी नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए । आगलागी भएको स्थानबाट मानवबस्ती करिव तीन किलोमिटरको दुरीमा रहेको जनाइएको छ । प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

 

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

महानगर यातायात प्रालिले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । चालीस वटा सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीय स्थल चन्द्रागिरि र धुलिखेलका बिचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

आजदेखि शुभारम्भ गरिएको सो बस सेवा हालका लागि चन्द्रागिरि– गोदाम –चेक पोस्ट –गुर्जुधारा – सतुगंल– कलङ्की –बल्खु– कोटेश्वर –भक्तपुर – बनेपा – धुलिखेलसम्म सञ्चालनमा आउने छन् ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘प्राथमिक अस्पताल थानकोट– धुलिखेल यातायात सेवा’को शुभारम्भ गर्नुहुँदै चन्द्रागिरि र धुलिखेलका बिचमा आवतजावत गर्न बस सेवाले सजिलो हुने अपेक्षा व्यक्त गरेका थिए । उनले नगरभित्रको सार्वजनिक यातायातलाई सुधार गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिए ।

एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन्ः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताउनुभएको छ।

बुधबार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै उहाँले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको बताउनुभयो। उहाँले पास गराउने बेलामा धेरै ठूलो विरोध भए पनि अहिले आएर राम्रो रहेछ भन्नेकुरा सबैले थाहा पाएको बताउनुभयो। उहाँले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताउनुभयो।

सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताउनुभयो।

 

 

 

रूपन्देहीमा आज रविको बयान, बिहीबारदेखि थुनछेक बहस

सुप्रिम सहकारी बुटवलको बचत अपचलन अभियोगमा जिल्ला अदालत रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बुधवार बयान लिइएको छ । सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको कसुरमा लामिछानेविरुद्ध आइतबार रूपन्देही अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित हुनुभएको हो । जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान लिइएको हो ।

लामिछाने बयानका लागि बिहान साढे १० बजे नै अदालतमा पुगे पनि दिउँसो २ बजेदेखि मात्र बयान सुरु भएको थियो । जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधबार बयान लिने काम सकिएकाले अब बिहीबारदेखि थुनछेक बहस हुने छ ।

इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जन बढी तथ्य र प्रमाणसहित रवि लामिछाने, छविलाल जोशीसहित पूरकमा १४ र सुरु मुद्दाका आठसहित २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो ।

२२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपियाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध दुई करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिकतर्फ १० करोड ९९ लाख रुपियाँको छुट्टै बिगो माग गरिएको छ ।

 

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथद्धारा आफना सम्पुर्ण मन्त्री सहित महाकुम्भ स्नान

उत्तर प्रदेश सरकारको मन्त्रीपरिषद बैठक नै महाकुम्भ नगरी प्रयागराजमा बसे

भारतको प्रयागराजमा जारी महाकुम्भमा बुधवार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदिन्यनाथ सहित उनको मन्त्रीपरिषदका सम्पुर्ण मन्त्रीहरु स्नान गरेका छन । महाकुम्भमा स्नान गर्नु पुर्व मुख्यमन्त्री योगीले महाकुम्भ नगरी प्रयागराजमा उत्तरप्रदेश सरकारको मन्त्रीपरिषद बैठक समेत राखेका थिए । त्याहा भएका मन्त्रीपरिषद बैठकले महाकुम्भ नगरी प्रयागराजको विकासका लागी महत्वपुर्ण निर्णयहरु गरेका छन ।
गएको २९ पुसदेखि सुरु भएको महाकुम्भमा हरेक दिन १ करोड भन्दा वढी दर्शनार्थी आइरहेका छन् । प्रदेश सरकारको मन्त्रीपरिषद बैठक पछि मुख्यमन्त्री योगीले आज विहान सम्ममा ९ करोड भन्दा वढी तीर्थालु प्रयागराज पुगेको आकडा प्रस्तुत गरेका थिए ।

प्रयागराजस्थित गंगा र यमुना नदी संगमस्थलमा हरेक १२ वर्षमा कुम्भ मेला लाग्ने गर्छ । यमुना नदीमा सरस्वती नदी पनि मिसिएर आउने विश्वास साथ प्रयागराजलाई तीन नदीको संगम अर्थात् त्रिवेणीका रूपमा लिने गरिन्छ ।

हरेक १२ वर्षमा यस ठाउँमा नुहाउँदा पाप नष्ट हुने विश्वास छ । पौराणिक कालमा भएको समुद्र मन्थनबाट निस्केको अमृतको थोपा प्रयागराजमा पनि खसेको विश्वास गरिन्छ । सोही कारण कुम्भ मेलामा यहाँ करोडौं मानिस नुहाउन पुग्ने गर्छन् ।

यस वर्ष ४५ करोड तीर्थालु यहाँ आउने अपेक्षा भारतको विदेश मन्त्रालय तथा उत्तर प्रदेश सरकारले गरेका छन् । तीमध्ये १५ लाख विदेशी पर्यटक महाकुम्भमा सहभागी हुने अपेक्षा भारत सरकारको छ । यसलाई संसारकै सबैभन्दा ठूलो धार्मिक मेला मानिन्छ ।