Page 197 – Nepalboli

जसपाको केन्द्रीय समिति बैठक विरगंजमा सुरु

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा छलफल गर्न बैठक बसेको हो । शनिबार पर्साको वीरगञ्जस्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको उपमहासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

‘हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ । बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक तथा पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा गहन छलफल हुनेछ,’ उपमहासचिव यादवले भने ।

बैठकमा केन्द्रीय अध्यक्ष राई, संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री यादव, उपाध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बू, महासचिव मोहम्मद इश्तियाक राई, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झालगायत केन्द्रीय समितिका सदस्यहरूको सहभागी छन् ।
बैठक आइतबारसम्म चल्नेछ ।

 

 

 

अहिलेको आवश्यकता बृहत् वामपन्थी एकता- झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बृहत् वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैलाई महशुस भएको खण्डमा अहिलेको आवश्यकता बृहत् वामपन्थी एकताको भएको र महशुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने औंल्याउनुभयो ।

एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिष्टहरूले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको भनाइ व्यक्त गर्नुभयो । उहाँले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भए पनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले अहिलेको अवस्थामा आन्दोलनलाई एकताबद्ध गर्ने हो भने सही वैचारिक राजनीतिक कार्यदिशामा आउनुपर्छ । सही वैचारिक कार्यदिशा अहिले नै पहिल्याउन सकिँदैन भने कमसेकम साझा आधार त छ । कमन ग्राउन्ड त छ । कमन ग्राउन्ड रूप दिएर एउटा बृहत् वामपन्थी मोर्चा बनाउन जरुरी छ । अब कतिपय साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘समाजवादी मोर्चाको अहिले त्यो परिपक्व अवस्था होइन । किनभने सबैले समाजवादी कार्यक्रम नै लिएका छैनन् । समाजवादी कार्यक्रम नै नलिएकाहरूले के समाजवादी मोर्चा बनाउने रु नाम मात्रैको समाजवादी मोर्चा बनाउने हो भने जेजे गरे पनि हुन्छ ।’’

‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्दै नेपाली कांग्रेस

साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीका लागि सम्मेलन परिचयात्मक कार्यक्रम हुने जानकारी दिँदै युवालाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन फलदायी हुने विश्वाास व्यक्त गर्नुभयो।

नवप्रवर्तन र उद्यमशीलतामार्फत् आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिला र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

सानेपास्थित पार्टी कार्यालयमा हुने सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र छ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।

म्याग्दीको बाँसखर्कमा सुन्तला महोत्सव- अतिथिलाई सुन्तला उपहार, सुन्तलाकै माला

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ। महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो।

बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले जलजला गाउँपालिका र वडा नं १ को कार्यालयले महोत्सव आयोजना गरेको वडा अध्यक्ष जगबहादुर रोकाले बताए। महोत्सवको अवसरमा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो।

अतिथिलाई सुन्तलाको माला लगाएर स्वागत र सुन्तलानै उपहार दिएर बिदाइ गरिएको थियो । आमा समूहले सुन्तला खेतीसम्बन्धी भजन र गित प्रस्तुत गरेका थिए। पाखाभरी लटरम्म फलेका सुन्तला पाकेर पहेलपुर बनेको बाँसखर्कमा भएको सुन्तला महोत्सवले कृषि पर्यटन प्रवर्द्धन र मौलिक लोक संस्कृतिको संरक्षणमा पनि सहयोग पुगेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।

महोत्सवमा सहभागि हुन आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मा, प्रदेश सांसद भक्त कुँवर, रेखा गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचिव राघुराम बिष्ट र कृषि सचिव वासुदेव रेग्मीसँग सडक, सिँचाइ, खानेपानी र पहिरोको विषयमा कृषक तथा जनप्रतिनिधीले ध्यानाकर्षण गराए।

‘सिँचाइको समस्याले सुन्तला खेती विस्तार, पहिरोका कारण सुन्तला फार्मसहित बस्ति जोखिममा परेको र कच्चि सडकबाट बाँसखर्कको सुन्तला ढुवानी गर्दा थिच्चिएर नष्ट हुने समस्याको बारेमा राज्यको माथिल्लो निकायमा रहेका पदाधीकारीलाई प्रत्यक्ष ल्याएर देखाएका छौँ,’ गाउँपालिकाका अध्यक्ष आचार्यले भने, ‘विद्युतको समस्याले आठ वर्षअघि निर्माण भएको चिस्यानगृह सञ्चालन गर्न नसकिएको विषयमा पनि महोत्सवमा सहभागि हुन आएका अतिथिको ध्यानाकर्षण गराएका छौँ।’

बेनीदेखि बाँसखर्क जोड्ने छोटो दुरिको बगरफाँट–बाँसखर्क सडक योजनाको ठेक्का लागेपनि आठ वर्षसम्म काम नभएको र योजना नै हराएको विषयमा अध्यक्ष आचार्यले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । घरघरमा धारा निर्माण र मिटर जडान भएपनि खानेपानी वितरण हुन नसकेको समस्याका बारेमा जानकारी गराए।

मल्लाज सिँचाइ आयोजनामा नियमित पानी चलाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग समन्वय गर्नुपर्ने र बाँसखर्कको सुन्तला बगैँचामा सिँचाइ गर्न पाइपलाइनको ब्यवस्था मिलाउन आग्रह गरे।

मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाइ सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिवद्धता जनाए।

कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउदै मुख्यमन्त्री पाण्डेले बसाईसराई रोकिने, कृषि उपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी सडक, सिँचाइ र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको बताए।

‘सुन्तला ढुवानीका लागि तपाईहरुले ब्यहोर्दै आइरहेको समस्यालाई हामी छिट्टै सम्बोधन गर्नेछाँ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यस वर्षपनि जलजला गाउँपालिकाको विभिन्न पूर्वाधार योजनाका लागि प्रदेश सरकारले रु ११ करोड बजेट बिनियोजन गरेको छ।’

कृषिमन्त्री श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रवर्द्धनका लागि बाँसखर्कलगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना ९नाफा० लागू भएको र सो मार्फत कृषकलाई विभिन्न शिर्षकमा अनुदान दिइने बताए। पर्यटनमन्त्री बस्यालले बाँसखर्कलाई कृषि पर्यटनको गन्तव्य बनाउन पहल गर्ने प्रतिवद्धता जनाए।

समुन्द्रि सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाइमा फैलिएको दुई सय ३९ घर रहेको बाँसखर्कको धेरैले सुन्तला खेती गरेका छन् । एक हजार पाँच सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको बाँसखर्कमा यस वर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको महोत्सवमा अगुवा कृषक मेखबहादुर खत्रीले जानकारी गराए।

‍उनका अनुसार एक जना कृषकले वार्षिक रु चार लाखदेखि ३५ लाख बराबरको सुन्तला बिक्री गर्छन् । बाँसखर्कका कृषिकले अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघ महिनादेखि सुन्तला टिप्न थालेका छन् । बाँसखर्कमा खेती हुने सुन्तलालाई रैथाने जात प्रमाणित गरिएको छ ।

कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति

काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् ।

त्यसैगरी विद्युतबाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेको हो । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षभरमा विभिन्न प्रकारका गरी चार सय ३१ विपद्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ ।

त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिडिण्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रूपमा नफेर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ । विपद्का घटना बढ्न थालेपछि कामपाले यसको

नियन्त्रणका कृतिम अभ्यास र सर्वसाधारणको लागि जनचेतनाका कार्यक्रमसमेत गर्न थालेको छ । कृतिम अभ्यासअन्तर्गत सुरक्षित तबरबाट आगो कसरी निभाउने, सडक दुर्घटना भएको समयमा घाइतेलाई तत्काल अस्पतालसम्म कसरी लैजाने जस्ता विषयमा जानकारी गराइरहेको छ ।

कामपाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ड्राइ राइजर जडानको काम तीव्र रूपमा अघि बढाएको छ । कामपाको वडा नम्बर ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ ड्राइ राइजर जडान भइसकेको छ भने अन्य वडाहरूमा आवश्यकताअनुसार उक्त प्रविधि जडान भइरहेको छ ।

 

शीतलहरको कहरमा दलित मुसहर परिवार

बरहथवा (सर्लाही) । विपन्न दलित मुसहर परिवार चिसो र शीतलहरको जोखिममा परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन । बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उहाँहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् ।

सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहनु भएको छ । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उनले गुनासो गरिन् । खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उनले बिस्तरा बनाएकी छन् । त्यसैमा उनले १० दिनको शिशु पनि सुताएकी छन् ।

दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कनसमेत नपाएका कारण दुई छाकको जोहोसमेत गर्न समस्या परेको उनकी सासु जितनी देवी माझीले बताईन् । ‘भुइको चिसो पनि आउँछ’, सुत्केरी माझीले भनिन्, ‘माथिबाट शीत चुहिरहन्छ । ओड्ने कुरा पनि राम्रो छैन् । बाँसको टाटीको प्वालबाट छिरेको चिसो स्याँठले मुटु छेडेर जान्छ ।’

जोनिताजस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिईन् । सुरुमा चिसो कम हुँदा जसोतसो दिन रात कटाकी उनलाई शीतलहर सुरु भएपछि भने समस्या भएको बताईन् । चिसोले रातभरि शिशु रोएर नसुत्ने उनले दुखेसो पोििखन् । चिसोका कारण आफू पनि निकै पटक बिरामी परिसकेको उनको भनाइ थियो ।

पुनिताका श्रीमान् पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुगेका छन् । श्रीमान्ले कमाएर ल्याउलान र मीठो मसिनो खाने तथा बालबच्चा र आफूसमेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताईन् । कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भन्नुभएको उनले सुदाईन् । सुत्ने ओछ्यान नजिकै बालेको घुर हेरेर रात कटाउने गरेको उनको दुखेसो छ ।

बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसिरकेही छन् । ‘भुइमा राख्यो की चिसोले बच्चा रोही हाल्छ,” उनले भनिन्, ‘छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन ।’ मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूधसमेत खान नपाएको उनले गुनासो गरिन् ।

चिसो बढेकाले परिवारको अन्य सदस्य मजदुरीमा जान नसक्दा आफूसमेतले कयैँन रात भोकै बस्नुपरेको भन्दै शिशुलाई खुवाउन दूध नआएको उनले सुनाईन् । बिनाका श्रीमान् पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गरिरहेका छन् । सिजन सकिएपछि घर आउने उनको तयारी रहेको विनाले बताईन् । तर, आफू र शिशुलाई चिसोले धेरै सताइरहेको उनको गुनासो छ ।

बस्तीमा चिसो सुरु भएपछि बच्चा जन्माएका अन्य आमा र शिशुको अवस्था उस्तै छ । न्यानो कपडा त परको कुरा दैनिक छाकको जोहोसमेत गर्न सबैको मुस्किल छ । अधिकांश परिवारका पुरुष कृषि मजदुरी गर्न भारतको पन्जाब गएका छन् । उनीहरु तीनदेखि चार महिनाको अन्तरमा केही कमाएर घर फर्कने गरेका बसवरिया गाउँपालिका–३, की वडासदस्य सिता देवी माझीले बताईन् ।

त्यति बेलासम्म परिवारले भोकै प्यासै बस्नुपर्ने वस्तीको बाध्यता रहेको उनले सुनाईन् । विपन्न परिवारका उनीहरूलाई सरसापटसमेत कसैले नपत्याउने भएकाले बनिबुतो यस बस्तीको एकमात्र जीवन धान्ने आधार रहेको वडासदस्य सीता देवीको भनाइ छ । वर्षामा पानीमा डुब्नु र हिउँदमा चिसोले कठ्याङ्ग्रिनु यो बस्तीको नियमित नियति रहेको उनले सुनाईन् । बस्तीका अन्य परिवारले पनि दिन रात घुर तापेर चिसो छल्ने प्रयास गरिरहेको बताएका छन् ।

ज्यान मार्ने उद्योगमा फरार दुईजना पक्राउ

ज्यान मार्ने उद्योग कसुरका दुईजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका ४ घर भएका हाल काठमाडौँ नागार्जुन नगरपालिका १० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका ७ घर भई हाल काठमाडौँ महानगरपालिका १४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छन् ।

काठमाडौँ महानगरपालिका(३ लाजिम्पाटस्थित ईनोभा अस्पतालको पार्किङमा गत कात्तिक ११ गते एक जना व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाइते बनाई उनीहरू फरार भएका थिए । फरार भएपछि अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कञ्चनपुर भीमदत्त नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई हल पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।

अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला

जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालो धुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।

सीता चौधरीको पाँच जनाको परिवार छ । उक्त परिवारका लागि खाना पकाउनै पर्ने बाध्यता छ सीतालाई । श्रीमानको सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । “ग्यास चलाउन सकिँदैन, जङ्गल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैँलाई ग्राहो हुन्छ”, चौधरीले भन्नुभयो, “ग्यास चलाउन नसक्नेले दाउराको विकल्प गुइँठा तयार गर्नु परेको छ ।”

ग्रामथान–५ कि सीता चौधरीको जस्तै व्यथा छ रङ्गेली आमगाछीकी ललिता नुनियाको । नुनिया हिउँद सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउन थाल्नुहुन्छ । काँचो गोबरलाई सनपाटको सुन्टीमा टाँसेर सुकाएपछि गुइँठा बन्ने गरेको छ । दक्षिणी मोरङमा यसैलाई दाउराको विकल्पका रूपमा प्रयोग गर्ने गरिन्छ । तराईको समथल उब्जाउयोग्य खेतबालीमा हाल्नुपर्ने गोबर गुइँठा बनाएपछि दक्षिणी मोरङका किसान खेतमा रासायनिक मल हाल्न बाध्य छन् । गोबरलाई मलका लागि खेतमा हाले दाउराको समस्या हुने उहाँको भनाइ छ ।

दक्षिणी मोरङको रङ्गेली, सुनवर्षी, ग्रामथान, रतुवामाई र कटहरी क्षेत्रका निम्नवर्गका परिवारका महिलाले खाना पकाउने दाउराका रूपमा गुइँठा नै प्रयोग गर्ने गरेका छन् । गुइँठा बाल्दा निस्किएको धुवाँले आँखा र स्वास्थ्यमा समस्या देखिएको छ ।

ग्रामथान–५ कि सीता चौधरी र आमगाछी कि नुनिया जस्तै यस क्षेत्रका गृहिणीको दिनचर्या हो गोठबाट गोबर सङ्कलन गरेर गुइँठाको दाउरा बनाउनु । दक्षिणी मोरङका अधिकांश बासिन्दा गोबर सङ्कलन गरी सुन्ठी, बाँस, परालका टुक्रा मिसाएर दाउरा बनाउने गर्दछन् । बनाएका दाउरा सुकाएर खाना बनाउन प्रयोग गरिने स्थानीयवासी बताउँछन् ।

मोरङको उत्तरी क्षेत्रमा घना जङ्गल भए पनि दक्षिणी मोरङमा भने दाउराकै लागि गोबर प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ । दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनुपर्ने बाध्यता रहेको स्थानीय परमेश्वर नुनियाले बताउनुभयो । खेतमा प्रयोग गर्नुपर्ने गोबर मल दाउराका रूपमा प्रयोग हुँदा खेतमा मलको अभाव भएको छ भने स्वास्थ्यसम्बन्धी समस्यासमेत मानिसमा देखिन थालेको छ ।

गोबर मल खाना बनाउन प्रयोग गर्नुपर्ने भएपछि यस क्षेत्रका किसानले रासायनिक मलको प्रयोगमा जोड दिँदै आएका छन् । कृषकले बारिमा लगाउने गोबरलाई गुईठा बनाउन प्रयोग गर्नाले ५० प्रतिशत मलको अभाव र रासायिनक मलको प्रयोगले थप ५० प्रतिशत माटो बिग्रिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो । उक्त क्षेत्रमा दाउराको सहजता मात्र हुने हो र रासायनिक मलको ठाउँमा आफ्नै बारीमा उत्पादन हुने प्राङ्गारिक मल प्रयोग गरे उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।
खेतको उत्पादनमा ह्रास आएको कृषि विज्ञहरू बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार दाउराका रूपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हानिकारक छ । यसले भान्सामा काम गर्नेलाई श्वासप्रश्वास, दम र अन्य फोक्सोसम्बन्धी रोग लाग्न मोरङ हस्पिटलका डा उमेश गुरागाईंले बताउनुभयो ।

प्राङ्गारिक मलका लागि प्रयोग हुने गोबरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्नुभन्दा वैकल्पिक साधन प्रयोग गरेर खाना बनाउन विज्ञहरूको सुझाव छ । मोरङका दक्षिणी भेगका स्थानीय बासिन्दालाई वन पैदावारको हकदार बनाउन सामुदायिक वनले प्रयास थाले पनि सरकारी नीतिकै कारण समस्या आएको सामुदायिक वन उपभोक्ता समिति प्रदेश नं १ का सचिव अग्नि पौडेलले बताउनुभयो ।

सामुदायिक वनको क्षेत्र बाहिर रहेका जनतालाई समेट्न साझेदारी वन गठन भए पनि साझेदारी वनमा सरकारी नीतिका कारण दाउराका रूपमा भएका वन पैदावार बिक्री वितरण गर्न सकिएको छैन । गरिबको पहुँचमा वन पैदावार नहुँदा स्थानीय खाना पकाउन दाउरा बाल्न बाध्य छन् । सरकारी नीतिअनुसार वन पैदावार डाक बढाबढमा बिक्री हुने गर्दछ । यसरी बिक्री भएको वन पैदावार पहुँचवालाले नै लिने हुँदा विपन्नमा दाउराको समस्या भएको वनसम्बन्धी सरोकार भएकाहरू बताउँछन् ।

 

 

 

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ- सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ। जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। “तपाईँहरूबाट प्राप्त हुने सकारात्मक सुझावलाई हामी अवश्य ग्रहण गर्नेछौँ”, सभापति देउवाले भन्नुभयो।

नयाँ संविधान जारी भएसँगै सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक चुनाव सम्पन्न भइसकेको बताउँदै उहाँले दोस्रोपटक तीनै तहको निर्वाचन सम्पन्न भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको उल्लेख गर्नुभयो।

“सबै स्थानीय तहमा जनतालाई दिने सेवा सुविधालाई प्रभावकारी र चुस्त बनाउँदै हामी तीव्र आर्थिक र सामाजिक विकाससहितको समृद्धितर्फ अघि बढिरहेका छौँ”, सभापति देउवाले भन्नुभयो, “जनतासँग प्रत्यक्ष जोडिएर सङ्घीय गणतन्त्रको सही अभ्यास गर्ने थलो स्थानीय तह हो। हाम्रो संविधानले स्थानीय तहलाई लोकतन्त्रको प्राणका रूपमा व्याख्या गरेको छ। यस्तो महत्त्वपूर्ण निकायको समन्वय र अनुगमन कायम गर्न हरेक जिल्लाका जिल्ला समन्वय समितिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ।”

तीन तहका सरकारका कार्यालयहरूबीच समन्वय गर्न जिल्ला समन्वय समितिको भूमिका रहने बताउँदै उहाँले विकासका कार्यमा सुशासनसहित समावेशिता, सहभागिता, पारदर्शिता, क्षेत्रगत एवं पर्यावरणीय सन्तुलनजस्ता उपलब्धि हासिल गर्न समन्वय समितिको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो।

पालिकाहरूबीचको विवादमा समन्वयकारी भूमिका निर्वाह गरी समस्या समाधान गर्ने दायित्व पनि जिल्ला समन्वय समितिको भएको उहाँको भनाइ थियो। “कानुनी रूपले समन्वय नै मूल जिम्मेवारी भएका कारण पालिकाहरूबीच मात्र नभई प्रदेश र सङ्घबीच समन्वय गरी प्रभावकारी कार्यसम्पादन गराउने भूमिका तपाईँहरूको छ”, सभापति देउवाले भन्नुभयो, “आगामी दिनमा अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन तपाईँहरूको थप ध्यान पुग्ने छ भन्ने मैले अपेक्षा गरेको छु।”

सभापति देउवाले बजेट, पूर्वाधार, कानुन तर्जुमालगायत समस्यामा आफू र आफ्नो पार्टीले सहयोगी भूमिका खेल्ने बताउँदै यसमा सरकार अविभावकीय भूमिकामा रहने उल्लेख गर्नुभयो।

 

लोसपा नेपालको मधेश प्रदेश कमिटीको बैठक जनकपुरमा सम्पन्न

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिको बैठक शुक्रवार जनकपुरमा बसेको छ । लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकमा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु सहित जनकपुरधाममा उपलब्ध केन्द्रिय पदाधिकारी तथा सदस्यहरु सहित विभिन्न जिल्लाबाट आमन्त्रित जिल्ला पदाधिकारी तथा सदस्यहरु सहभागी भएका थिए ।

बैठकमा सदस्यता वितरण तथा अधिवेशन, पार्टीको प्रदेश समितिको नियमित काम कारवाही, प्रदेश पार्टी कार्यालय संचालन तथा प्रदेश सभा तथा प्रदेश सरकारको बारेमा छलफल भएको लोसपा मधेश प्रदेश समितिले जनाएको छ । बैठकमा त्यसको साथै मधेस प्रदेशका सबै जिल्लामा अन्तरक्रिया कार्यक्रम गर्नुका साथै भातृ जनवर्गीय संगठनहरुको प्रदेश इन्चार्ज तोकने वारेमा समेत छलफल भएको थियो ।