Page 194 – Nepalboli

आवासीय चिकित्सकले २५ देखि ३५ हजार भत्ता पाउने

आवासीय चिकित्सकको निर्वाह भत्ता दिनुपर्ने विषयमा निजी कलेज र सरकाबिचको विवाद सुल्झिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ् ख्यामन्त्री प्रदिप पौडेलले माघ १४ गते मन्त्री स्तरीय निर्णय गर्नुहुँदै आवासीय चिकित्सकको निर्वाह भत्ता दिनुपर्ने विषयमा निजी कलेज र सरकाबिचको विवाद सुल्झाउनु भएको हो ।

आयोग र निजी मेडिकल कलेज सञ्चालनबिच विवाद बढेपछि मङ्सिर ९ गते बसेको चिकित्सा शिक्षा आयोगको १५ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधान गर्ने जिम्मा शिक्षा र स्वास्थ्य मन्त्रीलाई दिनुभएको थियो । सोही निर्णय अनुसार पुस २ गते सुझाव कार्यदल बनाएको थियो । सोही कार्यदलको सुझाव र सरोकारवालाहरूसँगको छलफलका आधारमा शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले निर्वाह भत्ताको विवादलाई सोमबार टुङ्गो लगाउनु भएको हो ।

उक्त निर्णय अनुसार सःशुल्क तर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजाका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउनु पर्ने छ ।

यसअघि निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई १८ हजार रुपियाँ निर्वाह भत्ता दिँदै आएका थिए ।

निजी मेडिकल कलेजले शैक्षिक सत्र २०८१/८२ देखि नै स्नातकोत्तर तहमा अध्यान गर्न आवासीय चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको छात्रवृत्ति निर्देशिका अनुसार निर्वाह भत्ता प्रदान गर्ने र निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययन पश्चात दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन सरकारले आवश्यक कानुन प्रबन्ध गर्ने निर्णय गरेको छ ।

स्नाकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवम् प्रचलित श्रमसम्बन्धी कानुन बमोजिम मर्यादित सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

चिकित्सक शिक्षा आयोगले सरकारी सहर आवासीय चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्देशन दिँदै निजी मेडिकल कलेजलाई पत्र पठाएको थियो । तर निजी मेडिकल कलेजहरूले सरकारी सहरको निर्वाह भत्ता उपलब्ध गराउन नसकने बताउँदै आएका थिए ।

 

म्याग्दीमा सुन्तला क्रेज- बेचेर २० लाख आम्दानी

म्याग्दी । बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् । “गत वर्ष रु १३ लाखको सुन्तला बिक्री भएको थियो”, उहाँले भन्नुभयो, “यसपालि उत्पादन बढेकाले रु २० लाखको सुन्तला बिक्री भएको हो ।” पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो रु ७५ का दरले सुन्तला बिक्री गरेको खत्रीले बताउनुभयो । खत्री जिल्लामा सुन्तलाखेतीबाट धेरै आम्दानी गर्नेमध्ये एक हुनुहुन्छ । खत्रीसहित मरेकका किसानले यस वर्ष सुन्तला बिक्री गरेर रु एक करोड ५० लाख आम्दानी गरेका छन् ।

मरेकका रहेको २१ मध्ये २० घरपरिवारले सुन्तलाखेती गरेका छन् । प्रतिघर न्युनतम रु एक लाखसम्मको सुन्तला बेचेका छन् । “गत वर्ष रु ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेको थियो”, उहाँले भन्नुभयो, “फल लाग्ने बिरुवा थपिएका, क्षेत्रफल विस्तार, दाना झर्ने समस्या कम भएको, बगैँचा व्यवस्थापन र अनुकूल मौसमका कारण सुन्तला उत्पादन बढेको हो ।”

माघको पहिलो साता सुन्तला टिपेर निख्रिएपछि किसान बगैँचा व्यवस्थापनमा जुटेका छन् । उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशकअघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो ।

अहिले मरेकको पाखा सुन्तला बगैँचाले भरिएको छ । वर्षमा १८ मुरी धान फलाउने इन्द्रबहादुर थापाले १४ रोपनीमा गरेको सुन्तल खेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने बताउनुभयो । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर रु छ लाख आम्दानी गर्नुभयो ।

“सुन्तलाखेती गरेपछि घरव्यवहार चलाउन विदेश जानुपरेको छैन”, उहाँले भन्नुभयो, “जीवनस्तरमा परिवर्तन ल्याएको छ ।” अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताउनुभयो । पोखरा, काठमाडौँ, हेटौँडाको बजारमा यहाँको सुन्तला खपत हुने गरेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् । अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताउनुभयो । सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिँचाइ र प्रविधि सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताउनुभयो ।

 

 

शीतलहरबाट पूर्वी तराईको जनजीवन प्रभावित

मोरङ । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ ।

महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ । पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।

चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको सुन्दरहरैँचा ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले बताए । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले साँझपख चाँडै चिसो बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेको उल्लेख गरे ।

न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ । केही सर्वसाधारण स्थानीय यहाँ चिसोले गर्दा दाउरा, गुइँठा, बालेर आगो ताप्न बाध्य छन् । कठङ्याग्रिँदो चिसोसँगै केही नदेखिने गरी हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारीचालक सरोज लामिछाने बताउछन् ।

जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका स्वास्थ्यकर्मीको भनाइ छ । चिसोसँगै दम, निमोनिया, रूघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेको पूर्वाञ्चल विद्याविद्यालय शिक्षण अस्पताल गोठगाउँले जनाएको छ । बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम विराटनगर आउने हवाई उडान खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

भुकम्प पछिको पुननिर्माण परियोजना सम्बन्धी नेपाल र भारत विच छलफल

०७२ को भुकम्प पश्चात नेपालमा भारत सरकारले गरिरहेको पुुर्ननिर्माण संग सम्बन्धीत परियोजनाहरुको वारेमा नेपाल र भारतको विचमा सोमवार काठमाडौमा  छलफल भएको छ । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरको नेतृत्वको टोली र नेपालको सहरी विकास मन्त्रालयको सचिव पद्यम कुमार मैनाली नेतृत्वको टोली विच पुर्ननिर्माण संग सम्बन्धीत परियोजनाहरु वारेमा छलफल भएको हो ।

भुुकम्प पश्चात भारत सरकारले क्षतीग्रस्त घरहरु, विद्यालय, अस्पताल तथा संस्कृति सम्पदाहरुमा पुर्ननिर्माणका कामहरु गरिरहेका छन । घरहरुको पुर्ननिर्माण सन २००१ र विद्यालयहरुको पुननिर्माणको काम सन २०२४ मै सकि सकेको छ भने अस्पताल र संस्कृति सम्पदाहरुको पुर्ननिर्माणको कामहरु पनि अन्तिम चरणमा पुुगेको छ ।

छलफलमा दुवै देशका अधिकारीहरुले भारत सरकारको सहयोगमा बनिरहहेको परियोजनाहरु साकारात्मक रुपमा अघि वढेको निष्कर्ष निकालेका छन ।  सन २०२३ यता भारत सरकारले पुर्ननिर्माणका कामहरु सकेर २६ ओटा शैक्षिक सहयोग परियोजना नेपाल सरकारलाई हस्तानान्तरण गरिसकेका छन । जसमा त्रिभुवन विश्वविद्यालयका केन्दिय पुुस्तकालय सहितका परियोजना छन भने स्वास्थय क्षेत्रका ३२ ओटा परियोजनाहरु भारत सरकारले नेपाललाई हस्तानान्तरण गरेका छन ।

त्यस्तै भारत सरकारले पुर्ननिर्माण गरेका ३ ओटा संस्कृति सम्पदाहरु समेत नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । यी परियोजनाहरु निर्माण गर्न भारत सरकारले ३३५.०८ करोड नेपाली रकम खर्चेका छन । यसका साथै स्वास्थय क्षेत्रका ४३ परियोजना र ९ ओटा संस्कृति सम्पदा संग जोडिएको परियोजनामा समेत भारत सरकारले १७३.४९ करोड नेपाली रकम खर्च गरेका छन । भारतीय विदेश मन्त्रालयको अतिरिक्त सचिव मुनु महावरले सोमवार नै ललीतपुरमा भारतीय सहयोगमा बनीरहेको एक परियोजनाको स्थलगत निरक्षण समेत गरेका छन ।

०७२ मा गएको भूकम्पपछि भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर अनुदान सहायताको प्रतिबद्धता जनाएको थियो। सो अनुदान सहायता चार विभिन्न क्षेत्रका लागि छुट्याइएको थियो – आवास (१०० मिलियन), शिक्षा (५० मिलियन), स्वास्थ्य (५० मिलियन) र सांस्कृतिक सम्पदा (५० मिलियन)। यी परियोजनाहरूको प्रगति अनुगमन गर्न सन् २०१७ अगस्टमा दुवै देशले जेपीएमसी (संयुक्त परियोजना अनुगमन समिति) संयन्त्र स्थापना गरेका थिए । भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरू सम्बन्धी संयुक्त परियोजना अनुगमन समितिको यो पाँचौं बैठक हो । दुवै पक्षले आपसी छलफलमा पुन अर्को बैठक गर्ने सहमती पनि गरेको छ ।

चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ। मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पुस मसान्त सम्ममा कुल बजेटको ५.८३ प्रतिशत अर्थात् दुई अर्ब ४४ करोड ६० लाख रुपैयाँ मात्र खर्च भएको छ। जसमा पुँजीगततर्फ १.३३ प्रतिशत तथा चालुतर्फ १३.५३ प्रतिशत खर्च भएको छ।

मधेस सरकारले चालुतर्फ १५ अर्ब ३५ करोड ९१ लाख ४१ हजार रुपैयाँ र पुँजीगततर्फ २६ अर्ब ५७ करोड ४६ लाख ७९ हजार रुपैयाँ गरी कुल ४१ अर्ब ९३ करोड ३८ लाख २० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो।

मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयबाट प्राप्त विवरणमा विगत छ महिनामा मुख्यमन्त्री कार्यालयको चार करोड ७५ लाख रुपैयाँ, अर्थ मन्त्रालयको चार करोड पाँच लाख रुपैयाँ, वाणिज्य तथा पर्यटन मन्त्रालयको सात करोड ९९ लाख रुपैयाँ खर्च भएको छ। त्यसैगरी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको १५ करोड ५२ लाख रुपैयाँ, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको २८ करोड ८६ लाख रुपैयाँ, गृह, सञ्चार तथा कानुन मनत्रालयको तीन करोड ४८ लाख रुपैयाँ र वन तथा वातावरण मन्त्रालयको ३८ करोड तीन लाख रुपैयाँ खर्च भएको उल्लेख छ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयको २४ करोड ८४ लाख रुपैयाँ, शिक्षा तथा संस्कृति मन्त्रालयको १८ करोड १२ लाख रुपैयाँ, श्रम तथा यातायात मन्त्रालयको सात करोड ८३ लाख रुपैयाँ एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५७ करोड ६१ लाख रुपैयाँ बजेट खर्च भएको जनाइएको छ।

प्रतिशतका आधारमा मुख्यमन्त्री कार्यालयको ८.९६ प्रतिशत, अर्थ मन्त्रालयको १७.०६ प्रतिशत, उद्योग मन्त्रालयको २.६८ प्रतिशत, भूमि व्यवस्था, कृषि सहकरी मन्त्रालयको ५.५६ प्रतिशत, ऊर्जा तथा सिँचाइ एवं खानेपानी मन्त्रालयको ५.४९ प्रतिशत खर्च भएको छ।

त्यसैगरी गृह, सञ्चार तथा कानुन मन्त्रालयको ४.४९ प्रतिशत खर्च भएको देखिएको छ। वन तथा वातावरण मन्त्रालयको १५.६८ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १.८८ प्रतिशत, शिक्षा तथा संस्कृति मन्त्रालयको ६.१८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयको ७.८३ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ११.०४ प्रतिशत बजेट खर्च भएको उल्लेख छ।

राजनीतिक अस्थिरता तथा समयमा बजेट निकासा नहुँदा विनियोजित बजेट खर्च हुन नसकेको सम्बन्धित निकायले जनाएका छन्। जसपा नेपालका सचेतक तथा प्रदेश सांसद रामअशिष यादवले सरकारको कमीकमजोरीले बजेट खर्चमा समस्या देखिएको बताए। बजेट खर्चका लागि प्रदेश सरकारले संकल्प प्रस्तावसमेत पारित गरेको छ।

 

मधेशकेन्द्रित आठ दलद्धारा मोर्चाको अवधारणा र एजेन्डा तय गर्न कार्यदल बनाउने निर्णय

मधेशकेन्द्रित राजनीतिक दलहरूले मोर्चा बनाउनका लागि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ । राजधानीमा सोमबार बसेको आठवटा राजनीतिक दलका नेताहरूको बैठकले आगामी बिहीबारसम्म प्रत्येक दलबाट कार्यदलमा रहने एक एक जना नेताहरूको नाम टुंग्याउने निर्णय गरेको हो । बिहीबारसम्म कार्यदल बनाएर सबै दलका अध्यक्षसहितको बैठक पनि बस्ने नेताहरुले बताएका छन । उक्त कार्यदलले मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने छ ।

आजको बैठकमा जसपाबाट रेनु यादव, जसपा नेपालबाट मनिष सुमन, जनमत पार्टीबाट अब्दुल खान, लोसपाबाट सवेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतीशील पार्टीबाट हृदयश त्रिपाठी र डा शिवजी यादव र तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द्र लाल बैठकमा सहभागी थिए ।

 

 

 

 

 

कांग्रेसबाट सरकारलाई बलियो साथ छ- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्र आएपछि विकास निर्माणको गति बेग्लै भएको बताउनुभयो ।

“अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभइकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेकपा ९एमाले० ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।”

प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गर्नुभयो । उहाँले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो ।

सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरूलाई सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको छ ।

उहाँले मन्त्रीहरूले यसको बारेमा जवाफ दिनुपर्ने भएकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको बताउनुभयो । उहाँले बैठकमा सांसदहरूले दुई ठुला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसके जनतामा निराशा छाउने भएकाले गम्भिर भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै खतिवडाले भन्नुभयो, ‘सदस्यहरूले मन्त्रीहरूको कामको प्रभावकारिताको विषयमा केही कुराहरू राख्नु भएको छ । मुस्कानसहितको सेवा भन्ने एउटा भनाइ छ । मन्त्रीमात्र मुस्कुराउने तर सेवाग्राही रुँदै हिँड्ने अवस्था नआओस् भन्ने धेरै माननीयहरूको भनाइ छ । केही नयाँ कुराहरू पनि आएका छन् । सरकारले ल्याएको अध्यादेशको सवालमा केही साथीले सहमति छैन भन्ने कुराहरू गर्नुभएको छ । अध्यादेश आउनुभन्दा अगाडि सांसदहरूसँग छलफल गरिएन । यो कुरा ठिक भएन भनेर केही माननीय सदस्यहरूले कुराहरू राख्नुभयो । मन्त्रीहरूले जवाफ दिनुपर्नेछ । त्यसैले मन्त्रीहरूले जवाफ दिनका लागि फेरि माघ १८ गते बिहान ८ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।’

खतिवडाले भन्नुभयो, ‘विशेषगरी मन्त्रीहरूको कार्यदक्षता र क्षमताहरू र जनताको सवालमा काम गर्नुस्, यदि मन्त्री पनि हुने काम पनि नगर्ने पद्धतिको विकास भयो भने पार्टी निराशामा जाने कुरा आएको छ । दुई ठुला पार्टी मिलेर बनेको सरकारले पनि जनताको आशाअनुसार काम गर्न सकेन भने जनतामा निराशा पैदा हुन्छ । निराशा पैदा हुने कामको अन्त्य हुनुपर्छ । त्यसमा आफ्नो बलबुँताले भ्याएसम्म गर्नुस् भन्ने कुरा भयो । सभापतिले मन्त्रीहरूलाई काम गर्ने बेलामा सांसदहरूसँग समन्वय गरेर अगाडि बढ्न निर्देशन दिनुभयो । यदी गल्ति भएको छ भने खुलेर राख्न सभापतिले भन्नुभएको छ ।’

कांग्रेसका केही नेताहरूले सार्वजनिक रूपमै सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएको छ ।

 

 

 

संसदको कार्यतालिका तयार, भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

माघ १८ गतेबाट सुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ । सोमबार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरूका प्रमुख सचेतकरसचेतकहरूको बैठकले कार्यतालिका तयार पारेको हो । जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसदको बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।

उहाँका अनुसार २५, २६ र २७ संसदीय समितिको बैठक बस्नेछ । त्यस्तै २८, २९ र ३० गते पुनः संसदको बैठक बस्नेछ । संसद सुचारु हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरूले संसदमा सम्बोधन गर्नेगरी तालिका बनाइ समय निर्धारण गरिएको बताउनुभयो । त्यस्तै संसदको पहिलो दिन नै अध्यादेशहरू सबै पेस हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलायौँ । यो महिनाको ३० गतेसम्म पार्ल्यामेन्ट चलाउँछौँ । १८ गतेबाट सुरु हुन्छ । २२, २३ र २४ गते हाउस बोलाउँछौँ । १८ गतेको बैठकमा अध्यादेशहरू सबै पेस हुन्छ । २५,२६ र २७ संसदीय समितिको बैठक हुन्छ । २८, २९ र ३० गते पुनः संसद बस्छ । प्रधानमन्त्रीज्युले सम्बोधन गर्ने कार्यक्रम छ ।’’

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुरा गर्नुहुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि सुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गर्नुभएको बताउनुभयो । उहाँले संसद सुचारु गर्नका लागि माघ महिनाको कार्यतालिकाका बारेमा पनि छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सम्माननीय सभामुखज्युले सम्पूर्ण दलका प्रमुख सचेतकहरूलाई बोलाउनुभएको थियो । सबै प्रमुख सचेतकहरू त आउन सक्नुभएन । तर जति हामी उपस्थित थियौँ । त्यसमा १८ गतेदेखि सुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा गहन रूपमा छलफल भयो । १८ गते सुरुवात हुने संसदमा कसरी समय विभाजन गर्ने, कसले धारणा राख्ने, यो महिनासम्मका लागि क्यालेन्डर तयार गरेर सचिवालयले ल्याएको थियो । त्यसमा छलफल भयो ।’’

त्यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद सञ्चलन गर्नेगरी कार्यतालिका बनाइएको बताउनुभयो । उहाँले सरकार सदनप्रति उत्तरदायी नभएको महशुस आफूहरूले गरिरहेको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एक हप्तामा तीन दिन सभा चलाउने र तीन दिन समितिका कामहरू गर्ने गरेर नै विषयवस्तु लैजाने कुराकानी भएको छ । सरकार संसदप्रति उत्तरदायी छैन भन्नेकुरा देखियो ।’’

प्रमुख सचेतक पाण्डेले सरकारले संसदलाई आफूसँग जोड्ने गरी जानुपर्ने बताउनुभयो । त्यस्तै सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मङ्गलबार बिहान ११ बजेका लागि बोलाउनुभएको छ ।

 

 

 

 

 

 

सातै प्रदेशमा रास्पाले ‘सर्वाङ्गीण संवाद’ गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय सचिवालय सदस्य पदाधिकारीहरुको नेतृत्वमा फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

संवाद कार्यक्रममा उपयुक्तता अनुसार केन्द्रीय नेता र सांसदहरूलाई समावेश गर्ने निर्णय पनि भएको छ ।

जसका लागि विभिन्न प्रदशेमा नेताहरूको जिम्मेवारी बाँडफाँट पनि गरिएको छ । सुदूरपश्चिम प्रदेश दीपक बोहरा र प्रतिभा रावल, कर्णाली प्रदेश लिमा अधिकारी, लुम्बिनी प्रदेशमा विपिनकुमार आचार्य, गण्डकी प्रदेशमा शिशिर खनाल, बागमती प्रदेशमा सन्तोष परियार र वसुमाया तामाङ, मधेस प्रदेश, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेशमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई तोकिएको छ ।

त्यस्तै रास्वपाले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपामा आवद्ध गर्न गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।

त्यस्तै, केन्द्रीय सदस्य कामिनी चौधरीलाई केन्द्रीय संगठन विभाग सदस्यमा मनोनयन गर्ने निर्णय पनि भएको कार्यबाहक प्रवक्ता रावलले बताइन् ।

प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि सो सम्बन्धी कार्यविधि बमोजिम गर्न गराउन केन्द्रीय संगठन विभागलाई सहजीकरणका लागि निर्देशन पनि दिएको छ ।