Page 190 – Nepalboli

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस

राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ। सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गर्नुभयो। त्यसअघि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराउनुभयो।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रिय सभामा उक्त विधेयक दर्ता गराएको थियो।

सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्धन गर्न सामाजिक सञ्जालको ‘प्लेटफर्म’ सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन उक्त विधेयक अघि बढाइएको स्पष्ट पार्नुभयो।

विधेयकमा डिजिटल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म एवं संस्थाले सञ्चालन अनुमति लिनुपर्ने, अनुमतिपत्रको नवीकरण गर्नुपर्ने, प्लेटफर्म सञ्चालनमा रोक लगाउन सक्ने, अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त, सामाजिक सञ्जाल प्लेटफर्मबाट विषयवस्तु हटाउन निर्देशन दिनसक्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त उल्लेख गरिएको छ।

यस्तै साइबर बुलिङ र स्टकिङ्ग तथा आइडी ह्याक, सेक्सटोर्सन वा एक्सटोर्सन गर्न नहुने, अश्लिल, मिथ्या वा भ्रामक विषयवस्तु प्रचारप्रसार तथा डिपफेक भिडियो अपलोड वा प्रचारप्रसार एवं बेनामी वा छद्मभेषी पहिचान बनाउन नहुनेलगायत विषय विधेयकमा समेटिएका छन्।

विधेयकमा सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी अनुमतिपत्रको अवधि दुई वर्षको हुने र नवीकरण गर्न चाहेमा १५ दिन अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

अनुमतिपत्र प्राप्त व्यक्तिले मुलुकको शान्ति सुरक्षा, अमनचयन, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमानतमा खलल पुग्ने वा राष्ट्रहित प्रतिकुलका विषयवस्तु प्रसार गरे वा गराएमा सामाजिक सञ्जाल प्लेटफर्मको अनुमतिपत्र खारेज गर्न सक्ने तथा तोकिएको सर्त पालना नगरेमा सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था विधेयकमा गरिएको छ।

यस्तै सामाजिक सञ्जाल प्रयोकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच, मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रचारप्रसार, प्रचलित कानुनले निषेध गरेको वस्तुको विज्ञापन तथा कारोबार गर्न नपाउने उल्लेख छ। गलत मनसायले सामजिक सञ्जालमा पोस्ट, सेयर, लाइक, रिपोस्ट , लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गरेमा सामाजिक सञ्जाल प्रयोगकतालाई रू पाँच लाखसम्म जरिवाना हुनेछ।

उक्त ऐनको कार्यान्वयनबाट नेपालमा विद्युतीय स्वरूपमा रहेको सूचना सुरक्षा तथा वैयक्तिक विवरणको गोपनियताकोस्तरमा वृद्धि हुने, साइबर सुरक्षाका लागि आवश्यक कानुनी तथा संरचनागत व्यवस्था भई साइबर सुरक्षाको अवस्थामा सुधार हुने तथा सूचना प्रविधिसम्बन्धी व्यवसायहरू व्यवस्थित, नियमित तथा मर्यादित भई यस क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुने सरकारको भनाइ छ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० हाल कार्यान्वयनमा रहेको छ। आव २०८०-८१ को बजेटमा समेट सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने तथा सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्थामा सुधार गरिनेछ भन्ने उल्लेख छ।

 

आपलाई हराउँदै भाजपा २७ वर्षपछि नयाँ दिल्लीमा सत्तामा

भारतीय जनता पार्टी (भाजपा) ले दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ । दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप) का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन्।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सीटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका छन् ।

शनिबार साझसम्म भाजपाले दिल्लीमा ७० सिटमध्ये ४५ सिट जितेको छ भने तीन सिटमा अग्रता लिएको छ । आम आदमी पार्टीले २१ सिट जितेको छ भने एक सिटमा अग्रता लिएको छ ।

सङ्घीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको काङ्ग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ ।

सुशासन’को विजयः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा) को विजयको प्रशंसा गर्दै केन्द्र र राज्यमा भाजपाको ‘सुशासन’को विजय भएको बताएका छन् ।

उनले दिल्लीको विकास र जनताको समग्र जीवनस्तर उकास्न पार्टीले कुनै कसर बाँकी नराख्ने बताए । प्रधानमन्त्री मोदीले भने, “जनशक्ति सर्वोपरि छ, विकासको जित हुन्छ, सुशासनको जित हुन्छ ।”

उनले अगाडि थपे, “यो शानदार र ऐतिहासिक जनादेशको लागि म दिल्लीका मेरा प्रिय दिदीबहिनी र भाइहरूलाई नमन गर्दछु। यी आशिषहरू प्राप्त गर्न पाउँदा हामी नम्र र गौरवान्वित छौं।”

उनले भने, “हामी दिल्लीको विकास गर्न, जनताको समग्र जीवनस्तर सुधार गर्न र विकसित भारत निर्माणमा दिल्लीको प्रमुख भूमिका सुनिश्चित गर्न कुनै कसर बाँकी राख्नेछैनौं। यो हाम्रो प्रतिवद्धता हो।

–आपद्वारा हार स्वीकार–

दिल्लीका मुख्यमन्त्री आतिशीले कालकाजीबाट जित हासिल गरेका छन भने आप नेता तथा पूर्व मुख्यमन्त्री केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, दिल्लीका मन्त्री सौरभ भारद्वाज, पूर्वमन्त्रीहरू सोमनाथ भारती र सत्येन्द्र जैन तथा पार्टी नेता अवध ओझा र दुर्गेश पाठकले चुनाव हारेका छन् ।

आप नेता केजरीवालले जनादेश स्वीकार गर्दै भाजपालाई विजयको लागि बधाई दिए । “केजरीवालले एक्समा पोस्ट गरिएको भिडियोमा भनेका छन्, “जनताको जनादेशलाई हामी अत्यन्त नम्रताका साथ स्वीकार गर्दछौं । म भाजपालाई यो जीतको लागि बधाई दिन्छु र मलाई आशा छ कि उनीहरूले ती सबै वाचाहरू पूरा गर्नेछन् जसका लागि जनताले उनीहरूलाई मतदान गरेका छन् ।”

उनले भने, “विगत १० वर्षमा हामीले स्वास्थ्य, शिक्षा, पूर्वाधारका क्षेत्रमा धेरै काम गरेका छौं । हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्र निर्वाह गर्ने छैनौं, जनताको बीचमा रहेर जनताको सेवा गरिरहनेछौं । ’हामी सत्ताका लागि राजनीतिमा आएका होइनौं, राजनीतिलाई जनताको सेवा गर्ने माध्यमका रुपमा लिएका छौं ।”

 

 

 

नगर प्रमुख बस्नेतविरुद्ध आठ करोड ६९ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँको भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्वको बस्नेतको परिवारका सदस्यका नाममा विभिन्न बैङ्क तथा वित्तिय संस्था र सहकारी संस्थामा रहेका खातामा सुरु मौज्दात बापतको रकम, पारिश्रमिक, दैनिक भ्रमण भत्ता लगायत निजका एकाघर परिवारका सदस्यको कुल आय १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपियाँ रहेको छ।

आयोगका अनुसार बस्नेतको सोही अवधिमा जाँच गर्दा व्ययतर्फ जग्गा खरिद, घर निर्माण खर्च तथा मर्मत, अपार्टमेन्ट खरिदका लागि बुकिङ्ग प्रयोजनमा भएको खर्च तथा लगानी लगायतको रकम २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपियाँ रहेको देखिएको छ।

सो अवधिमा कुल आयभन्दा खर्च बढी देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। कुल खर्च तथा लगानी रकम आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँ बिगो कायम गरी बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद र बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।

बस्नेतले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट निजको श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात रकम, खरिद गरिएका घरजग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

 

दक्षिणकालीमा स्कुल बस दुर्घटना- दुईको मृत्यु, ४१ घाइते

काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी ४१ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । प्रहरीकाअनुसार दक्षिणकाली नगरपालिकाको जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा परेको हो ।

घटनाको यकिन विवरण आउने क्रममा रहेको बताएको छ । घाइतेहरुको ट्रमा सेन्टर, कीर्तिपुर अस्पताल लगायतका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार चार जना घाइते परिवारको सम्पर्कमा पुग्नुभएको छ ।

 

भारतीय सहयोगमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनको दार्चुला उद्घाटन

भारत सरकारको नेरु २.५३६ करोडको आर्थिक सहयोगमा निर्मित दार्चुला जिल्लाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको शनिवार उद्घाटन गरिएको छ । दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष श्री दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर श्री अविनाश कुमार सिंहले उक्त भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।

नेपाल – भारत विकास सहयोग अन्तर्गतको भारत सरकारको अनुदान स्वास्थ्य चौकी भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र दार्चुलाको नौगाड गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।

दार्चुलास्थित नौगाड गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । निर्माण गरिएको पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्न उपयोगी हुनेछ । स्वास्थ्य सेवाको प्रवाहमा सुधार गर्न मद्दत गरी स्वास्थ्य चौकी भवनले नेपालको सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्‍याउनेछ । यस परियोजनाबाट १५,००० भन्दा बढी मानिसहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

 

 

राष्ट्रियसभामा विभिन्न अध्यादेशहरू पेस

सरकारले राष्ट्रिय सभामा विभिन्न अध्यादेशहरू पेस गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरेका हुन् ।

त्यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन०अध्यादेश, २०८१’ निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्नुभयो ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक माघ २० गते बोलाइएको छ ।

 

 

 

सातबुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ छ- सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमति कार्यान्वयनमा दृढ रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।

सभापति देउवाले भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सात बुँदे सहमति भएर सरकार गठन भएको हो। हामी दुवै दलका साथै अन्य राजनीतिक दलको पनि सरकारमा सहभागिता र समर्थन छ। नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सातबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेपाली कांग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ र अन्य सहयोगी राजनीतिक दलहरुको पनि निरन्तर सहयोग रहनेछ भन्ने मैले विश्वास गरेको छु।”

सभापति देउवाले वर्तमन सरकार गठन भएको साढे ५ महिना पूरा भएको भन्नुहुँदै विगतमा सरकार स्थिर हुन नसकेको कारण देशको राजनीतिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका कारण यो सरकार गठन भएको बताउनुभयो।

उहाँले सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण, दिगो शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति गर्ने, देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक प्रगति गर्ने तथा विकास निर्माणलाई तीव्र गति दिने सरकारको मुख्य ध्येय रहेको बताउनुभयो।

उहाँले संसदमा कानुन निर्माणको विषयले गति लिन नसकेको गुनासो सुनिएको भन्नुहुँदै आवश्यक कानुन बनाउन ढिलाइ गर्न नहुने धारणा राख्नुभयो।

 

 

 

 

पार्टी भत्काउने खुद्रे कुरा सरकारको ‘मेन्यु’मा छैन- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्राउने र भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा नरहेको स्पष्ट गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौं अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै काँग्रेस एमालेसहितको बलियो सरकारको प्राथमिकता त्यस्तो हुन नसक्ने स्पष्ट गर्नुएको हो।

सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उहाँले भन्नुुभयो, “विपक्षमा रहेका साथीले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ, ‘सरकार ढल्छ।ढल्नै लाग्यो।पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन।यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं ।’’

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे जानकारी गराउनुभयो।

संविधान संशोधनका विषय पहिचान गरिने

प्रधानमन्त्री ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताउनुुभएको छ । उहाँले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष, अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने स्पष्ट गर्नुभयो ।

“यसका लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरूसँग छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी संविधान संशोधन विषयको पहिचान गरिनेछ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “पहिचान गरिएका विषयमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दल र सरोकारवालासँग छलफल गरिनेछ । हामी स्पष्ट छौँ, पार्टीहरूका आ–आफ्नै धारणा र पोजिसन हुनसक्छन् । मिलेका कुरामा साझा धारणा बनाइनेछ, नमिलेका कुरामा बहस र छलफल गरिनेछ ।”

उहाँले संविधान संशोधन विधेयक ल्याउने काम सरकारको भएको र बहस÷छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाई त्यसैका आधारमा संशोधन प्रस्ताव तयार पार्ने बताउनुभयो ।

लगानी अभिवृद्धिका लागि अध्यादेश

प्रधानमन्त्री ओलीले सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्नेलगायत सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि संसद् नचलेको समयमा सरकारले विभिन्न अध्यादेश ल्याएको स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमि तथा वनसम्बन्धी तीन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐनगरी २९ वटा ऐनमा अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिनुभयो ।

उहाँले कानुनमा तोकिएको अवधिबाहेक सबै काम सात दिनभित्र सक्नैपर्ने कानुनी व्यवस्था गरिएको र सूचना प्रविधिमा आधारित नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाइएको बताउनुुभयो । “अब हाम्रा नेपाली कम्पनीलाई विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न, कारोबार गर्न र विदेशमा भएको आम्दानी नेपाल भित्र्याउनसक्ने वातावरण बनाइएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले उपभोक्ता हित संरक्षणसम्बन्धी बाझिएका कानुनमध्ये अप्रासङ्गिक कानुन खारेज गरिएको र प्रतिस्पर्धाका माध्यमबाट वस्तुको मूल्य निर्धारण हुने व्यवस्था गरी उद्यमी व्यवसायीलाई अनावश्यक रूपमा तर्साउने अवस्था हटाइएको र उपभोक्ता हित संरक्षणलाई अझै मजबुत बनाइएको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले उद्योग दर्ताका लागि निवेदन दिएको १५ दिनभित्र सरकारी अधिकारीले निर्णय दिनुपर्ने र सो अवधिमा निर्णय नदिए स्वतः उद्योग सञ्चालनको मान्यता दिने व्यवस्था गरिएको, उद्यमीले कम्पनी खोल्न पाउने तर टाट पल्टिँदासमेत बन्द गर्न अनावश्यक ‘झन्झट’मा फस्नुपर्ने अवस्था सदाका लागि अन्त्य गरिएको बताउनुभयो ।

उहाँले सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनले औँल्याएअनुरुप बचतकर्ताको रकम सुरक्षा गर्न आवश्यक राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्नेलगायत तत्काल गर्नुपर्ने कामका लागि विद्यमान सहकारी ऐनमा संशोधन गरिएको पनि जानकारी दिनुभयो ।

 

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यस्थापनको सर्वेक्षण गरी पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम (दोस्रो) का लागि विश्व बैंकको विकास नीति ऋण अन्तर्गत प्राप्त हुने एक सय मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसबाहेक बैठकले अन्य १५ वटा निर्णय सार्वजनिक गरेको छ ।

 

 

बिरामीको स्वास्थ्य परीक्षण सम्बन्धी जानकारी एकीकृत गर्ने निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । अहिले हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ रहेको छ ।

यो समस्या समाधानको लागि मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको नियन्त्रणमा रहने एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय गरेका हुन् । सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरूले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली २०८१ अन्तर्गत एक अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्ने छ । यसले बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यस्तै अर्को पटक सेवा लिन अस्पताल जाँदा पनि बिरामीले पहिलेको रिपोर्टहरू लैजान नपर्ने मन्त्रालयको भनाई छ ।