भारतीय सहयोगमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनको दार्चुला उद्घाटन
भारत सरकारको नेरु २.५३६ करोडको आर्थिक सहयोगमा निर्मित दार्चुला जिल्लाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको शनिवार उद्घाटन गरिएको छ । दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष श्री दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर श्री अविनाश कुमार सिंहले उक्त भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।
नेपाल – भारत विकास सहयोग अन्तर्गतको भारत सरकारको अनुदान स्वास्थ्य चौकी भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र दार्चुलाको नौगाड गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।
दार्चुलास्थित नौगाड गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । निर्माण गरिएको पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्न उपयोगी हुनेछ । स्वास्थ्य सेवाको प्रवाहमा सुधार गर्न मद्दत गरी स्वास्थ्य चौकी भवनले नेपालको सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउनेछ । यस परियोजनाबाट १५,००० भन्दा बढी मानिसहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।