उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रमा उद्यमशीलता विकास गर्नुपर्ने बताउनुभएको छ । ‘वन, वन्यजन्तु र जलाधार ः पेशागत ऐक्यबद्धता समृद्धिको आधार’ नाराका साथ नेपाल वन प्राविधिक सङ्घ (एनएफए) को स्थापनाको ५०औँ वार्षिक उत्सवको सन्दर्भमा आयोजित स्वर्ण महोत्सव समारोहमा उपराष्ट्रपति यादवले वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न वन उद्यमको विकासमा जोड दिनुभएको हो ।
उपराष्ट्रपति यादवले नेपालको वन संरक्षण र दिगो उपयोगमा वन प्रविधिको भूमिका रहेको उल्लेख गर्दै थप वन क्षेत्रको विकासका लागि अझै अगाडि बढ्नुपर्ने बताउनुभयो । “जलवायु परिवर्तनको प्रभाव, वनजन्य स्रोतकोे दिगो उपयोग, पारिस्थितिकिय प्रणालीको संरक्षणमा सङ्घको भूमिका छ । पछिल्ला वर्षमा वन केन्द्रित दिगो विकासका प्रयास भएका छन्,” उहाँले भन्नुभयो, “वन क्षेत्रको संरक्षण सम्वर्धन, र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी छ । नीतिगत सुधार, नविन प्रविधिको प्रयोग गर्दै नेपालको हरियो वन नेपालको धन बनाउन सकेमा मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने छ ।”
वन तथा वातावरण संरक्षणसम्बन्धि जनताको चेतना बढाइ वातावरणमा पर्न सक्ने क्षतिको असर न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ थियो ।“पछिल्लो समय तराई मधेशमा पानीको मुहान सुक्दै गइरहेका छन् । यसले गर्दा तराई मधेश मरुभूमि अवस्थामा पुग्न सक्छ । समस्या समाधानका लागि सङ्घले आवश्यक योजना बनाउन सरकारलाई सुझाव दिन जरुरी छ,” उहाँले भन्नुभयो ।
