Page 172 – Nepalboli

सरकारले ल्याएका पाँच वटै अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत

सरकारले ल्याएका पाँच वटा अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको साथपछि बिहीबार बसेको राष्ट्रिय सभा बैठकले अध्यादेश स्वीकृत गरेको हो ।

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।

यी अध्यादेशहरू बहुमतद्वारा स्वीकृत भएका हुन् । राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । अध्यादेश बहुमतबाट स्वीकृत गर्न उनीहरूको साथ सरकारलाई आवश्यक थियो । जसपा नेपालको असहमतिपछि भूमिसम्बन्धी अध्यादेश भने निर्णयार्थ पेस हुनबाट रोकिएको छ ।

यी पाँच वटा अध्यादेश बुधबारको प्रतिनिधि सभा बैठकबाट पनि पारित भएका थिए । सरकारले गत पुसमा अध्यादेशहरू ल्याउने निर्णय गरेको थियो ।

 

 

सुशासन कायम गर्न अध्यादेश ल्याइएको हो- मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले अत्यावश्यक परेका बेला अध्यादेश ल्याउन सक्ने भन्दै संवैधानिक व्यवस्थाअनुसार अध्यादेश आएको बताउनुभएको छ ।राष्ट्रियसभा बैठकमा आज सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । “अध्यादेशको विषयवस्तुमा छलफल गरौं, त्यसमा सरकारलाई सुझाव दिउँ, संवैधानिक व्यवस्थाअनुसार ल्याएको अध्यादेशमा विरोधका लागि विरोध मात्र गरिनु हुन्न ।”

देशमा सुशासन कायम गर्न, मुलुकको विकासका लागि सरकारले अध्यादेश ल्याएको प्रष्ट पार्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “हाम्रो देशको पुँजीगत खर्चको के अवस्था छ, हामी सबैलाई जानकारी छ, त्यो खर्च हुन नसकेर विकासको काम रोकिएको छ । अध्यादेशले त्यसलाई सम्बोधन गर्नेछ ।”

जनताको समस्या छिटो समाधान गर्न र सरकारको काम चुस्त बनाउनेगरी अध्यादेश आएको जानकारी दिनुहुँदै मन्त्री गुरुङले अध्यादेश पारितपछि केही ऐन परिमार्जन भई सरकारको काम प्रभावकारी हुने उहाँले विश्वास दिलाउनुभयो ।

मुलुकको कुशासन हटाएर विकासको माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न अध्यादेश ल्याइएको मन्त्री गुरुङले प्रष्ट पार्नुभयो । सरकारले संसद छलेर अध्यादेश ल्याएको होइन, छल्ने भए यहाँ किन छलफल हुन्थ्यो । संवैधानिक व्यवस्थाअनुसार ६० दिनमै संसदबाट अध्यादेश पारित गर्नुपर्छ, कसरी संसद् छल्न सकिन्छ रु उहाँले जिज्ञासा गर्नुभयो । विरोधका लागि विरोध गरेर देश नबन्ने भन्दै उहाँले देश बनाउने विषयमा संवेदनशील हुन उहाँले सांसदहरुलाई आग्रह गर्नुभयो ।

 

पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौती- लोकप्रिय छु भन्ने लागेको भए चुनावमा उत्रनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शासन गर्ने हो भने दलहरुसँग निर्वाचनमा प्रतिष्पर्धा गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्। महोत्तरीमा बिहीवार नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले पूर्वराजा शाहलाई चुनाव लड्न चुनौती दिएका हुन्। उनले नेपाली जनताले फालेको राजतन्त्र पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको आरोप लगाए। उनले मानिसहरु कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे।

उनले पूर्वराजालाई आफू जनतामाझ लोकप्रिय छु भन्ने लागेको भए निर्वाचनमा लड्न चुनौति दिए। छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर चुनाव लड्न पनि उनले पूर्वराजालाई चुनौती दिए।

‘अब हुँदाहुँदा हिजो कि अस्ति हो- उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई त्यो तन्त्र कताबाट उधिनेर, कहाँबाट उधिनेर ल्याउने होरु कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे। अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईँहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयोरु‚’ प्रधानमन्त्री ओलीले भने, ‘कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस्‚ संविधानअनुसार आउनुस्। पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस्‚ आउनुस् पार्टी खोल्नुस्। एउटा छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस् न। लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस्। तपाईँलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि१ आउनुस् चुनाव लड्नुसु, पार्टी खोल्नुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस्। मेरो पार्टी भन्नुस् न।’

अब नेपालमा जन्मिँदै राजा हुने प्रणाली स्वीकार्य नहुने उनले बताए। संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको उल्लेख गर्न पनि उनले बाँकी राखेनन्।

 

डढेलो नियन्त्रणका लागि पूर्व तयारी

बाँके । जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्व तयारी सुरु भएको छ । जिल्ला वन कार्यालयले डढेलो लाग्ने सम्भावित वन क्षेत्रमा नियमित रूपमा अनुगमन गर्ने, ‘फायरलाइन’ बनाउने, पातपतिङ्गर संकलन गरेर जलाउनेलगायत काम भइरहेका जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिए । “फायर एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्माण गरिरहेका छौँ, केही दिनमा यो तयार हुन्छ”, उनले भने ।

उनका अनुसार रु ३० लाखमा निर्माण भएको सो एम्बुलेन्समा एक पटकमा छ हजार लिटर पानी राख्ने क्षमता हुन्छ । एम्बुलेन्समार्फत डढेलो लागेका क्षेत्रमा एक सय फिटसम्म पानी पुर्याएर आगो नियन्त्रणमा लिन सकिने उनले जानकारी दिए ।

जिल्ला वन प्रमुख गुप्ताले डढेलो नियन्त्रणका लागि करारमा १५ अग्नि हेरालुलाई नियुक्त गरिएको जानकारी दिँदै १८ वटा सामुदायिक वनका समूहलाई परिचालन गरिएको बताए। उनले वनमा डढेलो लाग्न नदिन प्रचारप्रसारको काम भइरहेको उल्लेख गर्दै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको बताए ।

“समुदाय स्तरमा डढेलो लाग्न नदिने उपाय, लागेमा अपनाउनुपर्ने विधिलगायत विषयमा सचेतनामूलक जानकारी दिइएको छ । डढेलोका विषयमा सामुदायिक वनका समूहसँग आवश्यक छलफल र सहकार्य भइरहेको छ”, उनले भने।

वनमा डढेलो नियन्त्रणका लागि चक्ला वन क्षेत्रमा सात जना अग्नि नियन्त्रक नियुक्त भएको जनाउँदै गुप्ताले वरुण यन्त्र खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। गत वर्ष बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनका करिब पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।

 

 

 

ठेक्का लागेको ८ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल

काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्षेनी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।

तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३-०७४ मा ठेक्का लगाएको पुल निर्माण नहुँदा खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती ब्यहोर्नुपरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

हालसम्म पिल्लर उठाउने, नदीको बीचमा ‘पाइलिङ’ र काभ्रेपलाञ्चोकतर्फको पिल्लरको पाइलिङ सकिएको छ । निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत भौतिक काम सकिएको दावी गर्दै आएको छ ।

‘दुई घण्टामा खानीखोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँ पुल बनेमा निकै सजिलो हुने थियो,’ स्थानीयवासी रामप्रसाद तिमल्सिनाले भने ।

निर्माण व्यवसायी खड्ग गोपालीले सडक नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि पहिला सडक बनाउँदा केही ढिलाइ भएको बताए ।

बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले उक्त पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । महाभारत, खानिखोला र बागमती गाउँपालिकाको टोलीले बुधबार मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सो अवसरमा मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई उक्त पुललाई चाँडो सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाउन निर्देशन दिए । उनका अनुसार मन्त्री मास्कले आपूmले प्रदेशका रुग्ण योजना पहिचान गरी २९ वटालाई गति दिएको र तीन योजना सम्पन्न भएको बताए ।

 

 

सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय अनुसार यही फागुन २० गते भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय साउदी सरकारबाट बहुउद्देश्यीय पोलिटेक्निक इन्स्टिच्युट निर्माण गर्न प्राप्त १० लाख अमेरिकी डलर महोत्तरीको बलवा नगरपालिकामा उपयोग गरिने भएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठनको प्राविधिक सहयोगमा इन्स्टिच्युट स्थापनाको प्रक्रिया प्रारम्भ भएको हो ।

प्रतिष्ठान मातहतका विभिन्न व्यावसायिक प्रशिक्षण केन्द्रमार्फत श्रम बजार लक्षित सीपमूलक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण तथा प्रमाणीकरणलाई प्राथमिकतामा राखिएको जनाउँदै बुधबार जारी प्रेस विज्ञप्तिमा प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय संवाद र समन्वयलाई निरन्तर अघि बढाइएको उल्लेख छ ।

प्रशिक्षण केन्द्र श्रम बजारको मागअनुसार सीपयुक्त मानव संसाधन उत्पादन गर्दै आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर वृद्धि गर्न लाभदायक हुने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ ।

 

 

‘नेपालमा कागज उत्पादनको पुनर्जागरण र आत्मनिर्भरमा महत्त्वपूर्ण कदम’ –अध्यक्ष ढकाल

महोत्तरी । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको औद्योगिक यात्रामा नयाँ अध्याय थपेको बताएका छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रालिको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ढकालले सो उल्लेख गरेका हुन् ।

अध्यक्ष ढकालले मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि र दिगो औद्योगिक विकासको दिशामा यो महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन् । बैंक, बीमा, रेमिट्यान्स, पर्यटन पूर्वाधार, सूचना प्रविधि तथा जलविद्युत जस्ता अर्थतन्त्रका प्राथमिकताका क्षेत्रमा योगदान गर्दै आएको आइएमई ग्रुपले अब उत्पादनमूलक उद्योगमा प्रवेश गरेको र यो मुलुकको औद्योगिक पुनर्जागरणको संकेत भएको उनले बताए ।

नेपालमा उद्योगहरू बन्द हुने, लगानीकर्ताहरू पलायन हुने, र लाखौँ युवाहरू अरबका खाडी मुलुकहरूमा रोजगारका लागि जानु पर्ने बाध्यतालाई कम गर्न उत्पादनमूलक उद्योगको विकास अपरिहार्य भएको अध्यक्ष ढकालको भनाइ थियो। उनले नेपालमा उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने उद्देश्यले यो उद्योग स्थापना गरिएको जानकारी गराए ।

२०७८ साउनमा निर्माण सुरु भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजले हाल दैनिक ७५ मेट्रिक टन गुणस्तरीय कागज उत्पादन गरिरहेको छ। यस उद्योगले पहिलो चरणमा फोटोकपी पेपर, कापी–किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको छ, जसले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेछ। नेपालमा भृकुटी कागज कारखाना बन्द भएपछि औद्योगिक स्तरमा कागज उत्पादन थालिएको यो पहिलो ठुलो प्रयास भएको अध्यक्ष ढकालले बताए ।

उनका अनुसार, नेपालले वार्षिक रूपमा १२ अर्ब रुपैयाँ बराबरको कागज तथा कागजजन्य उत्पादन आयात गर्छ, जसमा भारत, चीन, जर्मनी, अमेरिका, थाइल्याण्ड, इन्डोनेसिया र बंगलादेशबाट आयात हुने कागज समावेश छ। नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको सञ्चालनले स्वदेशी कागज उत्पादन बढाउनुका साथै आयातमा निर्भरता घटाउने आशा गरिएको छ।

कागज उद्योगका लागि खर, पराल, काठजस्ता परम्परागत कच्चा पदार्थको सट्टा, यस उद्योगले फोहोर कागजलाई पुनः प्रशोधन गरेर कागज उत्पादन गर्ने नयाँ मोडल अपनाएको छ। घर, अफिस तथा विद्यालयहरूबाट संकलन गरिएका पुराना कागजलाई प्रशोधन गरी लेखन तथा छपाईका लागि उपयुक्त कागज उत्पादन गरिने छ। यसले वातावरण संरक्षणमा समेत महत्त्वपूर्ण योगदान दिनेछ।

उद्योगले प्रत्यक्ष रूपमा ३०० भन्दा बढी तथा अप्रत्यक्ष रूपमा हजारौँ व्यक्तिलाई रोजगारीको अवसर सिर्जना गरेको छ। जसमा इन्जिनियर, प्राविधिक, कारखाना श्रमिक, आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता तथा किसानहरू समेत समावेश छन्। उद्योगले ५० प्रतिशतभन्दा बढी रोजगारी स्थानीय समुदायका व्यक्तिहरूलाई प्रदान गरिरहेको छ, जसमा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षको रूपमा समेत भूमिका निर्वाह गर्दै आउनुभएका ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कानुनी सुधारहरूलाई सकारात्मक रूपमा लिँदै आएका छन्। उनले सरकारी नीति तथा कानुन निर्माण प्रक्रियामा निजी क्षेत्रको सुझावलाई आत्मसात् गर्न थालिएकोमा सन्तोष व्यक्त गरे ।

अध्यक्ष ढकालले पाथीभरा केबलकार परियोजनाबारे सतहमा आएका केही विषयहरूले नेपालमा लगानी र व्यावसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह गर्ने सम्भावना रहेको भन्दै सरोकारवाला निकायलाई गम्भीर हुन आग्रह गरे । ताप्लेजुङका स्थानीय बासिन्दा, स्थानीय सरकार तथा प्रदेश सरकारको आग्रहमा सुरु गरिएको केबलकार परियोजना धार्मिक तथा सांस्कृतिक मूल्य मान्यता, पर्यावरणीय सन्तुलन तथा स्थानीय जनताको सहमति अनुरूप अघि बढाइएको उनले स्पष्ट पारे ।

अन्त्यमा, अध्यक्ष ढकालले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज जस्ता उत्पादनमूलक उद्योगहरूको विकासले नेपालको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै सरकारी नीति तथा निजी क्षेत्रको सहकार्यले औद्योगिक विकासलाई गति दिने बताए ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, उद्योग तथा वाणिज्य मन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री, संघीय सांसद, प्रदेश सभा सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा उद्योग वाणिज्य महासंघका सदस्यहरूको उपस्थिति रहेको थियो।

 

कुलमान घिसिङलाई सरकारको स्पष्टीकरण- तपाईँको नियुक्ति रद्द किन नगर्ने ?

मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नयां स्पष्टीकरण सोधेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ३ दिने स्पष्टीकरण सोध्न ऊर्जा मन्त्रीलाई अख्तियारी दिएको थियो ।

४ बुँदे स्पष्टीकरणको पत्र आज बेलुकी घिसिङले आफ्नै कार्यालयमा बुझेका छन् । उनले आइतबार जवाफ पठाउने तयारी गरेका छन् ।

सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने योजनासहित स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरण पत्र
कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण,
प्रधान कार्यालय, दरवारमार्ग ।

विषय – सफाई पेस गर्नेबारे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र तपाईंबीच भएको कार्यसम्पादन सम्झौताको दफा १०.३ तथा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २३ को उपविनियम (१) बमोजिम देहायमा उल्लिखित विषयमा तीन दिनभित्र नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सफाइ पेस गर्न मौका दिने भनी नेपाल सरकार, मन्त्रिपरिषद्‌को मपवैसं ५८-०८१, मिति २०८१ – ११ – २१ को निर्णयानुसार आफ्नो सफाइ पेस गर्नु हुन जानकारी गराइन्छ ।

क। मन्त्रालय र तपाईँ बीच मिति २०७८- १०- ५ (सन २०२२ जनवरी १९) मा भएको कार्यसम्पादन सम्झौताको दफा ९-५ को समयसीमा भित्र आर्थिक वर्ष २०८०-०८१ को कार्यसम्पादन प्रतिवेदन पेस नगरी सम्झौताको शर्त उल्लङ्घन गर्नुभएको कारण सोही सम्झौताको दफा १०-३ को अवस्था उत्पन्न भएकोले सोही दफा १०-३ बमोजिम तपाईँसँगको सम्झौता अन्त्य गरी तपाईँको नियुक्ति रद्द किन नगर्ने ?

ख। नेपाल सन्धि ऐन, २०४७ को दफा २ को खण्ड (ख) एवं नेपाल सरकारबाट जारी भएको सन्धि सम्पन्न गर्ने निर्देशिका, २०७७ को दफा २ को खण्ड (छ) बमोजिमको अधिकार पत्र (पूर्णाधिकार) विना तपाईँले सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा भएको नेपाल इन्डो वावर एक्सचेञ्ज कमिटीको क्रमशः १५ औँ र १६ औँ बैठकमा सेन्ट्रल इलेक्ट्रिसिटी अथ्योरिटी सँग भारतीय आर्थिक वर्ष २०२४-२५ र २०२५-२६ का लागि द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकबाट तय भएको सहमति पत्रमा हस्ताक्षर गरी आफूलाई अधिकार नै नभएको कार्य गरेर आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेको हुँदा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) अवस्था भएकोले तपाईँलाई पदबाट किन नहटाउने ?

ग। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१।७।२५ को निर्णयबाट डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युतको बक्यौता रकम (त्ष्mभ या म्बथ मिटर समेतको आधारमा) महसुल निर्धारण तथा असुली सम्बन्धी विषयमा मन्त्रालय मार्फत दिएको निर्देशनको कार्यान्वयन नगरी अवज्ञा गरेकोले तपाईँलाई पदबाट किन नहटाउने ?

घ। नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम कार्यकारी निर्देशकले पालना गर्नु पर्ने आफ्नो काम र कर्तव्य पालना नगरेकोले तपाईँलाई पदबाट किन नहटाउने ?

बोधार्थ ः श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरवार, काठमाडौं ।
सुरेश आचार्य सचिव

 

 

 

आवश्यकताअनुसार संविधान परिमार्जन हुन्छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको पाँचौं राष्ट्रिय सम्मेलन एवम् मानव अधिकार एलायन्सको छैठौं राष्ट्रिय महाधिवेशनको समुद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मानव अधिकारको रक्षा उल्लङ्घन हुन नदिने विषयलाई सरकारले कानुन निर्माण गरेर सम्बोधन गर्ने भनाइ राख्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो संविधानमा ३१ बुँदामा फण्डामेन्टल राइट्स १६ नम्बरदेखि ४६ सम्म ३१ बुँदामा मौलिकहक लेखिएको छ । यसमा मानव अधिकारको छुट्टै बुँदा छ । जसले परिवर्तनका लागि लड्यो, संविधान निर्माण गर्‍यो त्यसले संविधानको प्रयोग गरिरहेको छ । नेकपा (एमाले) र नेपाली कांग्रेस परिवर्तन ल्याउने पनि यिनीहरु, संविधान कार्यान्वयन गर्ने यिनीहरु । त्यसकारण, संविधान कतै–कतै आवश्यकताअनुसार परिवर्तन, परिमार्जन गर्नुपर्छ । संशोधन गर्नुपर्छ भन्ने अठोट पनि गरेका छौं ।”

उहाँले विगतमा समतामूलक एवम् न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यले कार्य गरेका पाँच जना युवाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई इलाममा जेल सार्ने बहानामा सुखानी जङ्गलमा हत्या गरिएको स्मरण गराउनुभयो । उहाँले नेपाली जनताको आवाज र परिवर्तनको आकाङ्क्षा दबाउने दुष्चेस्टा विभिन्न समयमा घृणित रुपबाट भएको भनाइ राख्नुभयो ।

उहाँले २०३० साल मङ्सिर ११ गते आफूलाई पनि काठमाडौंको गोलघरमा थुनेर शारिरीक तथा मानसिक यातना दिइएकोले मानव अधिकारको अभावमा कष्टकर जीवन गुजार्नुपरेको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “मानव अधिकारको स्वरुप कस्तो थियो भने डेढ महिनासम्म खान नदिएर चुटेर चिसो सिमेन्टमा राखेको भोग्ने भुक्तभोगी त म यहाँ छदैछु । काठमाडौंको गोलघरजस्तो ठाउँमा २०३० साल मङ्सिर ११ गते मलाई हालिएको थियो । पर–पर पर्खालले पनि चिसो फ्याक्थ्यो । भुइँमा एकछिन बस्यो भने त्यहीबाट पानी पलाउँथ्यो । बहस गर्न कोही वकिल पाइँदैनथियो । मलाई कोही भेट्न आए भने जेलभित्रबाटै गिरफ्तार गरेर लगिन्थ्यो, मुद्दा लगाइन्थ्यो, बयान लिइन्थ्यो ।” यसकारण, मानव अधिकारको रक्षा पहिलो अभियान भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विश्वयुद्ध प्रारम्भ भएको समय यताका नेपालमा सहिद गंगालाल श्रेष्ठले १९९४ सालमा त्रिचन्द्र कलेजमा मानव अधिकार समिति गठन गरेको बताउनुभयो । जसलाई तत्कालीन राणा शासकले १९९७ सालमा गोली हानी हत्या गर्‍यो । उहाँले समृद्ध नेपाल सुखी नेपालीका लागि विस्तृत, बहुआयामिक एवम् यथार्थरुपमा मानव अधिकार स्थापित हुनुपर्ने प्रष्ट पार्नुभयो ।

 

 

 

श्रम र आप्रवासन समस्याबारे तीन मन्त्रालयको बैठक

वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याको समन्वयात्मक रूपमा समाधान गर्ने विषयमा बुधबार गृह, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयको अग्रसरतामा गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा र श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी र ती मन्त्रालयका सचिव सम्मिलित सो बैठकमा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो।

रोजगारी, अध्ययन तथा अन्य काम व्यवसायका सिलसिलामा नेपालीहरू कहाँ र कसरी पुगेका छन् भन्ने बारे परराष्ट्रलाई थाहा नहुने तर उनीहरूको उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने अवस्था रहेकाले यस विषयमा छलफल गर्न मन्त्री डा। राणाले सो संयुक्त बैठक आह्वान गर्नुभएको थियो।

बैठकमा गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई अब समयसापेक्ष बनाई संशोधन गर्नुपर्ने सुझाव दिँदै वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको समाधानका लागि परराष्ट्र मन्त्रालयले समन्वयात्मक भूमिकाको खोजी गरेकामा सराहना गर्नुभयो।

बैठकमा परराष्ट्र मन्त्री डा। राणाले भन्नुभयो, “नेपाल सरकारले प्रतिबन्ध लगाए पनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रूपमा नेपाली महिला अवैध बाटोबाट पुगेकै छन्। कुवेतमा मात्र करिब ४८ हजार नेपाली महिला पुगेको भन्ने सुनिएको छ। भोलि कोही समस्यमा परे भने उनीहरूको सुरक्षा तथा उद्धारको काम चुनौतीपूर्ण हुनसक्छ। त्यसैले सरकारले यस्तो प्रतिबन्ध हटाउने विषयमा पनि अब सोच्नुपर्छ।”

मन्त्री डा। राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका अव्यवहारिक नीति तथा कानुन हटाएर सहज बनाउनुपर्ने बताउँदै भन्नुभयो, “सरकारले कानुनी रूपमा रोके पनि अवैध बाटोबाट नेपालीहरू आखिर पुगिरहेकै छन् भने यस्ता प्रावधान अब किन राख्ने ?”

उहाँले भिजिट भिसामा विदेश जान दिने प्रक्रियालाई व्यवहारिक रूपमा अनुगमन गर्न, श्रम स्वीकृति सम्बन्धी व्यवस्थालाई सहजीकरण गर्न तथा अप्ठेरोमा परेका नेपाली डायस्पोराको उद्धारबारे एक स्वीकृत नियम बनाउन पनि सुझाव दिनुभयो।

श्रम तथा रोजगार मन्त्री भण्डारीले श्रम कूटनीति अहिलेको नेपालका लागि अति आवश्यक रहेको बताउँदै घरेलु कामदारको श्रम स्वीकृति सम्बन्धी नवीकरण गरेर व्यावहारिक बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले हाल नेपालीहरू विश्वका ११० देशमा रोजगारीका लागि पुगेको जानकारी दिँदै घरेलु कामदारहरूलाई मध्यपूर्वी देशमा जान रोकिए पनि अवैध बाटोबाट गइरहेकाले सो सम्बन्धी प्रावधानमा अब पुनर्विचार गर्नुपर्ने बताउनुभयो।

बैठकमा विविध कारणले संसारमा रहेका नेपालीलाई कुनै अप्ठेरो पर्यो र उद्धार गर्नुपर्ने अवस्था आयो भने त्यस्तो अवस्थामा परराष्ट्रमा रहेको सीमित स्रोत, साधन र जनशक्तिका कारण उद्धारको काम निकै कठिन हुँदै गएको विषयमा पनि छलफल भएको पराष्ट्रमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ।