आवश्यकताअनुसार संविधान परिमार्जन हुन्छ- प्रधानमन्त्री ओली – Nepalboli

आवश्यकताअनुसार संविधान परिमार्जन हुन्छ- प्रधानमन्त्री ओली

   २०८१ फाल्गुन २१, बुधबार  

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको पाँचौं राष्ट्रिय सम्मेलन एवम् मानव अधिकार एलायन्सको छैठौं राष्ट्रिय महाधिवेशनको समुद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मानव अधिकारको रक्षा उल्लङ्घन हुन नदिने विषयलाई सरकारले कानुन निर्माण गरेर सम्बोधन गर्ने भनाइ राख्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो संविधानमा ३१ बुँदामा फण्डामेन्टल राइट्स १६ नम्बरदेखि ४६ सम्म ३१ बुँदामा मौलिकहक लेखिएको छ । यसमा मानव अधिकारको छुट्टै बुँदा छ । जसले परिवर्तनका लागि लड्यो, संविधान निर्माण गर्‍यो त्यसले संविधानको प्रयोग गरिरहेको छ । नेकपा (एमाले) र नेपाली कांग्रेस परिवर्तन ल्याउने पनि यिनीहरु, संविधान कार्यान्वयन गर्ने यिनीहरु । त्यसकारण, संविधान कतै–कतै आवश्यकताअनुसार परिवर्तन, परिमार्जन गर्नुपर्छ । संशोधन गर्नुपर्छ भन्ने अठोट पनि गरेका छौं ।”

उहाँले विगतमा समतामूलक एवम् न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यले कार्य गरेका पाँच जना युवाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई इलाममा जेल सार्ने बहानामा सुखानी जङ्गलमा हत्या गरिएको स्मरण गराउनुभयो । उहाँले नेपाली जनताको आवाज र परिवर्तनको आकाङ्क्षा दबाउने दुष्चेस्टा विभिन्न समयमा घृणित रुपबाट भएको भनाइ राख्नुभयो ।

उहाँले २०३० साल मङ्सिर ११ गते आफूलाई पनि काठमाडौंको गोलघरमा थुनेर शारिरीक तथा मानसिक यातना दिइएकोले मानव अधिकारको अभावमा कष्टकर जीवन गुजार्नुपरेको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “मानव अधिकारको स्वरुप कस्तो थियो भने डेढ महिनासम्म खान नदिएर चुटेर चिसो सिमेन्टमा राखेको भोग्ने भुक्तभोगी त म यहाँ छदैछु । काठमाडौंको गोलघरजस्तो ठाउँमा २०३० साल मङ्सिर ११ गते मलाई हालिएको थियो । पर–पर पर्खालले पनि चिसो फ्याक्थ्यो । भुइँमा एकछिन बस्यो भने त्यहीबाट पानी पलाउँथ्यो । बहस गर्न कोही वकिल पाइँदैनथियो । मलाई कोही भेट्न आए भने जेलभित्रबाटै गिरफ्तार गरेर लगिन्थ्यो, मुद्दा लगाइन्थ्यो, बयान लिइन्थ्यो ।” यसकारण, मानव अधिकारको रक्षा पहिलो अभियान भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विश्वयुद्ध प्रारम्भ भएको समय यताका नेपालमा सहिद गंगालाल श्रेष्ठले १९९४ सालमा त्रिचन्द्र कलेजमा मानव अधिकार समिति गठन गरेको बताउनुभयो । जसलाई तत्कालीन राणा शासकले १९९७ सालमा गोली हानी हत्या गर्‍यो । उहाँले समृद्ध नेपाल सुखी नेपालीका लागि विस्तृत, बहुआयामिक एवम् यथार्थरुपमा मानव अधिकार स्थापित हुनुपर्ने प्रष्ट पार्नुभयो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै