Page 162 – Nepalboli

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री जयशंकरबिच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहनुभएकी मन्त्री डा। राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच आज सो भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएका छ।

उक्त भेटका क्रममा उहाँहरुबिच नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशका साझा चासो र आपसी हितकासाथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको छ। भेटका क्रममा मन्त्री डा राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताउनुभएको छ।

नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशका बिचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिका बारेमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो।

 

 

 

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं– नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय पनि गर्छौं,’ महतले भने ।

अर्थ समितिमा भन्सार विधेयकमाथि छलफल

प्रतिनिधिसभा, अर्थ समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि आज छलफल भएको छ । विधेयकमाथिको दफावार छलफलका क्रममा समितिले भन्सारका कर्मचारीलाई विभागीय कारबाहीको विषय हटाएको छ ।

भन्सार विभाग र मातहतका कार्यालयमा खटिने कर्मचारीलाई कारबाहीको विषय निजामती सेवा ऐन र भष्ट्राचार निवारण ऐनलगायतका कानुनले समेट्ने भएकाले भन्सार विधेयकमा यो विषय राख्न आवश्यक नरहेको विषयमा छलफल भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो ।

समितिले विधेयकको दफा ९०, ९१ र ९२ हटाएको छ । यी दफामा कर्मचारीलाई विभागीय कारबाही गर्ने र हानीनोक्सानी भएको रकम भराइ दिनसक्ने व्यवस्था राखिएको थियो । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानमध्ये सामान्य प्रावधान सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ । यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको जनाइएको छ ।

चालु आर्थिक वर्षको खर्च व्यवस्थापनमा सरकारलाई सकस

अर्को बर्षको वजेट निर्माण सुुरु गरेको सरकारलाई चालु आर्थिक बर्षकै खर्च व्यवस्थापनमा सकस परेको छ । खासगरि ३१ प्रतिशतको राजस्व बढ्ने लक्ष्य राखेर अन्धाधुन्ध योजनामा बजेट विनियोजन भएपछि अर्थ मन्त्रालयलाई हम्मेहम्मे परेको छ। राजस्वको उच्च वृद्धिदरको लक्ष्य देखाएर, चालु तथा अनिवार्य दायित्वमा न्यून विनियोजन गर्दै राजनीतिक रोटी सेक्नका लागि हजारौँ टुक्रे योजना सिर्जना गर्ने प्रवृत्तिले बजेटरी अनुशासन नै खलबलिएको छ।

सामान्यत अनुमानमा थोरै तलमाथि हुने भएपनि यो वर्ष एकातिर स्रोतमा अस्वभाविक अनुमान र अनिवार्य दायत्वमा न्यून विनियोजनका कारणले गर्दा अर्थलाई अहिले थप निकासा तथा स्रोत सहमति दिन सकस भइरहेको छ। ‘यताबाट तान्दा उता मिल्दैन, उता मिलाउँदा यता मिल्दैन। आगामी वर्षको बजेट निर्माणभन्दा यही वर्षको बजेट मिलाउन गाह्रो भइरहेको छ’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, बजेटमा विनियोजन भइसकेको आयोजना तर अहिलेसम्म कार्यान्वयन भएकालाई रकम नदिने भनिएपनि राजननीतिक दबाब आउने गरेको छ।’

कुनै पनि ठेगान नभएका योजनामा समेत बजेट विनियोजन गरिएकोले अहिलेसम्म कार्यान्वयनको सुरसार नभएका योजनाको बजेट रोक्का गर्ने अर्थले यसअघि नै निर्णय गरेको थियो। तर यस्ता आयोजनाको संख्या धेरै भएकाले सांसदहरूले दिनप्रतिदिन संसदमा प्रश्न उठाउँदै आएका छन्। संसदमा आवाज उठाउनेमात्र होइन मन्त्रालयमै आएर दबाब दिने गरेका छन्। विशेषगरी बजेट महाशाखाका कर्मचारीहरू पछिल्लो समय तर्किएर हिँड्ने गरेका छन्।

‘आगामी वर्षको बजेट निर्माणमा व्यस्तता देखाएर भाग्नुपर्ने अवस्था आएको छ’ एक अधिकारीले भने । चालु आर्थिक वर्षको बजेट ल्याउँदा माओवादी नेता वर्षमान पुनले ल्याएको बजेटमा ३१ प्रतिशतको राजस्व बढ्ने अनुमान गर्दै हजारौँ योजनामा बजेट विनियोजन गरिएको थियो। यही वर्षमात्र ११ हजार योजना थपिएको अर्थमन्त्री विष्णु पौडेलले आइतबारमात्र संसदमा सार्वजनिक गरेका थिए ।

एकातिर ठूलो वृद्धिदरको राजस्व राख्ने र योजना जथाभावी राख्ने तर वास्तविकतामा राजस्व वृद्धिदर अहिलेसम्म १२ प्रतिशतमा सीमित भएको छ। गत वर्षको फागुनसम्मको तुलनामा यो वर्षको फागुनसम्म राजस्व १२ प्रतिशतले बढेको छ। अनुमान र वास्तविकतामा यति धेरै खाडल परेकोमात्र होइन अनुदानको रकम पनि घट्दै जाने र ऋणको परिचालन अपेक्षित नहुने भएकाले आन्तरिक ऋणको सीमित सीमाभित्र यति धेरै दायित्व बहन कठिन हुने अर्थको निष्कर्ष छ।

अर्थमन्त्री पौडेलले संसदमा बोल्दै सरकार विगतदेखिको बिचलनकारी विनियोनमाथि निर्मम हुनुपर्ने अवस्था आएको बताइसकेका छन् । वास्तविकतामा ३१ प्रतिशत वृद्धिदरको राजस्व पछ्याएको सरकार आठ महिनासम्म १२ प्रतिशतमै सीमित भएको छ। आयातमा सीमान्त सुधार भएपनि राजस्वमा उल्लेख्य सुधार हुन सकेको छैन। चोरी तस्करीका कारणले भन्सारको राजस्वमा अझै सुधार देखिएको छैन ।

आन्तरिकतर्फ आयकरमा अझै सुधार देखिएको छैन। अनुमानित आयको ४० प्रतिशत आयकर पुस मसान्तमै बुझाउनुपर्ने व्यवस्था हुन्छ। यसअनुसार व्यवसायीमा विश्वास बढेको छैन। मूल्यअभिवृद्धि कर र अन्तस्शुल्कमा भने सीमान्त सुधार देखिएको छ।

 

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिनुभएको हो । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा। वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गर्नुभएको थियो ।

शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाउन शुभकामना दिनुभयो।

नवनियुक्त उपकुलपति प्रा डा वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यबाहक उपकुलपति एवं रजिष्ट्रार हुनुहुन्थ्यो।

 

ट्रकको क्याबिनमा लुकाइएको थियो २५ करोड

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार अवैध विदेशी मुद्रासहित ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई सार्वजनिक गरेको छ। प्रहरीको टोलीले चैत ४ गते राति ११ बजे काठमाडौँको टोखा नगरपालिका वडा नं २ झोरमा ना ७ ख १६५२ को मालबहाक ट्रक नियन्त्रणमा लिएको थियो। प्रहरीको अनुसन्धानमा ट्रकको ‘वोनट’ ड्राइभर बस्ने कोठाको (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाइ लुकाइ छिपाइ सो रकम ल्याइएको खुलेको छ।

अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विभिन्न व्यक्तिले ठूलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्रा राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सो ट्रक नियन्त्रणमा लिएको हो।

अमेरिकी डलर एक सय दरका नोट जम्मा थान तीन हजार एक सय १९, अमेरिकी डलर ५० दरका नोट जम्मा थान एक सय ७९, युरो पाँच सय दरका थान ११, युरो दुई सय दरका थान चार सय ८०, युरो सय दरका थान चार हजार एक ४८, युरो ५० दरका थान १७ हजार एक सय ७७ जसको नेपाली रुपियाँ २५ करोड १९ लाख २४ हजार ९५० रुपियाँ हुने प्रहरीले जनाएको छ।

पक्राउ परेका लामा स्थायी घर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं। १ भइ हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं २ मा बस्दै आएको खुलेको छ। लामालाई विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।

काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आइतबार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहेपनि डढेलो नियन्त्रण बाहिर रहेको हो । गोरखनाथ वनको डढेलो फैलँदै आज बिहान चिसापानी सामुदायिक वनसम्म पुगेको छ ।

उक्त गाउँपालिका ३ र ५ नं वडाको सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको जनाइएको छ । सोमबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलगायत वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको सक्रियतामा डढेलो नियन्त्रणको प्रयास भएपनि नियन्त्रणमा आउन सकेको छैन । आज बिहानैदेखि बेथानचोक प्रहरी टोली स्थानीयसँग मिलेर डढेलो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सोमबार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हुर्का भञ्ज्याङको मानवबस्तीलाई डढेलोबाट जोगाउन एन्टिफायरिङ गराएर फर्किएको थियो । एन्टी फायरिङ गरिएपनि बस्ती पूर्णरूपमा सुरक्षित नरहेको बेथानचोक–३ का वडाध्यक्ष कुवेर ढकालले बताए । हावाहुरीका कारण पूर्ण नियन्त्रणमा लिनसक्ने अवस्थ नरहेकोले सचेत र सावधानी अपनाएर बस्न स्थानीयबासीलाई आग्रह गरिएको ढकालले बताए ।

डढलो लागेको ठाउँमा निकै सुक्खा र पानीको अभाव रहेकाले आगो निभाउन कठिन भएको ढकालको भनाइ छ । उनकाअनुसार करिब १ सय ९३ हेक्टर क्षेत्रफल रहेको गोरखानाथ सामुदायिक वनको करिब ७ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको अनुमान गरिएको छ । बोल्देबाट फैलिएको डढेलो अहिले हर्कभञ्ज्याङसम्म आइपुगेको बताइएको छ ।

हावाहुरीका कारण डढेलो फैलिँदै थलीडाँडा, च्याल्टी, नारायणस्थानसम्म पुग्ने जोखिम देखिएको छ । वनमा डढेलो फैैलिरहेकाले नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयका वन अधिकृत चिनीकाजी श्रेष्ठले बताए ।

वडाध्यक्ष ढकालका अनुसार थलीडाँडा र हर्कभञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको छ भने डढेलो देब्रेतर्फ फैलिँदै गयो भने मानवबस्ती जोखिममा पर्नसक्छ । डढेलोका कारण वरपरको क्षेत्रमा धुवाँ–तुवाँलोले वातावरण प्रदुषित हुँदै गएको स्थानीयबासीको भनाइ छ ।

 

ललितपुरको ‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै

ललितपुरको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो । उपभोक्ता समितिका अध्यक्ष करुणारत्न बज्राचार्यका अनुसार ललितपुरमा १६ वटा महाविहार छन् । रत्नाकर महाविहार ४०० वर्षपहिले राजा सिद्धिनरसिंह मल्लले पाटनदरबार क्षेत्रको कृष्णमन्दिरबाट ललितपुर महानगरपालिका–१६ मा सारेको इतिहास छ ।

उनी भन्छन्, ‘रत्नाकर महाविहार ऐतिहासिक सम्पदा हो । विसं २०३८ सालअघिको तस्बिरअनुसार महाविहारमा जस्तापाताको छाना देखिन्छ । त्यसयता झिङ्गिटीको छाना लगाइएको थियो । झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा छिट्टै पानी चुहिने र बाँदरले सजिलै क्षति गर्ने भएकाले हाल तामाको छाना लगाउँदैछौँ।’

हाल कुल लागत रु २८ लाख ९८ हजार ८७९ मा आगामी वैशाखमा काम सक्नेगरी छाना फेर्ने काम सुरु भएको छ । जसअनुसार बाग्मती प्रदेश, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, पर्यटन विकास आयोजनाअन्तर्गत रु २५ लाख ९६ हजार १५१ बजेट छभने सम्पदा संरक्षणका लागि रत्नाकर महाविहार उपभोक्ता समितिले रु तीन लाख दुई हजार ७२७ व्यहोर्ने भएको छ ।

ललितपुरको अधिकांश ऐतिहासिक सम्पदामा हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा डोरीले क्षति पुयाउने गरेको र झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा पानी चुहिने समस्या झेल्नु परेको रत्नाकर महाविहार संरक्षण समितिका सचिव किरण बज्राचार्यले बताए ।

नेवारी संस्कारअनुसार गुठीअन्तर्गतका विभिन्न कार्यक्रम महाविहारमा आयोजना गरिन्छ । नेवारी समुदायको परम्पराअनुसार महाविहारमा भेटघाट र भोज हुनेगर्छ।

स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ- सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । कांग्रेस सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उहाँले सङ्घीयता कार्यान्वयन गर्दा जनताप्रति उत्तरदायी भई हरेक सुख दुःखमा साथ दिने कुरामा जिम्मेवार र जवाफदेही हुनुपर्छ भन्नुभयो ।

“सङ्घीयतामा सबै तहलाई जिम्मेवार बनाउने कुरामा ध्यान दिँदै स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ । हिमाल, पहाड, तराई सबै जातजातिको प्रतिनिधित्व र समन्वय मिलाउने र देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर अधिकार दिने कुरामा सबै गम्भीर बनौँ । देशको एकतालाई कुनै हालतमा खल्बलिन दिनुहुँदैन”, सभापति देउवाले भन्नुभयो ।

उहाँले पार्टीलाई चलायमान बनाउन विभागहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । “पार्टीका सबै विभागहरूले राम्रो काम गरिरहेका छन्, यसले पार्टीलाई चलायमान बनाउन र साथीहरूमा उत्साह आएको छ, यो राम्रो हो”, उहाँले भन्नुभयो,“अहिलेको संवैधानिक व्यवस्थाअनुसार कुनै पनि पार्टीको बहुमत आउन कठिन छ । यो गठबन्धन सबै पार्टीको बाध्यता बनेको छ तर अब बहुमत ल्याउने गरी हामीले क्रियाशील हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।

कांग्रेस उपसभापति धनराज गुरुङले जनतामाथि कर लगाएर मात्रै सङ्घीयता बलियो नहुने भन्दै जनतालाई उत्पादनमा जोड्न आवश्यक रहेको धारणा राख्नुभयो । “उत्पादन वृद्धि गर्न सके मात्रै राज्य बलियो हुन्छ, पुँजी निर्माणलाई प्राथमिकता दिनुपर्छ । सङ्घीयताको पुनःसंरचना, संसद्को सङ्ख्या घटाउने, उत्पादनलाई बढाउनेतिर ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उपसभापति गुरुङले उत्पादन र जडिबुटीको बजारीकरणका माध्यमबाट राजस्व वृद्धि र देशलाई समृद्ध बनाउन सकिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । “वितरणमुखी बजेटका कारण विकास निर्माणमा समस्या छ । तलदेखि माथिसम्म वितरणमुखी बजेट विनियोजन गर्ने अनि सङ्घीयता कमजोर भयो भन्ने कुरा ठीक हैन, हामी सुधार नहुने हो भने सङ्घीयता बलियो हुन सक्दैन”, उहाँल भन्नुभयो,“हामीले संविधानमा पुनरावलोकन गर्नु आवश्यक छ । हामीले आफ्नै खुट्टामा उभिएर काम गर्ने सोच बनाउनुपर्छ ।”

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले सङ्घीयता कार्यान्वयन गर्दा देखिएका राम्रा पक्षको पहिचान गर्दै कार्यान्वयन हुन नसकेका विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्घ र प्रदेशका सांसदको सङ्ख्या घटाउने र कर्मचारी संयन्त्रलाई प्रभावकारी बनाउने, र तीनै तहका सरकारबीच प्रभावकारी समन्वयको माध्यमद्वारा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भूगोलको आवश्यकतामा आधारित रहेर सङ्घीयता कार्यान्वयन हुन नसकेको भन्दै सङ्घीयतालाई बलियो बनाउन कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्व उपसभापति गोपालमान श्रेष्ठले सङ्घीयताअनुसार अभ्यास लागू भएको सात वर्ष बितिसक्दासमेत प्रदेशलाई अधिकार सम्पन्न बनाउन नसक्दा समस्या उत्पन्न भइरहेको बताउनुभयो । त्यसका लागि अब संवैधानिक र कानुनी अड्चनलाई सुल्झाउन ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सोहीअनुसार प्रभावकारी संरचना र सञ्चालन आवश्यक रहेको बताउनुभयो । उहाँले केन्द्रीकृत मानसिकताले सङ्घीयता कार्यान्वयन हुन नसक्ने भन्दै कानुनमा संशोधन गरेर संविधानको मर्मअनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी, पार्टी प्रवक्ता डा प्रकाशशरण महत, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, प्रा डा बुद्धबहादुर थापा, सङ्घीय मामिला विभागका प्रमुख चन्द्र केसी, विज्ञ सदस्य डा रुद्र शर्मालगायतले विविध विषयमा सम्बोधन गर्नुभएको थियो ।

 

 

एमाले सचिवालय बैठक- लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विभिन्न प्रस्ताव पारित गर्दै नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

“संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न हामी प्रतिबद्ध छौं,” बैठकपछि उहाँले भन्नुभयो । बैठकमा केही समय यता लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

“लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षको परिणति हो । विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरीत राजतन्त्र पटक पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत भएपछि राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो”, पारित प्रस्तावमा भनिएको छ, “जनताको फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ ।”

पार्टीले लोकतन्त्र स्थापनापछिको छोटो समयमै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल र भूकम्पलगायत प्राकृतिक विपत्तिका बिचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तर्राष्ट्रिय सम्बन्धलगायत क्षेत्रमा हासिल गरेको उपलब्धि महत्त्वपूर्ण भएको ठहर गरेको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभएको थियो । मुलुकको समसामयिक परिस्थिति र विकसित राजनीतिक घटनाक्रमका बारेमा सचिवालयका सदस्यहरूले बैठकमा आआफ्नो राय प्रस्तुत गर्नुभएको थियो । बैठकले लुम्बिनी प्रदेश कमिटीले थप गरेका २८ जनाको नाम अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।