Page 158 – Nepalboli

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेपसहित ४ जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेप (विद्युतीय) चुरोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीको दुधौली नगरपालिका–८ का २६ वर्षीय सलिना बर्देवा, पर्वतको मोदी गाउँपालिका–८ का २४ वर्षीय सौगात क्षेत्री र मोरङको लेटाङ गाउँपालिका–५ का ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । शनिबार फ्लाई दुबईको उडानबाट उनीहरु काठमाडौं आएका थिए । उनीहरुलाई प्रहरीले संकास्पद अवस्थामा विमानस्थलको ट्याक्सी पार्किङ एरियाबाट पक्राउ गरेको हो ।

उनीहरुले भन्सार छलीका भेप ल्याएको प्रहरीको भनाइ छ । भेपसहित उनीहरुलाई विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।

 

सुख्खा बन्दरगाह भन्सारद्वारा ३२ अर्बभन्दा बढी राजस्व असुली

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को साउन भदौ असोज, कात्तिक, मङ्सिर, पुस, माघ र फागुन महिना गरी आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङकका आधारमा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रुपियाँ, भदौमा चार अर्ब ६४ करोड ३० लाख २७ हजार रुपियाँ र असोजमा चार अर्ब ३६ करोड ४५ लाख २५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

कात्तिकमा तीन अर्ब ७९ करोड २९ लाख ३६ हजार रुपियाँ, मङ्सिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख २९ हजार रुपियाँ र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख ९१ हजार रुपियाँ त्यस्तै गरी माघ चार अर्ब २९ करोड ९२ लाख ३५ हजार रुपियाँ महिनामा राजस्व सङ्कलन गरेको थियो भने फागुन महिनामा चार अर्ब ६८ करोड ६३ लाख २५ हजार रुपियाँ महिनामा राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले दिएको ३८ अर्ब ७७ करोड ५० लाख ५९ हजार रुपियाँ राजस्व संकलनको लक्ष्यमा कार्यालयले ५ अर्ब ७ करोड ७९ लाख २६ हजार रुपियाँ कम राजस्व असुली गरी ३२ अर्ब ३२ करोड ८८ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएको हो ।

गत आर्थिक वर्ष २०८०-८१ को पहिलो ८ महिनामा कार्यालयले ३२ अर्ब १६ करोड २६ लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष २०८०-८१ को पहिलो आठ महिनामा संकलित राजश्वभन्दा १६ करोड ६१ लाख ८२ हजार रुपियाँ बढी राजस्व यस चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो आठ महिनामा सङ्कलन भएको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले ८ महिनाको अवधिमा कुल वार्षिक लक्ष्य ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपियाँको ५३ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो ।

 

 

 

सरकारले देशलाई आर्थिक भार थपिने कुनै काम गर्दैन- मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने बताउनु भएको छ। नेपाली कांग्रेस बाँकेले नेपालगन्जमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी विधेयक अघि नबढ्ने बताउनुभएको हो । मुलुकलाई आर्थिक भार थपिने गरी सरकारले कुनै काम नगर्ने जनाउँदै उहाँले मितव्ययिताका साथ काम गरिरहेको प्रष्ट पार्नुभयो। मन्त्री पौडेलले सांसदको संख्या धेरै बढी भएकाले संविधान संशोधन गर्दा संख्या घटाउने गरी काम गर्न आफूले पनि प्रस्ताव गरेको प्रसङ्ग निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी रहने शासकीय स्वरूपले भने निरंकुशता र स्वेच्छाचारिता बढाउने दाबी गर्नुभयो।

उहाँले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सरकारले नवीन ढंगले काम गर्ने कोशिस गरिरहेको बताउनुभयो।कुनै पनि नेपालीले उपचार नपाएर ज्यान गुमाउन नपरोस भन्ने सोच र योजनाका साथ सरकारले देशको स्वास्थ्य सेवामा सुधार गरिरहेको बताउनुभयो।

विभिन्न प्रदेशमा रहेका संघीय अस्पतालको क्षमता बढाउनुका साथै दक्ष जनशक्ति पनि थप गर्ने कार्यमा मन्त्रालयले काम अगाडि बढाएको मन्त्री पौडेलले बताउनुभयो।

 

 

 

 

कोशी प्रदेशमा आयोजना बैंकमा योजना जम्मा गरिँदै

कोशी प्रदेश आयोजना बैंकमा योजना जम्मा गर्न सुरु गरिएको छ । प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयको सहकार्यमा आयोजना बैंकमा जम्मा गर्न सुरु गरिएको हो । आज उदयपुरको संघीय निर्वाचन क्षेत्र नं २ मा पर्ने स्थानीय तहका पदाधिकारी, सरोकार भएकाहरूलाई आयोजना बैंकबारे अभिमुखीकरण तथा वार्षिक योजना तर्जुमा गोष्ठीमा यस्तो जानकारी दिइएको हो । आयोगका सदस्य किशोर थुलुंग राईले पहिलो पटक आयोजना बैंकमार्फत आयोजना संकलन सुरु गरिएको बताए । “बैंकमा जम्मा भएका योजनाको आवश्यकता र औचित्य हेरेर प्राथमिकीकरण गर्दै कार्यान्वयन गरिनेछ । त्यसैका लागि आयोजना बैंक बनाइएको हो”, उनले भने ।

यहाँको निर्वाचन क्षेत्र नं १ मा यसअघि नै आयोजना जम्मा गरिसकिएको छ । हाल प्रदेशका अन्य क्षेत्रमा पनि धमाधम आयोजना संकलन भइरहेका आयोगका उपसचिव कृष्णकुमार न्यौपानेले जानकारी दिए । हाल जम्मा गरिएका योजना आगामी आर्थिक वर्ष २०८२-८३ देखि २०८६ सम्ममा प्राथमिकताका आधारमा कार्यान्वयनमा लगिने बताए ।

न्यौपानेका अनुसार आयोजना बैंकमा जम्मा हुने योजना प्रदेशले सञ्चालन गर्ने र त्यस्ता आयोजना रु। पचास लाखमाथिका हुनुपर्नेछ । आगामी आर्थिक वर्षमा यस बैंकमा भएका आयोजनालाई मात्रै प्राथमिकीकरणमा राखेर योजना सञ्चालन हुनेछन् ।

कार्यक्रममा प्रदेशका पूर्वकृषि, सहकारी तथा उद्योगमन्त्री रामकुमार खत्रीले अल्पसङ्ख्यक र विगतमा पछि पारिएका समुदायलाई ध्यानमा राखेर आयोजना छनोट गरिनुपर्ने बताए । तीनै तहको सहकार्य र समन्वयमा आयोजना सञ्चालन गर्न सके मुलुकको विकासमा योगदान हुने उनको भनाइ थियो । प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जा मगरले योजना लिपिबद्ध गर्दै कार्यान्वयनमा लैजानु महत्त्वपूर्ण काम भएको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी र सरोकार भएकाहरूको सामूहिक छलफलबाट एक हजारभन्दा बढी आयोजना जम्मा गरिएका थिए ।

 

 

 

 

 

 

 

 

 

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ। नवलपरासीको गैँडाकोटमा आज आयोजित कार्यक्रममा उहाँले गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार गलत भएको बताउनुभयो। “मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्। बेराजगारी, आर्थिक शिक्षा, विकास पूर्वाधारमा समस्या छन्। सोचेअनुसार आर्थिक वृद्धि गर्न सकिएको छैन”, समस्या गृहमन्त्री लेखकले भन्नुभयो, “तर, नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइन। विभिन्न चुनौती र समस्याका बाबजुत धेरै काम भएका छन्। धेरै काम गर्ने प्रयत्न भइरहेको छ।”

उहाँले नेपालमा रहेका अपार सम्भावनाहरूलाई पहिचान गरी तिनको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लागेको छ। “समस्यालाई मात्रै हेरेर बस्ने हो भने समस्याको चाङले च्यापिन्छौँ तर सम्भावना हेरेर अगाडि बढ्यौँ भने विकासको गतिमा अगाडि बढ्न सक्छौँ, यसमा सबैको साझा प्रयास आवश्यक छ”, मन्त्री लेखकको भनाइ थियो।

उहाँले गणतन्त्रले केही दिएन, लोकतन्त्रले केही भएन भनेर निरङ्कुशताको कुरा गर्नु गलत भएको भन्दै यस्ता गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो। “लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था र गणतन्त्रको विकल्प राजतन्त्र वा अरु केही हुनसक्दैन। गणतन्त्रको स्थापनापछि धेरै उपलब्धि भएका छन्, यसको गति बढाउन सबैबाट इमान्दार प्रयत्न आवश्यक छ। यसमा नागरिक, दल र सरकार मिलेर अगाडि बढ्नुको विकल्प छैन”, मन्त्री लेखकको भनाइ थियो, “म क्याम्पस पढ्ने बेला स्नातक तहको अध्ययनका लागि काठमाडौँ वा भारत जानुपर्ने बाध्यता थियो। स्वास्थ्य समस्या त्यस्तै थियो, हाल गाउँगाउँमा उच्च शिक्षा र स्वास्थ्य सुविधा पुगेको छ। देशभित्रै सम्भावना खोज्नका लागि सरकारले वातावरण बनाउँदैछ। अब हाम्रो सम्पूर्ण ध्यान रोजगारी सिर्जनामा केन्द्रीत गर्नुपर्ने बेला भएको छ।”

उहाँले देशभित्रै रोजगारी मिल्ने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुभयो। “सबैको साथ हुनुपर्छ, देशभित्रै सम्भावनाको सुनिश्चितता गर्छौँ। गास, बासको व्यवस्था सुनिश्चितता गर्छौँ”, उहाँले भन्नुभयो, “अहिले सामान्य श्रमिकको रूपमा जनशक्ति पठाइरहेको नेपालले आगामी १० वर्षभित्र विश्वस्तरकै दक्षजनशक्ति निर्माण गरी स्वदेश र विदेशका धेरै देशमा पठाउन सक्छ। देशभित्र स्थापना भएका प्राविधिक धारका विश्वविद्यालयले मुलुकका लागि आवश्यक पर्ने दक्षजनशक्ति निर्माण गर्ने काममा लागिरहेका छन्।”

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले प्राविधिक शिक्षा घरआँगनमा पुर्‍याउने लक्ष्यसहित क्याम्पसलाई सम्बन्धन दिइरहेको बताउनुभयो। उहाँले हाल विश्वविद्यालयसँग एउटा केन्द्रीय क्याम्पस तथा १५ वटा आङ्गिक क्याम्पस र ३१ वटा सम्बन्धन प्राप्त क्याम्पस रहेको जानकारी दिनुभयो। विश्वविद्यालयमा करिब १८ हजार विद्यार्थी अध्ययनरत रहेका भन्दै उपकुलपति पन्तले शैक्षिक क्यालेन्डरलाई पूर्ण पालना गर्दै उत्कृष्ट विश्वविद्यालय बनाउन आफूहरू लागिपरेको बताउनुभयो।

भारतीय राजदूतावासद्धारा आज स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइयो

सन २००१ यता भारतबाट ४०,००० विद्यार्थीहरूलाई छात्रवृत्ति

काठमाडौंस्थित भारतीय राजदूतावासले आज २३ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइएको छ । कार्यक्रममा छात्रवृत्तिद्वारा समर्थित लगभग २०० विद्यार्थीहरूको सहभागिता रहेको थियो । स्वर्ण जयन्ती छात्रवृत्ति दिवस समारोहमा उपलक्ष्यमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा अच्युत वाग्ले, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा बिजु कुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा ध्रुव कुमार गौतम, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा शारदा थपलिया उपस्थिति थिए । कार्यक्रममा विभिन्न संस्थानका डीनहरू र प्रख्यात विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरुलाई स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरेका थिए । राजदूत श्रीवास्तवले आफ्नो मन्तव्यमा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाको २३ औं ब्याचका पुरस्कृतहरुका साथै राजदूतको रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई पनि बधाई दिएका थिए । वहाँले विद्यार्थीहरूलाई आआफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन गरेका थिए र भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नता मार्फत उपलब्ध हुने व्यापक अवसरहरूमाथि प्रकाश पार्नुभएका थिए ।

भारत-नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो । यस समयको अवधिसम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको संख्या वार्षिक रुपमा २०० जना पुगेको छ । यस छात्रवृत्ति योजनाबाट नेपालका सबै ७७ जिल्लाबाट ३५०० जना भन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका छन् । अहिलेको ब्याचमा छात्रवृत्ति प्राप्त गर्नेहरू नेपालका ७५ जिल्लाबाट रहेका छन् जसमध्ये एक तिहाइ छात्राहरू रहेका छन् । यस वर्ष ०३ जना भिन्न क्षमता भएका विद्यार्थीहरू पनि छनोट भएका छन् ।

भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ्ग, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ्ग, आयुर्वेद, नृत्य, रंगमञ्च र प्रदर्शन कला लगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई लगभग १,५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ । यी छात्रवृत्तिहरूले विद्यार्थीहरूलाई भारतका शैक्षिक संस्थानहरूमा पहुँच प्रदान गर्दछ र उनीहरूलाई नेपालमा स्नातक कोर्षहरूका साथै स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरूमा शिक्षा हासिल गर्न सहयोग गर्दछ । सन् २००१ यता भारत सरकारको तर्फबाट नेपालका लागि भएका विभिन्न छात्रवृत्ति पहलहरूबाट लगभग ४०,००० विद्यार्थीहरू लाभान्वित भएका छन् ।

मनाङको फू गाउँमा सशस्त्रको बिओपी राखिने

हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिने भएको छ। सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो। नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बिओपी स्थापना गर्न लागिएको हो।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बिओपी स्थापना गर्न लागिएको बताए। उनले बिओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रुपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको जानकारी दिए।

सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको प्रजिअ आचार्यले बताए। जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नं ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई एक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरिएको छ।

‘फू क्षेत्र मनाङको विकट क्षेत्र हो । हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बिओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको छ”, प्रजिअ आचार्यले भने।

बिओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ । प्रजिअ आचार्यले नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने र जतिसक्दो छिटो बिओपी गरिने बताए।

उनले बिओपी स्थापना पछि शान्ति सुरक्षा, विपद व्यवसथापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धारमा थप प्रवभाकारी हुने अपेक्षा गरिएको बताए। नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो । फू गाउँ पुग्न सदरमुकाम चामेबाट दुई दिन लाग्दछ ।

जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तालहरुमा अक्सिजनको अभाव

एजेन्सी–शनिबार प्रकाशित एक नयाँ अध्ययनले जलवायु परिवर्तनको दीर्घकालीन तापक्रम र बढ्दो गर्मीको लहरका कारण विश्वभरका तालहरूमा अक्सिजनको स्तर घटेको पत्ता लगाएको छ। अन्वेषकहरूले विगत २० वर्षमा विश्वभरका १५ हजार भन्दा बढी तालहरूमा अक्सिजनको मात्रा घट्दो प्रवृत्ति फेला पारे। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित उक्त अध्ययनले विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा घट्दै गएको जनाएको छ। साथै, समुन्द्र र नदी दुवैको तुलनामा तालमा अक्सिजन घट्ने औसत दर बढी रहेको देखाएको छ।

अध्ययनले गर्मीको लहरले अक्सिजनको कमीमा द्रुत र स्पष्ट प्रभाव पारेको देखाएको छ, जसले गर्दा औसत तापक्रमभन्दा कम अवस्थाको तुलनामा ७.७ प्रतिशतले कमी आउँछ। लेखकहरूले यसको मुख्य कारण जलवायु परिवर्तन भएको बताएका छन्, जसले अक्सिजनको घुलनशीलता घटाएर ५५ प्रतिशत घटाउन योगदान पुर्याउँछ। तालहरूमा पोषक तत्वहरूको बढ्दो सांद्रता, जसलाई युट्रोफिकेशन भनिन्छ,यो लगभग १० प्रतिशत रहेको जनाएको छ।

लेखकहरूले यी निष्कर्षहरूले ताजा पानीको इकोसिस्टमहरूमा जलवायु परिवर्तनको गहिरो प्रभावलाई रेखांकित गर्ने बताएका छन्, जसलाई एरोबिक जीवनलाई कायम राख्न र स्वस्थ जैविक समुदायहरू कायम राख्न पर्याप्त अक्सिजन स्तर चाहिन्छ।

चाइनिज एकेडेमी अफ साइन्सेसको अनुसन्धानकर्ता झाङ युनलिनले भने,“अक्सिजनको कमीले प्रजातिहरू लोप हुन सक्छ। जलीय जीवहरूको मृत्यु र व्यावसायिक माछा मार्ने उद्योगहरूको पतन हुन सक्छ।”

सह–लेखक शि कुनले तालहरूमा पोषक तत्वको मात्रा घटाउनमा ध्यान दिनु पर्ने बताएका छन्। “डुबेका वनस्पति रोपण र सिमसार निर्माण गर्नाले पनि तालको पारिस्थितिक प्रणाली पुनस्र्थापित गर्न मद्दत गर्न सक्छ,” शिले सिन्ह्वालाई बताए। जलवायु परिवर्तन र गर्मीको लहरका प्रमुख कारणहरूको लागि कुनै विशेष सुझावहरू दिइएको छैन। चीनको नानजिङ विश्वविद्यालय र बेलायतको बाङ्गोर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि अध्ययनमा भाग लिएका थिए।

भारतीय राजदूतावासद्वारा ६० औं आइटेक दिवसको अवसरमा कार्यक्रम आयोजना, गएको १५ वर्षमा नेपालवाट ३,००० सहभागी

काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा शुक्रवार ६० औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइएको छ । आइटेक दिवस समारोहको उपलक्ष्यमा नेपालका परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सहित संसद सदस्यहरू, वरिष्ठ सरकारी अधिकारीहरू, आइटेकका पूर्वविद्यार्थीहरु र भारतीय शैक्षिक संस्थाका प्रख्यात नेपाली पूर्वविद्यार्थीहरु उपस्थित थिए । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कार्यक्रमको प्रमुख अतिथि थिए ।

आइटेकको रूपमा परिचित भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम भारत सरकारको विदेश मन्त्रालयको अग्रणी क्षमता निर्माण प्लेटफर्म हो । अन्तर्राष्ट्रिय क्षमता निर्माणको लागि सबैभन्दा पुरानो संस्थागत व्यवस्थाहरू मध्ये एक रहेको आइटेक सन् १९६४ मा स्थापना भएका हो जसले १६० भन्दा बढी देशका २००,००० भन्दा बढी अधिकारीहरूलाई तालिम दिएको छ । उच्च शैक्षिक संस्था र प्रशिक्षण सुविधाहरूमा उपलब्ध भारतको शासन र विकास–सम्बन्धित विशेषज्ञताको विशाल र समृद्ध सञ्जाल निर्माण गर्दै आइटेकले प्रत्येक वर्ष भारतका १००ं प्रख्यात संस्थानहरूमा लगभग ४०० कोर्षहरू मार्फत करिब १०,००० फुल्ली–फन्डेड इन–पर्सन प्रशिक्षण अवसरहरू प्रदान गर्दछ ।

कार्यक्रमको क्रममा महान्यायाधिवक्ता श्री रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्वविद्यार्थी सहायक रथी श्री पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक श्री दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव र अन्तर्दृष्टि साझा गर्नुभयो । समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्द्वारा समर्थित प्रख्यात कलाकार श्री कुलेश्वर कुमार ठाकुरको नेतृत्वमा रहेको भारतको सांस्कृतिक समूह ‘यज्ञ’ द्वारा मयूरभञ्ज छाऊ नृत्य प्रस्तुति गर्नुका साथै नेपालको प्रख्यात कान्त दब दब ब्यान्डद्वारा वाद्य लोक फ्युजन र ज्याज पनि प्रस्तुत गरिएको थियो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभवलाई स्नेहपूर्वक सम्झनुभयो र विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असंख्य पहलहरूको लागि कृतज्ञता व्यक्त गर्नुभयो । नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले आफ्नो मन्तव्यमा आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताहरू अनुसार थप अनुकूलित कार्यक्रमहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सन् २०२४–२०२५ मा नेपालका ५१० जना पेशेवरहरूलाई भारतका विभिन्न प्रमुख संस्थानहरूमा विभिन्न कोर्षहरूको लागि तालिम दिइएको थियो । नेपाल सरकारका २१ जना इन्जिनियरहरू आइआइटी रुडकीमा जलस्रोत व्यवस्थापन, जलविज्ञान, सिँचाइ जल व्यवस्थापन जस्ता विषयहरूमा दुई वर्षे एम।टेक। कोर्षमा भर्ना भएका छन् । सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानहरूमा डाक्टरहरू (५०) सरकारी वकिलहरू (३०) राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका सदस्यहरू (१५), नेपाल प्रहरी (१४३) सशस्त्र प्रहरी बल (८०) गृह मन्त्रालय (२४) खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्षहरूको व्यवस्था गरिएको थियो ।

छिमेकी भएको नाताले भारत सरकारको आइटेक पहलमा नेपाल सक्रिय साझेदार हो । नेपालबाट विगत १५ वर्षमा मात्र ३,००० भन्दा बढी अधिकारीहरूलाई आइटेक अन्तर्गत रहेर तालिम दिइएको छ ।

कूटनीतिक सम्बन्ध विस्तारमा भारत भ्रमण फलदायी बन्यो- परराष्ट्रमन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कूटनीतिक सम्बन्ध विस्तारका लागि आफ्नो भारत भ्रमण फलदायी भएको बताउनुभएको छ। भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उहाँले सो जानकारी दिनुभएको हो।

उहाँले भन्नुभयो, “यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा। एस जयशंकर र अन्य देशका समकक्षीसँग भेटवार्ता भयो र राइसिना डायलगमा पनि सम्बोधन भयो। त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत पनि निरन्तरताका लागि पहल गरेँ। त्यसैले नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो।”

उहाँले यस भ्रमणका क्रममा भारतका विदेशमन्त्रीका अतिरिक्त मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जीया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्री तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशकसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।

मन्त्री डा। राणाले भन्नुभयो, “भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि कूटनीतिक प्रयास गरेँ। यसमा खासगरी नेपाल र भारतवीच रहेको विद्यमान द्विपक्षीय सम्झौता अनुसार नै इन्डियन इनर्जी एक्सचेञ्ज मार्फत नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न अनुरोध गरेकी छु।”

उहाँले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेको जानकारी दिनुभयो। त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा युक्रेनमा युद्धबन्दीको रुपमा रहेका ७ जना नेपालीको रिहाइका लागि आग्रह गरेको जानकारी मन्त्री डा राणाले दिनुभयो।