Page 149 – Nepalboli

टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

सोमबारदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत २ पुसदेखि हवाई सेवा अवरुद्ध भएको थियो ।

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ ।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।

हत्याका आरोपी ११ वर्षपछि पक्राउ

पाँचथरको हिलिहाङ ७ का बिरबहादुर योङयाको हत्यापछि फरार रहेको आरोपमा प्रहरीले हिलिहाङ ७ का ७२ वर्षीय लक्ष्मीप्रसाद योङयालाई पक्राउ गरेको छ । योङयालाई व्यक्ति हत्या आरोप लागेको ११ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साहले जानकारी दिनुभयो ।

लक्ष्मीले बिरबहादुरलाई २०७० साल मङ्सिर ८ गते सामान्या विवादमा कुटपिट पश्चात हत्या गरेर फरार भएको अभियोग लागेको छ ।

कुटपिटपछि हत्या गरेको भन्दै मृतककी श्रीमती फिपरानी लिम्बूले सोही दिन जिल्ला प्रहरी कार्यालय पाँचथरमा किटानी जाहेरी दिनुभएको थियो ।

योङयालाई हत्याको ११ वर्षपछि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक बिनालाल साह (तेली) नेतृत्वको टोलीले सदरमुकाम फिदिमबाटै पक्राउ गरी पाँचथर जिल्ला अदालतमा बुझाएर पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको साहले बताउनुभयो । योङयालाई सदरमुकाम फिदिमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यवस्था बदल्छु भन्नु दिवास्वप्ना- मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ठूलो त्याग, समर्पण र योगदानपछि संस्थागत बनेको जनाउँदै अबको विकल्प यसकै विकास भएको बताउनुभएको छ। आइतबार गण्डकी प्रदेशसभाको मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको छ।

गणतन्त्रबादी दल सबै जागरुक र चनाखो बन्नुपर्नेमा जोड दिँदै उहाँले समृद्ध नेपालको सपनाबाट यताउती हुने छुट नभएको उल्लेख गर्नुभयो। “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्न जो जो मिलेर बनायौं, त्यसलाई कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौं,” उहाँले भन्नुभयो, “हामी जिउँदै रहेको अवस्थामा कसैलाई लाग्छ हामी राजतन्त्र ल्याउँछौँ भन्ने भने त्यो दिवास्पन हो, कदापि पूरा हुन सक्दैन।”

मुख्यमन्त्री पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेको निर्मल निवासमा बस्न पाइन्छ कि पाइँदैन भनेर सोच्न बाध्य हुने अवस्था आउन सक्ने औंल्याउनुभयो। संघीयताको पक्षमा उठेका असन्तुष्टिका स्वरलाई लिएर संविधान उल्टाउने चेष्टा नगर्न उहाँले चेतावनी दिनुभयो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो- सभापती देउवा

नेपाली कांग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको बताउनुभएको छ । डडेल्धुरा–डोटी जिल्लाको संगमस्थल सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणी गहनान धाममा आइतबार श्रीमद भागवत महायज्ञको उद्घाटन गर्दै उहाँले हिन्दु परम्परालाई मान्ने नेपालीको परम्परा रहेको बताउनुभयो ।

हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो, उहाँले भन्नुभयो, गाई लाई पूजा गर्ने देश हो । गौ हत्या गर्न पाइँदैन । कडा कानुन छ । यसलाई अझै कडाईका साथ लागु गर्ने छौं । माघे सङ्क्रान्तिका दिन स्नान गर्नेको घुुइँचो लाग्ने गहनान धाम मशान पनि हो । यस क्षेत्रको ठुलो मसान भएको उल्लेख गर्दे सभापती देउवाले यो अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएको बताउनुभयो । हाम्रो बाजे पूर्खाहरूको चिहान हो, उहाँले भन्नुभयो, उहाँहरूलाई यही जलाएको हो । यहा दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ ।

सेती नदी र सकायल नदी गाडको सङ्गमस्थल विभिन्न ऋषि मूनीहरूले तपश्या गरेको पवित्र स्थान भएको बताउँदै उहाँले यहाँ हुने मेला र पूजाहरूमा धेरै पटक आफू पुगेको स्मण गर्नुभयो । गहानान क्षेत्रकै माथि डाँडोमा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झदै उहाँले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरूको पवित्र स्थलमा रूपमा गहनान रहेको बताउनुभयो ।

यहाँ विभिन्न देवताका मन्दिरहरू छन् । उहाँले भन्नुभयो, घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम जाने गर्दथे । त्यसलाई फर्सनान भनिन्थ्यो । घण्टेश्वर यताका मान्छेहरू अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पुर्खौंदेखि रहिआएको उहाँले बताउनुभयो ।

धार्मिक पर्यटन प्रवर्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको छ । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका ४, गन्यापधुरा गाउँपालिका ५ र डोटी जिल्लाको शिखर नगरपालिका १० को सङ्गमस्थल बानेडुग्रीसैनमा अवस्थित गहनान धामुमा महायज्ञको आयोजना गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । तीन वटै पालिकाको समन्वय र सहकार्यमा महायज्ञको आयोजना गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गहनान क्षेत्र विकास समितिले चैत १७ गतेदेखि २५ गतेसम्म श्रीमद् देवीभागवत महापुराण ज्ञान धन, धन्याञ्चल लक्ष हवन महायज्ञ २०८१ आयोजना गरेको हो ।

 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमबारका लागि स्थगित

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमबारका लागि स्थगित भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आइतबारको बैठक केहीबेर चलेर स्थगित भएको थियो। त्यसपछि सूचना टाँस गर्दै बैठकको समय सार्दै आइएको थियो।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदको गतिरोध अन्त्य गर्न पटक पटक सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। साथै सभामुख घिमिरे र अध्यक्ष दाहालले आइतबार अपराह्न छलफल पनि गरेका थिए। उक्त छलफलपछि सोमबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्ने निर्णय भएको स्रोतको भनाइ छ।

विपक्षी दलहरूले कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा दुवै सदनमा प्रधानमन्त्रीको जबाफ मागेका थिए भने सदन अवरोध गर्दै आएका थिए।

प्रधानमन्त्रीको औपचारिक थाइल्याण्ड भ्रमण- पूर्व प्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीसँग परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागितबारे आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श छलफल भएको छ। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राख्नुभएको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम् हितमा उपयोग गर्न सुझाव दिइएको छ।

नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्याण्ड भ्रमण हुन लागेकाले पनि यसलाई थप महत्त्वका रुपमा लिएर मुलुकका लागि विविध क्षेत्रमा लाभ हासिल गर्न सुझाव दिइएको छ। छलफलमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति र क्षेत्रीय सहकार्यका लागि प्रयासरत रहने स्पष्ट गर्दै अरुको हितप्रति संवदेशनशील हुँदै नेपालको हितका लागि भ्रमणलाई उपयोग गर्ने जानकारी गराउनुभयो।

उहाँले यतिबेला दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असम्लग्न राष्ट्रको अभियानलाई पनि सक्रिय बनाउनुपर्नेमा जोड दिँदै बिमस्टेक सम्मेलनमा राष्ट्रिय हितलाई कसरी महत्त्व दिन सकिन्छ भन्नेबारे प्राप्त सुझावलाई मनन् गरिने बताउनुभयो।

प्रधानमन्त्री ओली यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीबाट समकक्षी प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो।

छलफलमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादव, ईश्वर पोखरेल, रघुवीर महासेठ, डा भेषबहादुर थापा, रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा प्रकाशशरण महत, नारायणप्रकाश साउद, डा विमला राई पौड्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो।

थाइल्याण्डको औपचारिक भ्रमण तथा विस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ।

 

 

डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरी छ- सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गर्नुभएको छ। मन्त्रालयले आज यहाँ आयोजना गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत्, टेलिफोन र इन्टरनेटको पहुँच महत्त्वपूर्ण भएको बताउनुभयो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विद्युतीय सुशासन कायम गराउने महत्त्वपूर्ण मन्त्रालय भएकाले यस मातहतका निकायले जिम्मेवारीपूवर्क दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) विस्तारमा जोड दिन, विज्ञापन चुहावट नियन्त्रण गर्न, हुलाक सेवालाई डिजिटलाइजेसन गर्न, सरकारी निकायका वेबसाइटमा एकरूपता ल्याउने विषयमा काम गर्नसमेत निर्देशन दिनुभयो।

मन्त्री गुरुङले ‘नागरिक एप’ साक्षरता अभियानसमेत सञ्चालन जरुरी रहेको उल्लेख गर्दै ब्रोडब्यान्ड सेवाको प्रयोग र पहुँच विस्तारका लागि ध्यान दिनसमेत आग्रह गर्नुभयो।

मन्त्री गुरुङले विभिन्न स्थानीय तहले मोबाइल टावर राख्दा थप कर लिने गरेकाले पूर्वाधार निर्माणमा आर्थिक भार बढेकोसमेत उल्लेख गर्नुभयो। उहाँले समुदायिक विद्यालयमा ब्रोडब्यान्ड सेवा विस्तार, भूकम्प प्रभावित आठ जिल्लामा ब्रोडब्यान्ड सेवाको स्तरोन्नति हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेश सरकारले आफ्नो कामबाट आफ्नो औचित्य पुष्टि गर्न जरुरी रहेकोसमेत बताउनुभयो।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नीति तथा कानुनको तर्जुमा गर्दा प्रदेश तथा स्थानीय तहसँग परामर्श जरुरी भएको बताउनुभयो। उहाँले क्षेत्रगत योजना, नीति तथा कार्यक्रममा एकरूपता ल्याउँदै गुणस्तर कायम गर्न आवश्यक भएको चर्चा गर्नुभयो। उहाँले स्थानीय र प्रदेश तहमा वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा सञ्चार तथा सूचना प्रविधि क्षेत्र समेट्ने गरी कार्ययोजना तर्जुमा गर्न सुझाव दिनुभयो।

उक्त अवसरमा मन्त्रालयका सहसचिव कोशहरि निरौलाले स्थानीय तह, प्रदेश र सङ्घसँग समन्वयमा सञ्चार मन्त्रालयका गतिविधि सञ्चालन भइरहेको बताउनुभयो।

पुर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाहीको दायरामा ल्याउन दलहरुद्धारा प्रधानमन्त्रीलाई सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधर दलहहरूमा पुर्वराजा ज्ञानेन्द्र शाहलाई कारवाही गर्न सुझाव सरकारलाई दिइएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा नेताहरुले पुर्वराजाले संबिधान र कानुन भन्दा माथी आफुलाई राजाकै शैलीमा पटक पटक विज्ञप्ती निकाल्दा केहि नर्दा अहिले अराजतामा उत्रेको बताएका छन । नेपालको संविधानसभाले राजतन्त्रलाई अन्तय गर्दै ज्ञानेन्द्र शाहलाई नागरिक रुपमा नेपालमै सेवा सुविधा सहित बस्न दिएको छ । तर उनले आफुलाई राजाकै रुपमा वेलावखत वक्तव्यवाजी गर्दै पछिल्लो समयमा अराजकतामै उत्रेका देखिएको नेताहरुको भनाई छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीति, गत शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन, संसदमा जारी अवरोध लगायतका विषयमा छलफल भएको नेताहरुले बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा भड्काउने योजनासहित राजावादीहरू सडकमा निस्किएको ब्रिफिंग गरेका थिए । प्रधानमन्त्री ओलीले योजनाबद्ध रूपमै राजावादीहरूले हिंसा भड्काउन खोजेको बताएका हुन् ।

‘उनीहरूको (राजावादीहरूको) नियत नै गलत छ । हिंसा भड्काउने योजना गरेरै आएका छन्’, प्रधानमन्त्री ओलीले भनेका छन् । तर हिंसात्मक गतिविधिका दोषीहरूमाथि कानुन बमोजिम कारवाही हुने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘अराजकता र अस्थिरता निम्त्याउन खोजिँदै छ । लोकतन्त्र र संविधानलाई उल्लङ्घन गर्ने मनसाय छ’ बैठकमा प्रधानमन्त्रीले भने, ‘हामीले लोकतनत्रको पक्षमा काम गर्नुपर्छ, अराजक गतिविधि कानुन बमोजिम नियन्त्रण हुन्छ ।’
बैठकमा पुर्वप्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहित अन्य सबै पार्टीका नेताहरुले गएको शुकवार भएको घटनाको मुख्य जिम्मेवार पुर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै उनलाई कारवाहीको दायरामा ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाएका छन ।

 

रवीन्द्र मिश्र सहित ३० जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित ३० जनालाईलाई काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ। अदालतले मिश्र र शमशेरसहित ३० जनालाई अनुसन्धानका म्याद थप गरेको हो। उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ। अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरुलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ।

प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ। उनीहरुलाई शुक्रबारको प्रदर्शनका क्रममा भएका घटनाहरुमा उक्साएको तथा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि शुक्रबार राति नै पक्राउ गरेको थियो।

आइतबार न्यायाधीश तारादेवी महर्जनको इजलासले पक्राउ परेकाहरुमध्ये ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पुल सुधार कार्यक्रमका लागि विश्व बैंकद्वारा २० अर्ब ४० करोड स्वीकृत

विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न रु २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ ।

नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।