व्यवस्था बदल्छु भन्नु दिवास्वप्ना- मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ठूलो त्याग, समर्पण र योगदानपछि संस्थागत बनेको जनाउँदै अबको विकल्प यसकै विकास भएको बताउनुभएको छ। आइतबार गण्डकी प्रदेशसभाको मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको छ।
गणतन्त्रबादी दल सबै जागरुक र चनाखो बन्नुपर्नेमा जोड दिँदै उहाँले समृद्ध नेपालको सपनाबाट यताउती हुने छुट नभएको उल्लेख गर्नुभयो। “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्न जो जो मिलेर बनायौं, त्यसलाई कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौं,” उहाँले भन्नुभयो, “हामी जिउँदै रहेको अवस्थामा कसैलाई लाग्छ हामी राजतन्त्र ल्याउँछौँ भन्ने भने त्यो दिवास्पन हो, कदापि पूरा हुन सक्दैन।”
मुख्यमन्त्री पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेको निर्मल निवासमा बस्न पाइन्छ कि पाइँदैन भनेर सोच्न बाध्य हुने अवस्था आउन सक्ने औंल्याउनुभयो। संघीयताको पक्षमा उठेका असन्तुष्टिका स्वरलाई लिएर संविधान उल्टाउने चेष्टा नगर्न उहाँले चेतावनी दिनुभयो।