Page 147 – Nepalboli

‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

केही दिनयतादेखि काठमाडौँमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् ।

केही दिनदेखि काठमाडौँको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आइएफआर’ प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एवम् महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाक्लो तुवाँलोले भिजिबिलिटीमा कमी आएपछि आइएफआर प्रविधिबाट उडान÷अवतरण भइरहेको छ । सोही कारणले साबिकको तुलनामा जहाजको व्यवस्थापनमा केही ढिला हुँदै आएको छ । उडान तथा अवतरण भने हालसम्म रद्द गरिएको छैन ।”

विमानस्थलमा अहिले तीन हजार मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार बाक्लो तुवाँलोका कारण बिहीबार बुद्ध एयरका तीन माउन्टेन फ्लाइटमध्ये दुई वटा भैरहवा, एउटा जनकपुर तथा यती एयरलाइन्स र श्री एयरलाइन्सका एक–एक माउन्टेन फ्लाइट भैरहवा ‘डाइभर्ट’ भएका छन् ।

बाँकेमा किसान स्ट्रबेरीखेतीतर्फ आकर्षित

बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो । कृषिमा केही नयाँ गर्ने सोचका साथ उहाँले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । स्ट्रबेरी निकै रुचाइएको फलफूलमा पर्दछ । बजारमा यसको माग बढिरहेको छ । ‎स्वास्थ्यलाई ध्यानमा राख्दै सर्पराजले रसायनरहित जैविक र आधुनिक प्रविधिबाट स्ट्रबेरी लगाउनुभएको छ ।

रासायनिक मलको ठाउँमा गोठे मल, झोल मल, तितेपाती, निमको पात र गाईको पिसाब प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुवामा किरा लागे वा फल नाश हुन लागेमा घरमै उपलब्ध झारपातको प्रयोग गर्ने गरेको छु, जसले गर्दा स्ट्रबेरी स्वादिलो, गुणस्तरीय र स्वस्थ पनि हुन्छ ।” सामान्यतया नेपाली समयअनुसार असोजमा स्ट्रबेरीको बिरुवा रोप्ने गरिन्छ भने ७५ देखि ८० दिनमा यो बिक्रीका लागि तयार भइसकेको हुन्छ ।

सर्पराजले यसपटक दुई महिना ढिलोगरी मङ्सिर १ गते आसपास बिरुवा रोप्नुभएको थियो । बिरुवा रोप्नमा ढिलाइ भए पनि बिरुवाले दिनुपर्ने मात्रामा फल दिएको छ । गत माघको अन्तिम सातादेखि उहाँको स्ट्रबेरी बिक्री हुन सुरु भइसकेको थियो । उहाँका अनुसार नयाँ र धेरै प्रचारप्रसार नभएकाले बाहिरबाट त्यति धेरै माग भने आएको छैन ।

सर्पराजको स्ट्रबेरीको स्वाद कोहलपुर, नेपालगन्जसँगै सुर्खेतसम्म फैलिएको छ । घरबाटै पनि दैनिक २० देखि २५ किलोको हाराहारीमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । ‎प्रतिबिरुवाले आधा किलोदेखि एक किलोसम्म फल दिन्छ । उहाँले यो फल खुद्रामा प्रतिकिलो सात सय र थोकमा छ सय प्रतिकिलोमा बिक्री गर्दै आउनुभएको छ । माघदेखि हालसम्म करिब नौ क्विन्टल बिक्री गरिसकेको उहाँको भनाइ छ । यो अवधिमा करिब पाँच लाख जति आम्दानी भएको छ ।

उहाँको फार्ममा अहिले जापानिज क्यामरोज जातका करिब सात हजार ८०० बिरुवाले फल दिइरहेका छन् । “तराई क्षेत्रमा गर्मी दिन प्रतिदिन बढ्दै छ, गर्मी याममा बिरुवा जोगाउन मुस्किल पर्छ”, सर्पराज भन्नुभयो, “अब फल फलाउनुभन्दा पनि बिरुवा कसरी जोगाउने र अर्को वर्षका लागि बिरुवा कसरी तयार गर्ने भन्ने योजनामा छु ।” उहाँका लागि स्ट्रबेरीखेती विल्कुल नयाँ भए पनि मेहनत गरे सफल भइन्छ भन्ने विश्वासले उहाँले बस्नेत कृषि तथा पशुपन्छी फार्म दर्तागरी खेती सुरु गर्नुभयो ।

सुरुमा उहाँलाई धेरै जनाले यो खेती सफल नहुने भन्दै मनोबल घटाउने कोसिस पनि नगरेका होइनन् । अहिले मेहनतको फल फलाएर देखाउन सफल भएको उहाँ बताउनुहुन्छ । माटो परीक्षण गरी आफ्नो माटोमा सुहाउँदो बिरुवा लगाए कुनै पनि खेती वा व्यवसाय सफल हुने उहाँको बुझाइ छ । ‎स्ट्रबेरीलाई नेपालीमा भुइँ काफल पनि भन्ने गरिन्छ । प्रशस्त घामको प्रकाश पुग्ने र सिँचाइको सुविधा पुर्‍याउन सकिने ठाउँमा यसको खेती राम्रो हुने गरेको छ ।

 

 

हेटौंडा सिमेन्ट उद्योग चैत २३ देखि नियमित सञ्चालनमा आउने

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । आर्थिक अभावका कारण थलिए पनि अघोषित लोडसेडिङका कारण देखाउँदै बन्द रहेको सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको हो । गत असोजबाट बन्द रहेको उद्योगमा विद्युत् नियमित गरेर सञ्चालनमा ल्याउने तयारी भएको उद्योगका निमित्त महाप्रबन्धक नविन कर्णले जानकारी दिए । उद्योग चैतको अन्तिम साताबाट पुनः सुचारु हुने उनले बताए । उनका अनुसार चैतको २३ गतेबाट उद्योगको किलमा फायर गरेर उत्पादन थाल्ने तयारी भएको छ ।

उद्योगलाई उपलब्ध गराइएको ग्रिडमा गत मंसिरदेखि बिहान र बेलुका गरी ६ घण्टा लोडसेडिङ भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमित गर्नेभएसँगै उद्योग पुनः सञ्चालनमा आउन लागेको उनले बताए ।

उनका अनुसार गत मंसिरदेखि विद्युत् प्राधिकरणले अघोषित रूपमा बिहान र बेलुका ३-३ घण्टा विद्युत् अवरुद्ध गर्दै आएको थियो । यसअघि पनि उपकरणमा समस्या आएपछि उद्योग दसैँ अघिदेखि नै बन्द थियो । बिग्रिएका मेसिन मर्मत गरेर तिहारलगत्तै सञ्चालन गर्ने भनिएको उद्योग विद्युत् आपूर्ति नियमित नभएको भन्दै बन्द गरिएको थियो ।

विद्युत नियमति भएपछि चैत २३ गतेबाट किलमा फायर गर्ने र उद्योग सञ्चलन गरिने उद्योगका निमित्त महाप्रबन्धक कर्णले बताए । यस पटक उद्योग सञ्चालन गरेपछि नियमित चल्ने उनको दाबी छ ।

‘एक दुई दिनमा उद्योग प्लान्टको किलमा फायर गर्ने तयारी भइरहेको छ । त्यसपछि उद्योग नियमित चल्छ,’ उनले भने, ‘कुनै भैपरी नआए अब उद्योग बन्द हुँदैन ।’

निमित्त महाप्रबन्धक कर्णले एक महिनालाई पुग्ने कच्चा पदार्थ मौज्दात रहेको बताए । उनले उद्योगले उत्पादन थालेपछि त्यही सिमेन्ट बेचेर समस्या टार्दै जाने दाबी पनि गरे । गत असोजमा उद्योग बन्द हुँदा मौज्दात रहेको करिब १ लाख ५० हजार बोरा सिमेन्ट बेचेर केही समय उद्योगका कर्मचारी र मजदुरलाई तलब भुक्तानी गरेको उद्योगमा पछिल्लो समय तलब खुवाउन नसकेपछि मजदुरहरू आन्दोलित भएका थिए । निमित्त महाप्रबन्धक कर्णले मजदुरसँग उद्योग सञ्चालनमा आएपछि तलब उपलब्ध गराउने सहमति भएको दाबी गरे ।

 

 

मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए

चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

यसैगरी, ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । चालु आवको साउनदेखि हालसम्म आन्तरिक पर्यटक ८१ प्रतिशत र विदेशी पर्यटक १९ प्रतिशतले मुस्ताङ जिल्लाको भ्रमण गरेका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । उनका अनुसार मुस्ताङ भित्रिने बाह्य पर्यटकमध्ये ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा आन्तरिक तथा बाह्य पर्यटक गरी चार लाख ५४ हजार ३२६ ले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये आन्तरिक तीन लाख ५४ हजार ९२७ र बाह्य ९९ हजार ३९९ छन् । पछिल्लो समय क्रमिक रूपमा सडक सञ्जाल सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भइरहेका प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । उनका अनुसार जिल्लाको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तीर्थ गर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

मुस्ताङ भित्रिएका नेपाली पर्यटकहरू मुक्तिनाथ दर्शन गरी उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन् । मुस्ताङ धार्मिक तथा सांस्कृतिक विविधतापूर्ण जिल्ला भएको र यहाँको पृथक् भूगालले पर्यटकलाई थप आकर्षित गर्ने भएकोले बर्सेनि यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो ।

राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै गएपछि कोरलानाकासम्म आन्तरिक पर्यटक पुग्ने गरेका लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले बताए । यहाँ अवस्थित वर्षौँ पुराना गुम्बा, माने, छोर्तेन, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा, गुफालगायत सुन्दरताका कारण मुस्ताङ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य बन्दै गइरहेको उनको भनाइ छ ।

उपल्लो मुस्ताङमा ७०० वर्ष पुरानो मुस्ताङी सांस्कृतिक राजाको दरबारका साथै गुरु पद्यसम्भवसँग जोडिएका दर्जनौँ धार्मिक गुम्बाहरू पर्यटकका लागि विभिन्न खोज तथा अनुसन्धानको केन्द्र बन्दै गएका अध्यक्ष गुरुङले जानकारी दिए । मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा, यहाँको रहनसहन, जीवनशैली र स्थानीय चाडपर्वहरूको मौलिकता अवलोकन गर्न बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे ।

संसदको हिउँदे अधिवेशन अन्त्य

सङ्घीय संसदका दुबै सदनको चालु अधिवेश अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुने छ । गत माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

आजको प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । मङ्गलबार बिहान बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।

विसं २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित हुनुभएको बोहराको आज बिहान निधन भएको थियो ।

 

 

 

 

प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंकक आइपुग्नु भएको छ। थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिनेक्रममा उहाँ आथ थाइल्यान्डको बैंकक आइपुग्नुभएको हो।

प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक आइपुग्नुभएको हो। उहाँलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पत्ती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गर्नुभयो।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा। युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ।

 

ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारी हुन्, उनमा राजा बन्ने गुण छैन- माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहमा राजा बन्ने गुण नै नभएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये एक भएको बताउँदै उनमा राजा बन्ने गुण नभएको बताएका हुन् ।

गत शुक्रबार भएको राजावादीको आन्दोलन ‘ग्रान्ड डिजाइन’ अनुसार भएको उनले दाबीसमेत गरेका छन् । उनले कहाँबाट डिजाइन भयो भन्ने चाहीँ खुलाएनन् ।
उनले भने, ‘उहाँ नेपालका व्यापारीमध्ये ठूला व्यापारी हुनुहुन्छ, अरू होइन । राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ । कुनै महात्मा वा साधु हुनुपर्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहमा राजामा हुने कुनै गुण नभएको टिप्पणी गर्दै नेपालले राजतन्त्रको वंशाणुगत शासन प्रणालीको आलोचना गरे । किन चाहियो रगतको शासन रु जनताको मनको शासनलाई नमान्ने, जनताको चेतनामा विश्वास नगर्ने राजा हुन सक्दैनन् । यस्ता सोचले नयाँ हिटलर जन्माउन सक्छ’, उनले भने, ‘संसार दास युग वा सामन्ती युगमा फर्कन सक्दैन । अब पुँजीवादी युगमा पनि बस्ने होइन । समाजवादी युगमा जाने हो ।’

कुनै पनि गाउँको हुलडबाजले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने भन्दै उनले राजतन्त्रको पुनर्स्थापनाको सम्भावना नरहेको ठोकुवा गरे ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै चैत १५ र १८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद्को बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो।

 

विदेशबाट फर्केर बगरमा तरभुजाखेती

देउखुरी । लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल आए । नेपाल फर्केपछि के काम गर्ने भन्ने उनलाई अन्योल थियो । साउदीमा पानीको मात्रा धेरै भएको र माटो कम भएको देशमा खेती गरेर आत्मनिर्भर भएको देखेकाले नेपालमा पनि केही गरौँ भन्ने सोचाइ आएको उनले बताए ।

नेपालमा कृषिमा सम्भावना देखेकाले परीक्षणका लागि बगरमा तरभुजाखेती गरेको उनी बताउँछन् । लमही नगरपालिका–६ ढिकपुरमा रहेको राप्ती नदीको बगरको १५ बिघा जमिन तरभुजाखेतीले हराभरा भएको छ । नेपाल बाहिरका विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारीमा देशकै नमूना चक्लाबन्दी बगरखेती सञ्चालन गरेको पौडेलले बताए ।

उनले नेपालको जमिन बाँझो राखेर अर्काको भूमिमा पसिना बगाउनुभन्दा आफ्नै भूमिमा काम गर्नसमेत युवाहरुलाई सल्लाह दिन्छन् । युवा पलाएन रोकेर आफ्नो माटो हराभरा गरायो भने काम पनि हुने र आम्दानी पनि हुने उनको भनाइ छ । पाँचजना स्थानीयलाई कृषि फार्ममा रोजगारी दिएको र आफूले पनि काम गर्ने गरेको बताउँदै लगानीकर्ता पनि कामदार पनि दुवै बनेर खेतीपातीलाई समय दिने गरेको उनी बताउँछन् ।

सोही ठाउँका सुरज पाण्डे पनि विदेशबाट फर्केर तरभुजाखेतीमा लागेका उनी चार वर्ष दुबई बसेर फर्केर स्वदेशमै केही गर्नुपर्छ भनेर साथीहरुले सुरु गरेको तरभुजाखेतीमा जोडिएका हुन् । फल दिँदै गरेका बिरुवाले हरियो भएको राप्तीको बगर लमहीमा रहेको उद्यमी बहुउद्देश्यीय सहकारीको व्यवस्थापनमा निजी कृषि फार्म तथा विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारी रहेको छ ।

सहकारी संस्थाको व्यवस्थापनमा निजी कृषि फर्मबाट तरभुजाखेती सुरु भएको सहकारीका सचिव विश्वप्रकाश अधिकारीले जानकारी दिए । ‘सहकारीले जग्गा खोज्ने काम गरेको थियो, स्थानीय युवाले खेती गर्ने सोचाइले जग्गाको माग गरे र जग्गा उपलब्ध गराएको हो,’ उनले भने ।

गर्मीको समयमा प्रशस्त फल्ने भएकाले दाङको हावापानीमा तरभुजा उत्पादन राम्रो हुने र प्रतिबिघा चार लाखदेखि पाँच लाख आम्दानी हुने आशा रहेको उनले सुनाए । मल्चिङ, खाल्डा खन्ने प्रविधि र लाइन बनाएर लगाउने तीन तरिकाले तरभुजा रोपण गरिएको छ । मल्चिङ प्रविधिबाट दाङमा खरभुजा खेती हुने गरेको छैन यो नै पहिलो अभ्यास भएको उनले बताए । हरियो कला, ग्रेकल्दा, बाहिर हरियो, भित्र रातो, बाहिर हरियो, भित्र पहेँलो र बाहिर पहेँलो भित्र रातो गरि छ जातको तरभुजा रोपिएको छ । छोटो समयमा उत्पादन हुने र प्रतिफल धेरै हुने भएकाले तरभुजाखेती गरेको उनले सुनाए ।

उत्पादित तरभुजा घोराही, तुलसीपुर, लमही, भालुवाङ, बुटवललगायतका सहरमा बिक्री गर्ने तयारी रहेको उनी बताउँछन् । प्रदेश र स्थानीय सरकारले स्वदेशमै केही गर्न चाहने किसानलाई प्रोत्साहन गरेमा व्यवसायलाई निरन्तरता दिन सकिने उनको धारणा छ ।

नौ स्थानीय तहहरूको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्नेगरी नेपाल-भारत विचमा सम्झौता

नेपाल सरकार, नेपाल स्थित भारतीय राजदूतावास र विभिन्न नौ स्थानीय तहबिच प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । मङ्गलबार सिंहदरबारमा एक समारोहका बिच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र नौ स्थानीय तहहरूबिच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने सम्झौतामा त्रिपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार भारत सरकारले नौ वटा स्थानीय तहहरूमा विद्यालयका संरचना तथा स्वास्थ्य चौकी निर्माण गर्नका लागि आर्थिक सहायता प्रदान गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

पराजुलीका अनुसार सम्झौता भएका स्थानीय तहहरूमा धनगढी उपमहानगरपालिका, कैलाली, धुर्कोट गाउँपालिका, गुल्मी, चङ्खेली गाउँपालिका, हुम्ला, बुटवल उपमहानगरपालिका, रूपन्देही, ईन्द्रवती गाउँपालिका, सिन्धुपाल्चोक, जयपृथ्वी नगरपालिका, बझाङ, मिखुवाखोला गाउँपालिका, ताप्लेजुङ, भरतपुर महानगरपालिका, चितवन, लिखुपिके गाउँपालिका, सोलुखुम्बु रहेका छन् ।

उहाँले सम्झौता कार्यान्वयन हुने प्रत्येक आयोजनाको अधिकतम बजेट सीमा २० करोड रुपियाँ रहने बताउनुभयो ।

‘‘यो नेपाल–भारत सरकारबिच द्विपक्षीय सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्‍याउँदै आइराखेको छ । आज हामीले नौ वटा जिल्लाको नौ वटा पालिकामा विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले सम्झौता भएको छ । अहिले यी नौ वटा स्थानीय तहका लागि सहयोग उपलब्ध गराएको हो । योभन्दा अगाडि पनि भारत सरकारबाट विभिन्न १३ वटा परियोजनामा यो आर्थिक वर्षमा सम्झौता भइसकेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसका लागि अब हामी सम्बन्धीत पालिकाहरुबाट आयोजनाहरू माग्छौं । आयोजनाहरुको विस्तृत परियोजना प्रस्ताव गरेर हामीले अर्थ मन्त्रालयमार्फत भारतीय दूतावासमा पठाउँछौं । दुतावासले स्वीकृत गरिसकेपछि परियोजनाहरू लागु हुन्छ । यो निरन्तर सहयाृग हुने कार्यक्रम हो ।’’

आयोजनाअन्तर्गत स्थानीय तहहरूले आयोजनाहरु छनोट गरी मन्त्रालयमा बुझाउने र अर्थ सम्झौतामा स्थानीय तह तथा अन्य सरकारी निकायबाट प्राप्त माग सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परीक्षण गरी अर्थ मन्त्रालयमा आयोजना सिफारिस गर्ने र अर्थले प्राथमिकताको आधारमा सहायता परिचालनका लागि भारत सरकारलाई अनुरोध गर्ने गरी प्रक्रिया निर्धारण गरिएको उहाँको भनाइ छ ।