हेटौंडा सिमेन्ट उद्योग चैत २३ देखि नियमित सञ्चालनमा आउने – Nepalboli

हेटौंडा सिमेन्ट उद्योग चैत २३ देखि नियमित सञ्चालनमा आउने

   २०८१ चैत्र २१, बिहीबार  

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । आर्थिक अभावका कारण थलिए पनि अघोषित लोडसेडिङका कारण देखाउँदै बन्द रहेको सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको हो । गत असोजबाट बन्द रहेको उद्योगमा विद्युत् नियमित गरेर सञ्चालनमा ल्याउने तयारी भएको उद्योगका निमित्त महाप्रबन्धक नविन कर्णले जानकारी दिए । उद्योग चैतको अन्तिम साताबाट पुनः सुचारु हुने उनले बताए । उनका अनुसार चैतको २३ गतेबाट उद्योगको किलमा फायर गरेर उत्पादन थाल्ने तयारी भएको छ ।

उद्योगलाई उपलब्ध गराइएको ग्रिडमा गत मंसिरदेखि बिहान र बेलुका गरी ६ घण्टा लोडसेडिङ भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमित गर्नेभएसँगै उद्योग पुनः सञ्चालनमा आउन लागेको उनले बताए ।

उनका अनुसार गत मंसिरदेखि विद्युत् प्राधिकरणले अघोषित रूपमा बिहान र बेलुका ३-३ घण्टा विद्युत् अवरुद्ध गर्दै आएको थियो । यसअघि पनि उपकरणमा समस्या आएपछि उद्योग दसैँ अघिदेखि नै बन्द थियो । बिग्रिएका मेसिन मर्मत गरेर तिहारलगत्तै सञ्चालन गर्ने भनिएको उद्योग विद्युत् आपूर्ति नियमित नभएको भन्दै बन्द गरिएको थियो ।

विद्युत नियमति भएपछि चैत २३ गतेबाट किलमा फायर गर्ने र उद्योग सञ्चलन गरिने उद्योगका निमित्त महाप्रबन्धक कर्णले बताए । यस पटक उद्योग सञ्चालन गरेपछि नियमित चल्ने उनको दाबी छ ।

‘एक दुई दिनमा उद्योग प्लान्टको किलमा फायर गर्ने तयारी भइरहेको छ । त्यसपछि उद्योग नियमित चल्छ,’ उनले भने, ‘कुनै भैपरी नआए अब उद्योग बन्द हुँदैन ।’

निमित्त महाप्रबन्धक कर्णले एक महिनालाई पुग्ने कच्चा पदार्थ मौज्दात रहेको बताए । उनले उद्योगले उत्पादन थालेपछि त्यही सिमेन्ट बेचेर समस्या टार्दै जाने दाबी पनि गरे । गत असोजमा उद्योग बन्द हुँदा मौज्दात रहेको करिब १ लाख ५० हजार बोरा सिमेन्ट बेचेर केही समय उद्योगका कर्मचारी र मजदुरलाई तलब भुक्तानी गरेको उद्योगमा पछिल्लो समय तलब खुवाउन नसकेपछि मजदुरहरू आन्दोलित भएका थिए । निमित्त महाप्रबन्धक कर्णले मजदुरसँग उद्योग सञ्चालनमा आएपछि तलब उपलब्ध गराउने सहमति भएको दाबी गरे ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै