Page 145 – Nepalboli

अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए । अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए । आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन्भने अरू सकुशल आधार शिविर फर्किएका छन् ।

क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ । आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबुक’ मा लेखेका छन् ।

“सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो”, उनले सामाजिक सञ्जालमा लेखेका छन्,“अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।”

वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए ।

चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ ।

अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गर्नुभएको थियो । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ ।

पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

 

 

भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न

सर्लाही । नेपाल-भारत सीमाको सुरक्षामा सघन सहकार्य गर्ने उद्देश्यले सर्लाही, महोत्तरी, रौतहट र भारतको सीतामढी जिल्लाका सुरक्षा तथा प्रशासनिक निकायबिच संयुक्त बैठक सम्पन्न भएको छ । सोमबार साँझ भारतको सीतामढीमा आयोजित उक्त बैठकमा दुवै देशका सम्बन्धित जिल्लाका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीहरू, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू र भन्सार कार्यालयका प्रतिनिधिहरू उपस्थित रहेको थियो । भारत तर्फबाट सीतामढीका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी अधीक्षक, एसएसबी तथा भन्सार कार्यालयका पदाधिकारीहरू सहभागी भएका थिए ।

बैठकमा खुला सीमाका कारण बढ्न सक्ने आपराधिक गतिविधिहरू जस्तै लागुऔषध र मदिराको अवैध ओसारपसार, चोरी–तस्करी, अवैध मुद्रा कारोबार-नियन्त्रण गर्ने विषयमा छलफल गरिएको थियो ।

साथै, आपसी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने र सीमाक्षेत्रमा शान्ति तथा सुरक्षालाई सुदृढ बनाउने उपायहरूमा सहमति जनाइएको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार, यस्ता संयुक्त समन्वय बैठकहरू समयसमयमा गर्दै आइएको छ, जसले नेपाल–भारतबीचको सीमा सुरक्षा सहकार्यलाई थप मजबुत बनाएको छ ।

 

 

कलैया उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कलैयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ तथा सेनिटरी प्याड खरिदको ठेक्का पाएका सागरदेवी फर्माका प्रोपाइटर बिमलेश साहविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आव २०७७-७८ र आव २०७८-७९ का लागि मिलेमतोमा महँगोमा मूल्य कायम गरेर प्याड खरिद गरेको अनुसन्धानबाट पुष्टि भएपछि अख्तियारले ५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना मागदाबी गर्दै प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सागरदेवी फर्माका प्रोपाइटर साहसँग मिलेमतोमा महँगो मूल्य कायम गरी प्याड खरिद गरेको भेटिएपछि संलग्न प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो । सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिविपरीत ०७७ मंसिर १९ मा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीले प्रतिप्याकेट प्याडको मूल्य ७९ रुपैयाँ १ पैसा कायम गरिएको थियो । त्यसकै आधारमा लागत स्टिमेट तयार पारी खरिद योजना स्वीकृत गराइएकोमा खरिद प्रतिस्पर्धामा एकै परिवारका तीनजनाका नाममा रहेका फर्महरुबाट मात्रै बोलपत्र पेस भएको थियो ।

त्यसमध्ये सागरदेवी फर्माबाट पेस भएको ७८ रुपैयाँ प्रतिप्याकेट भुक्तानी गर्ने गरी ९६ हजार २ सय ८० प्याकेट प्याड खरिदको ठेक्का दिइएको पाइएको थियो । जबकी त्यही सेनिटरी प्याड आब २०७८-७९ मा प्रति प्याकेट २४ रुपैयाँका दरले खरिद भएकोमा अख्तियारले प्रतिप्याकेट ५४ रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित खरिद प्रक्रियामा संलग्न कर्मचारी र ठेकेदारलाई कसुरदार देखाएर हिनामिना भएको रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरुको बोलपत्र पेश गरीरगराई प्रति प्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी ठेक्का दिएकोमा आव २०७८-७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रति प्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएकोले पछिल्लो वर्षभन्दा अघिल्लो बर्ष प्रति प्याकेटमा ५४ रुपैयाँका दरले ९६ हजार २ सय ८० प्याकेटको जम्मा ५१, लाख ९ हजार १ सय २० रुपैयाँ बढी भुक्तानी गरेको हुँदा प्रतिवादीहरु प्रल्हादप्रसाद वर्णवाल, विजय अधिकारी, राजेश ठाकुर हजाम र दिव्या सर्राफलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।’

महँगोमा प्याड खरिद गर्ने ठेक्का हत्याएको भन्दै अख्तियारले सागरदेवी फर्माका सञ्चालक साहलाई मतियारका रुपमा हिनामिना भएको रकमअनुसार छुट्टै बिगो कायम गरी कैद र जरिवाना मागदावी लिइएको छ ।

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सोमबार सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँमा जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो ।

बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चितता लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

 

 

 

रवि लामिछाने रूपन्देही कारागार चलान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान हुनुभएको छ । दुई दिन जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा राखिनुभएका लामिछाने आज जिल्ला कारागार चलान हुनुभएको हो । सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उहाँलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उहाँलाई थुनुवा पुर्जी दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो ।

जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताउनुभयो ।

लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उहाँलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा राखिएको थियो ।

आज बिहान अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

त्यस्तै, जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत रूपन्देहीले दिएको रु एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

समान प्रकृतिको मुद्दामा एक जनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।

 

 

नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको नेताहरुको भनाई

गणेशमान सिंह फाउण्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा नेताहरुले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको बताउनुभएको हो ।

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र स्थापना गर्नमा भारतीय पूर्व प्रधानमन्त्री चन्द्रशेखरको ठुलो योगदान रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि धेरै ठुलो सहयोग गर्नुभएको छ, योगदान छ । उm बेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो । चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलापमा छैन भारत भन्ने पुष्टि भयो ।’

राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला मात्र भएको उहाँले बताउनुभयो । नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरुले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतविचको सम्बन्ध बहुआयामिक रहेको बताउनुभएको छ ।

उहाँले नेपाल र भारत नजिकको साथी भएको कारण कुनै पनि विषयमा रहेका समस्याहरु संवादमार्फत समाधान गर्न सकिने उल्लेख गर्नुभयो । विश्वपरिस्थितिमा आएको गतिशीलताले नेपाल–भारतसँगै दक्षीण एशियालाई नै सहकार्य र पारस्परिक समझदारीको बाटोमा अगाडि बढ्न आह्वान गरिरहेको उहाँको भनाइ छ । उहाँले नेपालको विकास र छिटो रुपान्तरण हुने चाहनामा भारत अझै उदार भएर सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । हामी असाध्यै नजिकका साथी हौं । नजिकको साथी भएको हुनाले कहिलेकाहिँ केही इस्युहरुमा समस्या देखा पनि पर्न सक्छन् । त्यसमा समाधान गर्न नसकिने कुनै पनि विषय छजस्तो मलाई लाग्दैन ।’

विश्वपरिस्थितिमा नयाँ नयाँ डाइनामिक्सहरु आइरहेको उहाँले चर्चा गर्नुभयो । त्यो डाइनामिक्सले नेपाल—भारत सम्बन्धलाई र दक्षीण एशियालाई अझ बढी घनिष्ट र सहकार्यको बाटोबाट, पारस्परिक समझदारीको बाटोबाट अगाडि बढ्न आह्वान गरिरहेको छ । भारतले जसरि तरक्कि गरिरहेको छ त्यो तरक्किसँग नेपाल पनि कुनै न कुनै हिसावले जोडिन चाहेको उहाँले धारणा राख्नुभयो ।

छरछिमेकमा आइरहेका विकासहरु सँगसँगै छोटो समयमा जनतालाई एउटा सुखी जीवन दिने नेपाली राजनीतिक दलहरुको चाहना रहेको उहाँले बताउनुभयो । नेपालको विकासको चाहनामा, विकासमा छिटो रुपान्तरण चाहने नेपालको चाहनामा भारत अझै बढी उदार भएर सहयोगी बनोस् उहाँले सुझाव दिनुभयो । फरक प्रसंगमा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्र हुनसक्ने बताउनुभयो ।

धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो ।

“धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्यान्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

 

 

 

शिक्षकको माग तुरुन्त सम्बोधन गरिनुपर्छ- काँग्रेस महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताउनु भएको छ । नेपाली काँग्रेस भातृसङ्गठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले सोमबार दमौली गरेको प्रशिक्षण कार्यक्रम तथा तरुण यात्रा पुस्तकको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो । शिक्षकका धेरै मागहरु सरकारको कार्यपालिकाको वैठकले नै सम्बोधन गर्ने खालको भएको महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाले भन्नुभयो, ‘शिक्षकको मागलाई तुरुन्त सम्बोधन गर्नुपर्छ कार्यपालिकाकै वैठकबाट समाधान गर्न मिल्ने खालका छन् ।’

मुख्य मागहरु मन्त्रीपरिषको बैठकबाट पुरा गर्ने र बाँकी मागहरु छिट्टै कानुन बनाएर पुरा गर्न सकिने उहाँको भनाई थियो । प्रकाशित गरेको पुस्तकको महामन्त्री थापाले बिमोचन गर्नु भएको हो । महामन्त्री थापाले तरुणले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्नुभयो ।

साथै महामन्त्री थापाले विपी स्मृति भवन दमौलीमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले जानकारी दिनुभयो । शिक्षकहरु सडकमा आएर लामो समय सम्म आन्दोलन गरिराख्नु पर्ने अवस्थाको अन्त्यको लागि गंभिर भएर सरकारले तत्कालै माग पुरा नभए अप्रिय घटना हुने स्थितीको सिर्जना हुने महामन्त्री थापाको भनाई थियो ।

काँग्रेसको महाधिवेशन २०८३ भित्रै हुनुपर्ने बताउनुभयो । आगामी २०८४ को निर्वाचन पछि अधिवेशन गर्न कानुनले नमिल्ने भएकोले वैशाखमा हुने स्थानीय तहको निर्वाचन अघि नै अधिवेशन हुने बताउनुभयो ।

समयमा अधिवेशन भएन भने काँग्रेसको चुनाव चिन्ह नै अन्य पार्टीले दल दर्ता गरेरै लैजाने जोखिम हुने उल्लेख गर्दै निर्वाचन अघि नै अधिवेधन हुने उहाँको थियो । महामन्त्री थापाले युवाहरुलाई राजनीतिक प्रशिक्षणको कमि भएकोले अवसरवादीहरुले मौका पाएको बताउनुभयो । राजनीतिक योगदान र गरेको कामको राम्रोसँग बुझाउन नसक्दा झुट्टो कुरा गर्नेले चुनावमा मत पाएको उहाँको भनाई थियो ।

युवाहरुलाई प्रमुख रोजगारीको क्षेत्र भनेको आईडी भएकोले उल्लेख गर्दै थापाले सूचना प्रविधिमा दक्ष हुँदा स्वदेशमै राम्रो कमाई गर्न सकिने बताउनुभयो । यसबाट आफ्नो देशको मात्रै नभई विदेशको समेत काम गर्न सकिने भएकोले युवाहरु आईटी सम्बन्धि ज्ञान लिए बेरोजगारीको अन्त्य हुने उहाँको भनाई थियो ।

बाम एकताको खाँचो- पूर्व प्रधानमन्त्री खनाल

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा बाम शक्तिहरुबिच एकताको खाँचो रहेको बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकामा सोमबार संचारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले जनताका काम गर्न र वैज्ञानिक समाजवाद लागु गर्नका लागि बाम शक्तिहरुबिच एकताको खाचो रहेको बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्री खनालले बाम शक्तिलाई नयाँ आधारमा एकता गर्नका लागि सिङ्गो कम्युनिष्ट पार्टीबिच पुर्नगठित गरेर एकता गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेताले एकता नरुचाए पनि जनताले कम्युनिष्ट पार्टी बिच एकता चाहेका छन्,’ उहाँले पुजीवादी जनवादले जनताका समस्या समाधान गर्न नसक्ने बताउदै बैज्ञानिक समाजवादको आवश्यक्ता रहेको बताउनुभयो ।

उहाँले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एसका अहिले नेतृत्व गरीरहेका नेताबाट बाम शक्ति एकता हुन नसक्ने भएका कारण नयाँ नेतृत्व सहित बाम एकता गर्न सकिने बताउनुभयो । पूर्व प्रधानमन्त्री खनालले नीति सिद्धान्तका आधारमा एमालेसंग कार्यगत एकता समेत हुन सक्ने बताउनुभयो ।

खनालले नेकपा एकीकृत समाजवादी समेत पार्टीको नीति र बिधान अनुसार चल्न नसकेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकारले जनताका काम गर्न नसकेको बताउदै दलहरुबिचको बेमेलका कारण गणतन्त्र कमजोर भएको बेला राजवादी सलबलाउन थालेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले नेपालमा संबैधानिक राजा फर्कने कुनै आधार नरहेका कारण राजावादी आन्दोलन र राजा फर्कने भ्रममा नर्पन समेत आग्रह गर्नुभयो । खनालले सूर्योदय नगर कमिटिले आयोजना गरेको कार्यक्रममा पार्टीको नीति, सिद्धान्त र आगामी रणनीति बारे अगुवा कार्यकर्तालाई प्रशिक्षण समेत दिनुभएको छ ।

 

 

 

नेपाल र भारत विच न्यायिक सहयोगको लागी समझदारी पत्रमा हस्ताक्षर

भारतको सर्वोच्च अदालत र नेपालको सर्वोच्च अदालत विच न्यायिक सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्नका लागि आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधानन्यायाधीश संजीव खन्नाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।

दुई देश र उनीहरूका जनताबीच रहेको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धबाट प्रेरित हुँदै यस समझदारी पत्रले दुई देशका न्यायपालिकाहरूबीचको सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्ने लक्ष्य राखेको छ । यस समझदारी पत्रले कानून र न्यायको क्षेत्रमा भएका पछिल्ला विकासहरूको बारेमा पारस्परिक जानकारीको आदानप्रदानलाई प्रोत्साहन गर्नुका साथै भ्रमणको आदानप्रदान, अल्पकालीन तथा दीर्घकालीन तालिम र शैक्षिक कार्यक्रमहरू जस्ता कार्यक्रमहरू मार्फत न्यायपालिकाका विभिन्न तहका न्यायाधीशहरू र अधिकारीहरूबीच अन्तरक्रियालाई पनि प्रवर्द्धन गर्नेछ ।

अधुरा कार्यहरु पूरा गर्न, अदालती प्रक्रियाहरूलाई तीव्र पार्न र सरोकारवालाहरूलाई राम्रो सेवा प्रदान गर्न प्रविधिको प्रयोगको महत्त्वलाई आत्मासात गर्दै यस समझदारी पत्रले सम्बन्धित अदालत र अन्य संस्थाहरूमा प्रयोग हुने प्रविधिसँग सम्बन्धित जानकारी साझा गर्ने व्यवस्था गरेको छ । समझदारी पत्रका अनुसार न्यायिक सहयोगलाई प्रवर्द्धन र थप सुदृढीकरण गर्न र यसका लागि योजना र ढाँचा तयार गर्न दुई न्यायपालिकाका अधिकारीहरू सम्मिलित एक संयुक्त कार्यदल गठन गरिनेछ ।

भारत सरकार र भारतको सर्वोच्च अदालतले यस अघि नै इजरायलको सर्वोच्च अदालत, सिंगापुर गणराज्यको सर्वोच्च अदालत, बंगलादेशको सर्वोच्च अदालत, भुटानको सर्वोच्च अदालत, ट्युनिसिया सरकार, जाम्बिया सरकार, मोरोक्को सरकार, माल्दिभ्स सरकार लगायत अन्य देशहरूरसंस्थाहरूसँग न्यायिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् ।