Page 143 – Nepalboli

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा उहाँले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहजरूपमा सेवा दिएर सुशासन कायम गर्ने विषयलाई प्रामथिकतामा राख्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरू पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोतसाधनको तयारी गर्नुपर्ने बताउनुभयो । सङ्घीय सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछ ।

सोअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुन्छ । सोको तयारीका लागि प्रधानमन्त्री ओलीले आज सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको थियो । “सुशासन कायम गर्ने विषयमा कसैसँग कुनै सम्झौता गर्नुहुँदैन । राजस्व सङ्कलनमा बदमासी पाइएमा संलग्न जोकोहीलाई तुरुन्त कारबाही गर्नुपर्छ । पर्याप्त राजश्व उठेपछि जनता केन्द्रत विकासमा खर्च गर्न सकिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्रोतको आधारविना बजेट ल्याउने हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ । आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन । बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्छ ।”

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताविना धेरै योजना राखिने, भएको पुँजीगत खर्च गर्न नसक्ने तर थप बजेट माग्नेलगायत अवस्था सुधारेर विधि र मापदण्डमा आधारित रही बजेट तर्जुमा गरिने बताउनुभयो । सोका लागि मन्त्रालयले आवश्यकता अनुसार सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरिरहेको उहाँको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व सङ्कलन ५५ प्रतिशत, कूल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत भएको छ ।

बुधबारदेखि देशभर बर्षा, इलाममा सबैभन्दा बढी वर्षा

बुधबारदेखि काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । बिहीबार जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ ।

विभागका अनुसार बुधबार बिहान ८ः४५ देखि आज बिहान ८ः४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरूमा मापन गरिएको थियो । २४ घण्टाको वर्षाको विवरणअनुसार २१२ वटा केन्द्रमा वर्षा भएको छ ।

“उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा बरफल्याङ्ग केन्द्रमा १००।२ मिमी भएको छ, वर्षा मापन गरिएका केन्द्रहरूमध्ये छ वटा केन्द्रहरू ९सर्लाही, पर्सा, उदयपुर, रौतहट, सप्तरी, धनुषामा ५० मिमीभन्दा बढी वर्षा भएको छ”, विभागद्वारा जारी दैनिक मौसम बुलेटिनमा भनिएको छ ।

विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मोसमविद् हरिप्रसाद दाहालले हाल लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका अधिकांश स्थान र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिनुभयो । “हाल पश्चिमी वायुको सामान्य प्रभाव छ । आगामी शनिबारसम्म नै मौसम बदलीको सम्भावना छ”, उहाँले भन्नुभयो ।

वर्षासँगै वायु प्रदूषण पनि कम भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’कोे तथ्याङ्कअनुसार बुधबार मध्याह्नमा उपत्यकाको वायु प्रदूषण १७७ एक्युआई रहेकामा आज भने प्रदूषण घटेर १५४ एक्युआइमा झरेको छ ।

 

पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न महानगरप्रमुखको निर्देशन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । आज पुरातात्विक महत्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उहाँले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त हिटी कामपाको वडा नम्बर ७ गङ्गाहिटी मार्गमा पर्दछ । अनुगमनका क्रममा प्रमुख शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमण, पानीको प्रवाह र निकासका बारेमा जानकारी लिनुभएको थियो । भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गङ्गाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रूपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख शाहले पुरानो पानीको स्रोत पहिचान गरेर उपयोगको सम्भावना खोज्न निर्देशन दिनुभएको हो ।

कामपा ७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ हिटी छन् । जसमध्ये आठ अस्तित्वमा छन् । वाहिटी, गङ्गाहिटी, गणेशधारा, भैरव हिटी र मित्र धारा वडामा भएका हिटी रहेका भन्दै सङ्कटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“स्थानीय प्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा कामपाले पुरिएको अवस्थामा हिटी फेला पारेको थियो । हिटीमाथि दुईतले पक्की संरचना थियो । यो संरचनालाई टोल सुधार समितिले भोगचलन गर्दै आएको थियो । यसको माथिल्लो तलामा कार्यालय र जमिन तलामा व्यावसायिक सटर थिए”, उहाँले भन्नुभयो । टोल सुधार समितिको समन्वयमा पक्की संरचना हटाएर हिटीको उत्खनन सुरु गरिएको हो । सम्पदा तथा पर्यटन विभागले यही चैत १० गतेदेखि दैनिक १० जना कामदार परिचालन गरेर उत्खनन गरिरहेको छ ।

उत्खननका क्रममा अहिलेसम्म हिटीको ‘माअप्पा’ (मुख्य पर्खाल) र ढुङ्गेधारा भेटिएको छ । करिब सात फिट गहिराइसम्मको उत्खननपछि यी संरचना भेटिएका हुन् । अभिलेख उद्धृत गर्दै सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईले भन्नुभयो, “यो अठारौँ शताब्दीमा निर्माण गरिएको हो । विसं १९४० मा यसको जीर्णोद्धार गरिएको पाइन्छ । हिटीको लम्बाइ २५ फिट तीन इञ्च र चौडाइ १५ फिट रहेको विवरण छ । उत्खनन कार्य नियालिरहेका स्थानीयका अनुसार २०२८ सालतिर चक्रपथको काम गर्दा पानीको स्रोत बन्द भयो । अहिले यहाँ खानेपानीको पाइप जडान भएको छ ।”

 

 

म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ ।

ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

पुल बनेपछि डेढ घन्टाको बाटो छोटियो १५ मिनेटमा

गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन्। पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए। पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोडेको छ।

सिग्देलले भने, तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ, केही समयभित्रै व्यवस्थापन गरी पुलको उद्घाटन गरिने छ।

पुल निर्माणको काम युनाइटेड विल्डर्सले पाएको थियो। कूल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा निर्माण गरिएको हो। डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा२७ करोड लगानी भएको छ ।

कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य थिए। पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ ।

डेढ घण्टाको बाटो १५ मिनेटमा छोटियो

घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि डेढ घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ। चिन्नखोलामा ९२ मिटर लामो झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोटिएको हो। यहाँ पुल नहुँदा यस भेगका जनताले घुमाउरो बाटो हिँड्नुपर्नेमा पुल बनेपछि सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताए।

यहाँ पुल नहुँदा यस भेगका जनतालाई दुःख थियो, पुल बनेपछि सहज भयो, उनले भने।

४५ लाख ६८ हजार १९२ को लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो। पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले पाँच लाख ९५ हजार ९८५ लागत साझेदारी गरेको जानकारी दिए।

त्यस्तै स्थानीयवासीले ८९ हजार २४२ बराबरको श्रमदान गरेका थिए । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत ३८ लाख ६७ हजार ७७३ विनियोजन भएको थियो।

पुल निर्माणका लागि उपभोक्ता समितिसँग २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र विसं २०८२ असार १५ गतेसम्म म्याद रहेकामा म्याद अगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताए।

पुल निर्माणपश्चात ११८ घरपरिवारका ९५४ जना लाभान्वित भएका छन्।

 

 

 

 

 

तीनकुने प्रदर्शन क्रममा तोडफोड र आगजनीमा उत्रिएका थप ३ जना पक्राउ

गत चैत १५ गते काठमाडौँको तीनकुने प्रदर्शनमा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी लगायतका कार्यमा संलग्न थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ का ३१ वर्षीय शिशिर जिसी, कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६१ वर्षीय डण्डपाणी रेग्मी र सर्लाहीको मिर्चैया नगरपालिका–६ का ४६ वर्षीय मनोज कुमार सापकोटा रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार उनीहरूमाथि अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान

नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । यान्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् ।

सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र पत्रकारलगायत थिए ।

त्यसअवसरमा सहसचिव अधिकारीले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै म्यानमार सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपालमा २०७२ सालको भूकम्पको समयमा म्यानमार सरकारले गरेको सहयोग स्मरणसमेत गरे ।

“म्यानमारमा भूकम्पले ठूलो क्षति गरेको छ, यस्तो अवस्थामा नेपाल सरकार र निजी क्षेत्रबाट प्राप्त २७ टन बराबर राहत सामग्री यहाँको सरकारलाई उपलब्ध गराइएको हो”, सहसचिव अधिकारीले भने, “नेपाल सरकारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछ, यस प्रकारको सहयोग आदानप्रदानले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्नेछ ।”

त्यस अवसरमा म्यानमारका सरकारी प्रतिनिधि हेयू वाई लुविनले उक्त सहयोगका लागि नेपाल सरकारलाई धन्यवाद दिए । उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे संक्षिप्त जानकारी दिएका थिए । उनका अनुसार भूकम्पमा परी हालसम्म तीन हजार ५९० भन्दा बढीको मृत्यु भइसकेको छ भने चार हजार ८०० भन्दा बढी घाइते र १४८ बेपत्ता छन् ।

म्यानमार लागि नेपाली राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपाली म्यानमारमा रहेको उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको जानकारी दिए ।

म्यानमारको सघाइ प्रान्तलाई केन्द्रविन्दु बनाएर यही अप्रिल २८ मा सात दशमलव सात रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो । “भूकम्पका कारण अझै १५ जना नेपाली नागरिक बेपत्ता छन्, उहाँहरूको खोजी भइरहेको छ, घाइतेहरूको उपचार जारी छ”, राजदूत घिमिरेले भने।

म्यानमारस्थित नेपालीहरूको छाता सङ्गठन अखिल म्यानमार गोर्खा हिन्दु धार्मिक संस्थामा करिब २५० जना भूकम्प प्रभावित नेपालीहरूले आश्रय लिएको पनि उनले जानकारी दिए । नेपाली सेनाको चिकित्सकको टोलीले विगत सात दिनदेखि म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा पुगी सेवा दिइरहेको छ । नेपाली सेनाको टोलीले हालसम्म एक हजार ३०० भन्दा बढीको उपचार गरिसकेको उनले जानकारी दिए । उनका अनुसार उक्त टोलीले आठ जना जटिल अवस्थाका घाइतेको सफल शल्यक्रिया गरिसकेको छ ।

ढुक्क भएर लगानी गर्नुहोस्- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग-व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभएको हो।

आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो। “कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन। मानिसकलाई सहजरुपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ। हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ। हरेक क्षेत्रमा सम्भवना छ भनेर तपाईँहरुले कन्भिन्स गर्न सक्नुहुन्छ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “चेम्बर आफैमा एकता र साथ सहयोगका रुपमा निर्विवाद संस्थाका रुपमा अगाडि बढिरहेको देखेर मलाई खुसी लागेको छ। यो संस्था आफ्ना निम्तिमात्रै होइन, देश र समाजका लागि नयाँ सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नु असाधारण महत्वको विषय हो। यस क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने कुरामा कुनै कमी हुँदैन। देशमा उद्योग व्यवसाय फस्टाउने सबालमाा हामी सँधै पवित्र र निकट सम्बन्ध राखेर सहकार्य गर्नेछौँ। यो निकट सम्बन्ध कुनै कमिसनका लागि अवश्य होइन। देश बनाउने सबालमा हो।”

प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशप्रति चेम्बरजस्ता संस्थाले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैली प्रशंसनीय रहेको बताउनुभयो।

“आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरुको पनि सहयोग चाहिन्छ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरु मिलेर सरकार बनेको छ। त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशीला कायम रहन्छ। त्यसकारण तपाईहरु ढुक्क भएर लगानी गर्नुस्। देशको विकासका योगदान गर्नुस्।”

चेम्बर, एउटा सरकार र निजी क्षेत्रबिचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी–व्यवसायीलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो।

 

 

 

 

 

 

सार्वजनिक विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा समिति सचिव सञ्जय दाहालले बिहीबार समितिले पुरातत्व विभागको भ्रमण गर्ने जानकारी दिनुभयो । बिहीबार बिहान ११ बजे विभागको भ्रमण गर्ने र सम्पदा संरक्षणको विषय विभागका पदाधिकारीहरूसँग छलफल गरिने दाहालले जानकारी दिनुभयो ।

बैठकले समितिको वार्शिक कार्यतालिकाको समेत समीक्षा गरेको छ । समिक्षामा सहभागी सांसदहरूले समितिले गरेका निर्णय र उपसमितिका प्रतिवेदनहरू अभिलेखको रूपमा नराखिएको समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।

 

भारतीय कृषिमन्त्री शिवराज चौहान काठमाडौमा, तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न

काठमाडौंमा बुुधवार तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । बैठकमा भारतीय कृषीमन्त्री शिवराज चौहान सहित बिमेस्टेकका अन्य सहभागी देशहरुवाट समेत प्रतिनिधीहरु सहभागी भएका छन । मन्त्रीस्तरिय बैठकमा ३ देशका मन्त्रीहरूको सहभागिता रहेको थियो । बाकी ४ सदस्य राष्ट्रका मन्त्री तथा प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए ।

बैठकको अध्यक्षता गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बैठकमा सहभागीहरूलाई स्वागत गर्दै कृषि क्षेत्रको विकासका लागि बिम्स्टेक सद्स्री राष्ट्रहरूको सहकार्यमा जोड दिए । जल वायु परिवर्तन, विषादीको बढ्दो प्रयोगले बिम्स्टेक अन्तरगतका राष्ट्रहरूमा चुनौती थपेको उल्लेख गर्दै मन्त्री अधिकारीले यसको सामना गर्न सदस्य राष्ट्रबीचको सहकार्य आवश्यक रहेको बताए ।

भारतका कृषिमन्त्री शिवराज चौहानले बिमस्टेक राष्ट्रहरूमा कृषि, पशुपन्छी, तथा मत्सय पालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिए । यस अघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । आज बसेको मन्त्रीस्तरीय बैठकले यसलाई अनुमोदन गरेको हो ।

आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहान बिच द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिए । भेटवार्तामा भारतीय कृषिमन्त्री चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो सग पनि दिपक्षिय भेटवार्ता भएको छ । भेटवार्तामा कृषिमन्त्री अधिकारीले भुटान र नेपाल बिच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटान बिच याकको विकासमा सहकार्य गर्न सकिने बताए ।

भुटानका मन्त्रीले दुई देशका प्रयासहरू समान र साझा रहेकाले नेपाल र भुटान बिच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको उल्लेख गरे । भेटवार्तामा दुवै देशको कृषि मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

नेपाल स्थित भारतीय दुतावासका अनुसार भारतका माननीय ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आज नेपालद्वारा काठमाडौंमा आयोजना गरिएको तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम) मा सहभागिता जनाउनको लागि मंगलवार काठमाडा आईपुुगेका हुन । उनी विहिवार सम्म नेपालको औपचारिक भ्रमणमा रहेको दुतावासले जनाएको छ ।

विगत एक दशकमा बंगालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक समुन्नतिलाई प्रवर्द्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण मञ्चको रूपमा उदय भएको छ । कृषि र खाद्य सुरक्षाू बिम्स्टेक सहयोगको मुख्य क्षेत्रहरू मध्यको एक हो । क्षेत्रीय कृषि सहयोगलाई आकार दिन सर्वोच्च निर्णय लिने निकायको रुपमा रहेको बिएएमएमको यो तेस्रो बैठक थियो । बिएएमएमको पहिलो बैठक मिति २०७६ असार २७ गते म्यानमारमा भएको थियो र त्यसपछिको दोस्रो बिएएमएमको बैठक मिति २०७९ कात्तिक २४ गते भारतमा सम्पन्न भएको थियो । तेस्रो बिएएमएमको समयमा कृषि मन्त्रीहरूले मत्स्यपालन र पशुपन्छी सहयोग सहित बिम्स्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यमहरूमा छलफल गर्नुभयो ।

भ्रमणको क्रममा आज भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीले आफ्ना समकक्षी नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्रीसँग द्विपक्षीय बैठक पनि गर्नुभयो । वहाँले तेस्रो बिएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकोमा आफ्ना समकक्षीलाई बधाई दिनुभयो । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुभयो र थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल गर्नुभयो ।

भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालय र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा दुवै मन्त्रीहरूले आज काठमाडौंमा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौताले दुई देशबीच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस सम्झौताले मिति २०४८ मंसिर २० गते कृषि सहयोगका लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ ।

भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्रीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । वहाँले भारतको नेतृत्वको तर्फबाट अभिवादन व्यक्त गर्नुभयो र भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको बारेमा छलफल गर्नुभयो जसले ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत र जनता जनताबीचको सम्बन्धमा गहिरो जरा गाडेको छ । कृषिका विभिन्न क्षेत्रहरूमा भारत-नेपाल सहयोगलाई थप सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको थियो ।