Page 133 – Nepalboli

राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्दै

नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब बराबर तरलता खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । राष्ट्र बैंकले सूचना जारी गरेर यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने जानकारी दिएको छ ।

राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरण मार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज फेरि उक्त परिमाण बराबर रकम तान्न लागेको हो । निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् ।

आगामी ११ जेठमा साँवा तथा ब्याज भुक्तानी हुने निक्षेप संकलनको उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व संकलन

वीरगञ्ज । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६१ दशमलव ३४ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए ।

कार्यालयले साउन रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो । त्यस्तै मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड, फागुनमा रु चार अर्ब ६८ करोड र चैतमा रु चार अर्ब ५० करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व ससंकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, सबैभन्दा बढी भारतबाट

सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए ।

सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए । ‘हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छौं, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ’, बोर्डले उल्लेख गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवर्द्धक रहेको बताए । ‘यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो’, उनले भने ।

बोर्डको विवरणमा वर्षको चार महिना (जनवरी–अप्रिल) को अवधिमा चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका थिए ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल २२ गतेबाट सुरु हुने

सरकारले सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ । सभामुख देवराज घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा वैशाख २२, २३, २४, २५, २६ छलफल हुने र २८ सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरेको जानकारी दिएका हुन्।

छलफलमा भाग लिने सांसदहरूको नाम सम्बन्धित दलका पदाधिकारीले संसद् बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै कार्य व्यवस्था शाखा प्रतिनिधिसभा सङ्घीय संसद् सचिवालय नयाँ बानेश्वरमा उपलब्ध गराउनुपर्ने घिमिरेले बताए।

त्यस्तै नीति तथा कार्यक्रममाथि दुई दिन संशोधन पेस गर्ने समय पनि सभामुख घिमिरेले तोकेका छन्। घिमिरेले वैशाख २० र २१ गते बिहान ११ बजेदेखि दिनको ३ बजेभित्र कार्य व्यवस्था शाखामा संशोधनको प्रस्ताव दिन सकिने समय तोकेको जानकारी सदनमा दिए। उनले संशोधनको सूचना फाराम त्यही शाखामा नै पाइने जानकारी दिए।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ।

 

नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।

बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राख्नुभएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।

 

बजेट अधिवेशनबाट ९ विधेयक पारित गर्ने सरकारको घोषणा

सरकारले चालु बजेट अधिवेशनबाट ९ विधेयक पारित गर्ने घोषणा गरेको छ। सरकारको आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्दै यही अधिवेशनबाट ९ विधेयक पारित गर्ने बताएका हुन्।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा यही अधिवेशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राएर सेवा प्रदायक र नियामक छुट्टाउने विधेयक, सङ्घीय निजामती सेवा विधेयक, ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक, भूमिसम्बन्धी विधेयक पारित गर्ने बताएका हुन्।

सरकारले भूमिसम्बन्धी अध्यादेश जारी गरे पनि सत्तारुढ दलहरूबिच नै मतैक्यता नभएपछि सङ्घीय संसद् सचिवालयमा दर्ता गरेर अघि नबढाई होल्डमा राखिएको थियो। त्यही बेलै अध्यादेशलाई विधेयक बनाइ नियमित प्रक्रियाबाट पास गर्ने बताएको सरकारले नीति तथा कार्यक्रममा यही अधिवेशनबाट सो विधेयक पारित गर्ने घोषणा गरेको हो।

सभामुख देवराज घिमिरेले भने बजेट अधिवेशनमा विधेयक भन्दा बजेट प्राथमिकतामा रहने अधिवेशन सुरु गर्ने दिन सम्बोधनका क्रममा बताएका थिए।

सङ्घीय सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने

आगामी आर्थिक वर्ष २०८२-८३ मा सङ्घीय सरकारले जीडीपीको पाँच ५ प्रतिशत नबढ्ने गरी आन्तरिक ऋण लिनसक्ने भएको भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२-८३ का लागि संघ, प्रदेश र स्थानीय सरकारले लिनसक्ने आन्तरिक ऋणको निर्धारण गर्दै उक्त सिफारिस गरेको छ ।

अयोगले गरेको सिफारिसमा भनिएको छ, ‘नेपालको समष्टिगत आर्थिक स्थिति, राजस्व र खर्चको अनुमान र बजार सहजता समेतको विश्लेषण गरी नेपाल सरकारले आर्थिक वर्ष २०८२-८३ का लागि अनुमानित कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतमा नबढ्ने गरी राष्ट्रिय नीतिरयोजनामा आधारित भई लागत लाभ विश्लेषणबाट आन्तरिक प्रतिफल दरवा खुद वर्तमान मूल्य उपयुक्त देखिएका आयोजनारपरियोजना कार्यान्वयनका साथै, राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी आयोजना र मध्यमकालीन खर्च संरचनाअन्तर्गतको पहिलो प्राथमिकता प्राप्त आयोजनाका लागि आन्तरिक ऋण उठाउन सक्नेछ ।’

प्रदेश सरकारहरुले आन्तरिक ऋण परिचालनको संरचनागत र प्रक्रियागत प्रवन्ध पूरा भएको अवस्थामा आर्थिक वर्ष २०८२-८३ मा नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी त्यस्तो ऋण लिनसक्ने गरी सीमा तोकिएको छ । आयोजनारपरियोजना कार्यान्वयनका लागि नेपाल सरकारको स्वीकृतिमा आन्तरिक ऋण उठाउन सक्नेगरी आयोगले सिफारिस गरेको छ ।

त्यस्तै, स्थानीय सरकारलाई पनि ऋणको सीमा तोकिएको छ । स्थानीय सरकारहरुले आन्तरिक ऋण परिचालनको संरचना र प्रकृयागत प्रवन्ध पूरा भएको अवस्थामा आर्थिक वर्ष २०८२-८३ मा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटको रकम र स्थानीय सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी राष्ट्रिय, प्रादेशिक र स्थानीय नीतिरयोजनामा आधारित भई आयोजनारपरियोजना कार्यान्वयनका लागि आन्तरिक ऋण उठाउन सक्नेछन् ।

 

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संसदमा प्रस्तुत

सरकारको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२-८३ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गर्नुभएको हो ।

सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन आर्थिक वर्ष २०८२-०८३ मा कार्यान्वयन गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै राष्ट्रपति पौडेलले सो प्रतिवेदन कार्यान्वयन गर्दै अर्थतन्त्र चलायमान बनाउने बताउनुभएको हो।

पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले सरकारलाई सो प्रतिवेदन बुझाइसकेको छ । रोजगारी सिर्जना र गरिबी निवारणका लागि सार्वजनिक, सहकारी र निजी क्षेत्रबिच सहकार्य कार्यान्वयन गर्ने समेत उहाँले बताउनुभयो ।

उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक निजी, साझेदारीलाई प्रोत्साहन गर्नेसमेत उहाँले जानकारी दिनुभयो । साथै वित्तिय तथा मौद्रिक नीतिबिच सामञ्जस्य कायम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रम

भारतको विदेश मन्त्रालयद्वारा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त

भारतका विदेश मन्त्रालयले भुवनेश्वरस्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत उक्त दुःखद घटनाबारे जानकारी प्राप्त भएदेखि ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गर्ने र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

भारत सरकारले सबै अन्तरराष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको जनाएको छ । “हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकार साथै केआइआइटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौँ”, विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा

नेपाल विद्युत् प्राधिकरणले हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको जनाएको छ। शुक्रबार काठमाडौँमा श्वेत पत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको बताएका हुन्।

उनका अनुसार आर्थिक वर्ष २०८०-०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिएको शाक्यले बताए।

उनले हाल प्राधिकरणसँग नगद मौज्दात नभएकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । प्राधिकरणमा नेपाल सरकारको शेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, सञ्चित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको शाक्यले बताए । उनले १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गरे।

त्यस्तै प्राधिकरणले २०८१ असार मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित २०८१ फाल्गुनसम्म प्राधिकरणको जम्मा बक्यौता ४४ अर्ब ५४ करोड रहेको जनाएको छ ।

२०८१ माघ महिनासम्म प्राधिकरणको कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको र आन्तरिक उच्चतम माग २ हजार ३ सय ३७ रहेको जानकारी गराएको छ । त्यस्तै प्राधिकरणले हालसम्म ११ हजार १ सय ८५ मेगावाट क्षमताको विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको जनाएको छ ।