भारतले (अपरेशन सिन्दूर) नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानी सेनाको संरक्षणमा रहेको नौ आतङ्ककारी शिविरहरु माथी हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
यो कारबाही अप्रिल २२ मा पहलगाम घटना पश्चात भारत ले गरेका हुन । जसमा एक नेपाली सहित २६ भारतीय पर्यटकको मृत्यु भएको थियो। संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
भारत सरकारले २२ तारिखको घटना पश्चात पाकिस्तानी संगको विभिन्न सन्धी सम्झौता रद्ध गर्दै त्याहाका आतंककारीहरु माथी कारवाही गर्न माग गरेका थिए । जसको विश्वव्यापी रुपमा समर्थन गरिएको छ । तर पाकिस्तानीले कुनै कारवाही अगाडी नवढाए पछि भारतले मंगलवार राती एक वजे पाकिस्तानमा त्याहाका सेनाद्धारा संरक्षित रहेको भनिएको ९ आतंककारी शिविरहरु माथी हमला गरेर ती शिविरहरु ध्वस्त बनाएका छन ।
मंगलवार रातीको भारतीय कारवाही पश्चात भारतीय विदेश सचिवले पत्रकार सम्मेलन गरेर दिएको वक्तव्यः
श्री विक्रम मिस्री, विदेश सचिव – शुभ प्रभात । यस बिफ्रिङ्गमा यहाँहरुको सहभागीताका लागि धन्यवाद ।
यहाँहरु सबैलाई विदितै छ, यही अप्रिल २२ गते लश्कर–ए–तैयबासँग जोडिएका पाकिस्तानी र पाकिस्तानद्वारा प्रशिक्षित आतङ्ककारीहरुले भारतको जम्मू र कश्मीरको पहलगाममा भारतीय पर्यटकहरुमाथि बर्बरतापूर्वक आक्रमण गरेका थिए । उनीहरुले एक नेपाली नागरिक सहित २६ जनाको हत्या गरेका थिए जसमा सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको हमला पछि भारतमा भएको आतङ्कवादी हमलामा सबैभन्दा धेरै नागरिक हताहत भएका थिए ।
पहलगाम आक्रमण चरम बर्बरताले भरिएको थियो जसमा धेरै जसो पीडितहरुलाई उनीहरुको परिवारको सामुन्ने र निकै नजिकबाट टाउकोमा गोली हानी हत्या गरिएको थियो । हत्यामा अपनाइएको तरिकाले परिवारका सदस्यहरुलाई जानाजान आघात पुर्याइएको थियो, साथै उनीहरुलाई सन्देश बोकी जान भनी उपदेश दिइएको थियो ।

यो आक्रमण स्पष्ट रुपमा जम्मू र कश्मीरमा फर्किरहेको सामान्य अवस्थालाई कमजोर पार्ने उद्देश्यले गरिएको थियो । विशेष गरी यो हमला गत वर्ष २३ मिलियन पर्यटकले भ्रमण गरेको रेकर्ड रहेको यस उपत्यकाको अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई असर गर्ने उद्देश्यले डिजाइन गरिएको थियो । खास गरी यहाँको विकास र गतिलाई हानी पुर्याए यसले यस क्षेत्रलाई सधै पछाडी पारिराख्ने र पाकिस्तानबाट हुने निरन्तर सीमापार आतङ्कवादका लागि उर्बर भूमि निर्माण गर्न मद्दत गर्ने उनीहरुको आकलन थियो ।
जुन तवरले आक्रमण गरिएको थियो त्यसको उद्देश्य नै दुवै जम्मू र कश्मीर र बाँकी देशमा कलह भड्काउने उद्देश्यले गरिएको थियो । यी योजनाहरु विफल हुनुमा सरकार र भारतका जनतालाई श्रेय जान्छ ।
आफूलाई ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) भनी चिनाउने समूहले सो आक्रमणको जिम्मा लिएको छ । यो समूह संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित पाकिस्तानी आतङ्कवादी समूह, लश्कर–ए–तैयबाको लागि काम गर्ने एक मोर्चा हो । उल्लेखनीय छ कि भारतले सन् २०२४ मे र नोभेम्बरमा संयुक्त राष्ट्र संघको १२६७ प्रतिबन्ध समितिको अनुगमन टोलीलाई अर्धवार्षिक प्रतिवेदनमा पाकिस्तानमा रहेका आतङ्कवादी समूहका लागि काम गर्ने टीआरएफ बारे जानकारी दिएको थियो । यसअघि पनि, सन् २०२३ डिसेम्बरमा भारतले अनुगमन टोलीलाई टीआरएफ जस्ता साना आतङ्कवादी समूहहरुमार्फत लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले काम गरिरहेको बारेमा जानकारी गराएको थियो । यस सन्दर्भमा अप्रिल २५ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रेस विज्ञप्तिमा टीआरएसँग सम्बन्धित प्रसङ्ग हटाउन पाकिस्तानले दिएको दबाब उल्लेखनीय छ ।

पहलगाम आतङ्कवादी आक्रमणको अनुसन्धानले आतङ्ककारीहरुको पाकिस्तानमा र पाकिस्तानसँग सम्पर्क रहेको देखाएको छ । द रेसिस्टेन्स फ्रन्टले गरेका दाबी र लश्कर–ए–तैयबाको सामाजिक सञ्जाल ह्यान्डलहरुबाट गरिएको रिपोस्टले पनि यसलाई पुष्टि गरेको छ । प्रत्यक्षदर्शीहरुको बयान र कानूनी निकायहरुसँग उपलब्ध अन्य जानकारीको आधारमा आक्रमणकारीहरुको पहिचान जस्ता कार्यहरु अघि बढिसकेका छन् । हाम्रा गुप्तचर निकायले यस टिमका लागि काम गर्ने योजनाकार र समर्थकहरुको वास्तविक तस्वीर पनि फेला पारिसकेको छ ।
यस आक्रमणका विशेषताहरु पाकिस्तानले भारतमा गर्ने सीमापार आतङ्कवादको लामो ट्रयाक रेकर्डसँग पनि सम्बन्धित रहेका छन् जसलाई राम्रोसँग अभिलिखित गरिएको छ र ती प्रश्नभन्दा बाहिर रहेका छन् । विश्वभरका आतङककारीहरुका लागि आश्रयस्थलको रुपमा पाकिस्तान कहलिएको छ र अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धित आतङ्ककारीहरु दण्डको डर नबोकी बसिरहेका छन् । यसका साथै यस विषयमा विश्वलाई तथा वित्तीय कार्यवाही कार्यदल जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुलाई जानाजानी भ्रमित गर्ने कुरामा पाकिस्तान परिचित रहेको छ । यसको सबैभन्दा ज्वलन्त उदाहरण साजिद मीरको मुद्दा हो जसमा उक्त आतङ्ककारीलाई मृत घोषित गरिएको थियो र पछि अन्तर्राष्ट्रिय स्तरबाट दबाब आएपश्चातको प्रतिक्रियामा पुनःजीवित पारिएको थियो र त्यसपछि जीवित फेला पारी पक्राउ गरिएको थियो ।
पछिल्लो समयमा पहलगाममा भएको आक्रमणले जम्मू कश्मीर र भारतका अन्य भागहरुमा समेत गहिरो आक्रोश उत्पन्न गरेको छ । उक्त आक्रमणपश्चात भारत सरकारले पाकिस्तानसँगको आफ्नो भूमिकासँग सम्बन्धित रहेर प्रारम्भिक कदमहरुका साथ स्वभाविक रुपमा प्रतिक्रिया दिएको छ । यहाँहरु सबैलाई अप्रिल २३ गते घोषणा गरिएका निर्णयहरु बारे थाहा नै छ ।

यद्यपि अप्रिल २२ गतेको आक्रमणका दोषी र योजनाकारहरुलाई न्यायको कठघरामा ल्याउनु आवश्यक थियो । आक्रमण भएको दुई साता बितिसक्दा पनि पाकिस्तानबाट आफ्नो भूभाग वा आफ्नो नियन्त्रणमा रहेको भूभागमा रहेको आतङ्कवादी पूर्वाधार विरुद्ध कारबाही गर्न कुनै ठोस कदम चालिएको छैन । त्यसको सट्टा उसले अस्वीकार र आरोप मात्र लगाएको छ । हाम्रो गुप्तचरले पाकिस्तानमा रहेका आतङ्कवादी मोड्युलहरुको अनुगमनपछि भारत विरुद्ध थप आक्रमणहरु हुने संकेत गरेको थियो । तसर्थ यसलाई रोक्नु र यस विरुद्ध पूर्वतयारी गर्नु दुवै हाम्रा लागि बाध्यता थियो ।
यहाँहरुलाई थाहा भएकै होला कि आज बिहानै भारतले यस्ता सीमापार आक्रमणहरु विरुद्ध प्रतिक्रिया दिने, पूर्वतयारी गर्ने र यसलाई रोक्ने आफ्नो अधिकारको प्रयोग गरेको छ । यी कार्यहरु आकलित, नभड्किने खालका, आनुपातिक र जिम्मेवारपूर्ण थिए । यी कार्यहरु आतङ्कवादी पूर्वाधारलाई ध्वस्त पार्ने तथा भारत पठाइने सम्भावित आतङ्ककारीहरुलाई निमिट्यान्न पार्ने कुरामा केन्द्रित थिए ।
यहाँहरुलाई याद होला कि सुरक्षा परिषद्ले यही अप्रिल २५ गते पहलगाम आतङ्कवादी हमलाको बारेमा एक प्रेस विज्ञप्ति जारी गरेको थियो । त्यसलाई यहाँ मैले उद्धृत गरेको छु, “यस निन्दनीय आतङ्कवाद कार्यका दोषी, योजनाकार, यसलाई आर्थिक र अन्य तवरले सघाउ पुर्याउनेहरुलाई जवाफदेही बनाउने र न्यायको कठघरामा उभ्याउने आवश्यकता रहेको छ”। भारतले गरेको पछिल्लो कार्यलाई यसै सन्दर्भमा हेरिनुपर्दछ ।
आज बिहानै गरिएको हाम्रो कार्यहरुको बारेमा बिफ्रिङ्ग गर्न मसँगै कर्णेल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंह उपस्थित हुनुहुन्छ । म वहाँहरुलाई अपरेशन सिन्दूरको बारेमा केही विवरणहरु यहाँहरु सबैसँग साझा गर्न अनुरोध गर्नेछु ।