Page 130 – Nepalboli

ब्रह्मले देखेको लेख्न गोरखापत्र स्वतन्त्र छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गोरखापत्र ब्रह्मले देखेको लेख्न स्वतन्त्र रहेको बताउनुभएको छ । हिजो राणा र राजाको शासनमा राज्यको इसारामा चल्नुपर्ने बाध्यता बोकेका गोरखापत्रका सम्पादक आज लेख्नका लागि स्वतन्त्र रहेको उल्लेख गर्नुभएको हो ।

गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

‘‘गोरखापत्रले धेरै उतारचढाब देखेको छ । यसलाई झेलेको छ । कत्ति गाह्रो थियो होला सम्पादकीय लेख्न ? आज तपाईं के सम्पादकीय लेख्नुहुन्छ ? कहिल्यै सरकारबाट दबाब हुँदैन । प्रधानमन्त्रीबाट दबाब र नियन्त्रण केही छैन । आज तपाईंहरू आफ्नो ब्रह्मले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुहुन्छ ।’

गोरखापत्रको १२५ औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुँदै गोरखापत्र, गोरखापत्र परिवार, गोरखापत्रका पाठक र अध्ययता सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले अब प्रविधिले फड्को मारेको र डिजिटल युगमा एआईको प्रयोग गरेर छिटो काम गर्न सकिने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले एकसाथ परिवर्तन नभए पनि गोरखापत्रमा विस्तारै परिवर्तन भइरहेको बताउनुभयो ।

१०४ वर्षको उथलपुथल, राज र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोखापत्रले आजको परिवर्तनलाई अङ्गिकार गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले पञ्चायतमा राणा शासनलाई जहानियाँ भन्दा राजतन्त्रलाई किन नभन्ने भन्ने विषय आएको उल्लेख गर्नुभयो । उहाँले गोरखापत्रले राजनीतिक परिवर्तन र निर्ममतासँगै योद्धाले आवाज उठाउँदा बिना कारण दुःख दिएको कुरा उठाएको सम्झना गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गोरखापत्रको वार्षिकोत्सवको अवसरमा देशको राजनीतिक परिवर्तनका लागि सङ्घर्ष गर्ने योद्धाकोसमेत सम्झना गर्नुभएको छ ।

 

 

 

 

 

 

 

 

 

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गर्नुभएको छ ।  राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

“विश्वले भारत र पाकिस्तानबिच सैन्य टकराव सहन सक्दैन,” पत्रमा भनिएको छ। सोमबार राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले दक्षिण एसियाका दुई छिमेकी मुलुकबिचको तनाव ‘केही वर्षयताकै उच्च’ स्थितिमा पुगेको चेतावनी दिनुभएको थियो ।

उहाँले दुवै सरकारलाई तनाव कम गर्न र कूटनीतिलाई बढावा दिनको लागि आफू मातहतका कार्यालयहरूको निर्देशन दिँदै ‘सैन्य समाधान कुनै समाधान नभएको’ बताउनुभयो ।

गुटेर्रेसले अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणको पुनः एक पटक कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले भन्नुभयो, “सर्वसाधारणलाई निशाना बनाउनु अस्वीकार्य छ र घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई विश्वसनीय र कानुनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्छ।

गत अप्रिल २२ मा भारत प्रशासित काश्मिरको पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको छ ।

 

बाल मन्दिर प्रकरण- १७ जनाविरुद्ध मुद्दा दर्ता, ६० करोड बढी मागदाबी

नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो । उनीसहित १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता गर्दै ६० करोड बढी रकम मागदाबी गरिएको छ । बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो ।

सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता

काभ्रेपलाञ्चोक– वैशाख २२ गतेदेखि काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखुमा बस्दै आएका ११ परिवारका ४४ जना रोहिंगा शरणार्थीलाई बुधबार स्थानीय प्रशासनले फिर्ता पठाएको छ । कपनबाट अस्थायी रूपमा बसोबास गर्न धुलिखेल आएका म्यानमारका रोहिंगा शरणार्थीलाई काठमाडौं फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।

शरणार्थीहरू शंखुमा खाली स्थानमा भाडामा बस्ने गरी आएका थिए । वडा अध्यक्ष मोहनप्रसाद लामिछाने सहित प्रहरी, जनप्रतिनिधि र स्थानीयले छलफल गरेर उनीहरूलाई फिर्ता पठाएका हुन् ।  ११ परिवारका बच्चा सहित ४४ जना रोहिंगालाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । ४९ जना शरणार्थीमध्ये ३ जना धुलिखेल अस्पतालमा छन् । एक जना शरणार्थी सुत्केरी रहेकाले उनको परिवार अस्पतालमा छन् । १ जना भने अध्ययनका लागि ललितपुर गएका थिए ।

प्रहरीका अनुसार केही समय पहिले वाल लगाउने कामको लागि बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेको टोलबाट काभ्रे आएका थिए ।
यस अघि रोहिंगा समुदायले पनौती नगरपालिका—३ कुशादेवीमा टहरा बनाएका थिए । केहीदिनमा नै स्थानीयले अवरोध गरे पछि उनीहरू ठाउँ छाडेर हिँडेका थिए ।

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा उन्नत जर्सी गाईपालन व्यवसाय फस्टाउँदै जान थालेको छ । उन्नत गाईको दूधबाट मनग्ये आम्दानीका साथै किसानको फलफूल तथा तरकारी बगैँचामा गोबरबाट बनेको मल प्रयोग गर्नका लागि उन्नत जर्सी गाईपालन व्यवसाय अपनाइएको हो ।

डेढ दशकअघि मुस्ताङको जोमसोमलगायत आसपासका पर्यटकीय गाउँका होटल तथा रेष्टुरेन्टले सहरिया सिलबन्द गरिएका पाउडरको दूध प्रयोग गर्ने गर्थ्यो । जब मुस्ताङको स्याङ गाउँबाट उन्नत जर्सी गाईपालन सुरु भयो त्यसपछि भने यहाँ प्रयोग गरिने प्याकेटका पाउडरको दूध विस्थापित हुँदै जान थालेको स्थानीय बताउँछन् ।

अहिले मुस्ताङमा बजारिया पाउडरको दूध ९० प्रतिशत विस्थापित भइसकेको घरपझोङ-३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिए । उनका अनुसार जिल्लामा पाउडरको दूध विस्थापित हुनुको मुख्य कारण स्याङ गाउँको उन्नत जर्सी गाईपालन हो । गाउँमा सुरुवाती चरणमा थकालीले उन्नत जर्सी गाईपालन सुरु गरेका थिए ।

हिमाली क्षेत्रमा परीक्षणका रूपमा गाईपालन सुरु गरेको बताउँदै यो व्यवसाय प्रभावकारी देखिन थालेपछि स्याउ गाउँका अन्य किसानले पछ्याउन थालेका वडाध्यक्ष थकालीले उल्लेख गरे ।

स्याङ गाउँका वडाध्यक्षले तत्कालीन समयमा उन्नत जर्सी गाईपालन जिल्लामा भित्र्याएपछि त्यसबेला साविक पशुसेवा कार्यालय र साविक जिल्ला विकास कार्यालयले दूध उत्पादनलाई बढाउने तथा प्रवर्द्धन गर्ने उद्देश्यले उन्नत जर्सी गाईपालन खरिदका लागि अनुदानका कार्यक्रम ल्याएको वडाध्यक्ष थकालीले स्मरण गरे ।

परम्परागत हिमाली लुलु गाईले भन्दा उन्नत जर्सी गाईले मनग्ये दूध उत्पादन गर्ने भएकाले मुस्ताङका किसान उन्नत जर्सी गाईपालनतर्फ आकर्षित हुन थालेका वडाध्यक्ष थकालीले बताए ।

‘एक दशकअघि हिमाली उपआयोजनाले मुस्ताङमा उन्नत जर्सी गाईपालन कार्यक्रम ल्यायो । त्यससमय उक्त आयोजनाले जिल्लाका किसानलाई ८० प्रतिशत अनुदानमा उन्नत जर्सी गाईपालन गर्न प्रोत्साहित गर्‍यो । त्यसपछि भने यहाँ उन्नत पालन व्यवसाय झाङ्गिँदै गएको हो’, उनले भने ।

स्याङ गाउँमा उन्नत गाईपालनसँगै मुस्ताङ डेरी उद्योगसमेत स्थापना भएको छ । सहकारीमार्फत अनुदान पाएका किसानले उन्नत गाईको दूध डेरी उद्योगमा लगेर बिक्री गर्न पाउने भएका छन् । कतिपय किसानले डेरीमा बिक्री नगरी मोटरसाइकलमार्फत घरघरमा पुर्‍याउने गर्छन् ।

स्याङमा अहिले ४० घरधुरीले एक सयभन्दा बढी उन्नत जर्सी गाईपालन गरेका वडाध्यक्ष थकालीले जानकारी दिए । उनी मुस्ताङमा उन्नत जर्सी गाईपालन गर्ने पहिलो व्यक्ति हुन् ।

वडाध्यक्ष थकालीले स्याङ गाउँ कृषिमा आधारित गाउँ भएकाले दूध बिक्री गर्न र गाईको मलमूत्र खेतबारीमा प्रयोग गर्न निकै सजिलो भएको बताए । स्याङ गाउँमा अहिले दैनिक चार सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको उनले जानकारी दिए ।

घरपझोङ–३ स्याङका स्थानीय निमा फन्चोक गुरुङले चार वटा उन्नत जर्सी गाईपालन गरेका छन् । १० वर्षअघि ११ वटा गाई र एउटा गोरुबाट पशुपालन व्यवसाय सुरु गर्नुभएका गुरुङले अहिले दूधको बजारमा प्रतिस्पर्धा भएको, पशु आहारा र घाँसको मूल्य वृद्धि भएकाले सङ्ख्या घटाएको बताए ।

दूधको मूल्य वृद्धि हुन नसकेको तर दाना र घाँसको मूल्य महँगो भएकाले कृषि प्रयोजनका लागि मात्रै गाईपालन गरिरहेको गुरुङले बताए । ‘पहिले दूध बिक्री गर्दा मनग्ये आम्दानी हुन्थ्यो, अहिले गाउँमा उत्पादन बढी हुँदा आम्दानीको स्रोत खुम्चिएको छ’, गुरुङले भने, ‘फलफूल बगैँचा र तरकारी बारीमा मल चाहिने भएकाले गाईपालनलाई निरन्तरता दिँदै आइरहेको छु।’ सुरुवाती चरणमा ११ गाईबाट तीन सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने गरेकामा अहिले दैनिक ४० लिटर मात्रै बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

बर्खायाममा दूधको माग अत्यधिक हुने गरेको भएपनि किसानमा समन्वय नहुँदा मूल्य वृद्धि हुन नसकेको गाईपालक कृषक जीवन थकालीले बताए । उनका अनुसार मुस्ताङको स्याङ गाउँबाट सुरु भएको उन्नत गाईपालन अहिले फैलिँदै जिल्लाको ठिनी, मार्फा, टुकुचे र कागबेनीसम्म पुगेको छ ।

पर्यटकीययाम बाहेक हिउँदको तीन महिना उन्नत गाईको दूध बिक्री गर्न समस्या हुने गरेको किसान बताउँछन् । हिउँदयाममा पर्यटकको उपस्थिति कम हुने र जिल्लाका नागरिक बेँसी झर्ने भएकाले दूधको खपत कम हुने गरेको स्थानीय गाईपालकको भनाइ छ ।

अपरेशन सिन्दूर- पाकिस्तानी सेना संरक्षित ९ आतङ्ककारी शिविर माथी भारतद्धारा सैन्य कारबाही

भारतले (अपरेशन सिन्दूर) नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानी सेनाको संरक्षणमा रहेको नौ आतङ्ककारी शिविरहरु माथी हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।

यो कारबाही अप्रिल २२ मा पहलगाम घटना पश्चात भारत ले गरेका हुन । जसमा एक नेपाली सहित २६ भारतीय पर्यटकको मृत्यु भएको थियो। संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।

भारत सरकारले २२ तारिखको घटना पश्चात पाकिस्तानी संगको विभिन्न सन्धी सम्झौता रद्ध गर्दै त्याहाका आतंककारीहरु माथी कारवाही गर्न माग गरेका थिए । जसको विश्वव्यापी रुपमा समर्थन गरिएको छ । तर पाकिस्तानीले कुनै कारवाही अगाडी नवढाए पछि भारतले मंगलवार राती एक वजे पाकिस्तानमा त्याहाका सेनाद्धारा संरक्षित रहेको भनिएको ९ आतंककारी शिविरहरु माथी हमला गरेर ती शिविरहरु ध्वस्त बनाएका छन ।

मंगलवार रातीको भारतीय कारवाही पश्चात भारतीय विदेश सचिवले पत्रकार सम्मेलन गरेर दिएको वक्तव्यः

श्री विक्रम मिस्री, विदेश सचिव – शुभ प्रभात । यस बिफ्रिङ्गमा यहाँहरुको सहभागीताका लागि धन्यवाद ।

यहाँहरु सबैलाई विदितै छ, यही अप्रिल २२ गते लश्कर–ए–तैयबासँग जोडिएका पाकिस्तानी र पाकिस्तानद्वारा प्रशिक्षित आतङ्ककारीहरुले भारतको जम्मू र कश्मीरको पहलगाममा भारतीय पर्यटकहरुमाथि बर्बरतापूर्वक आक्रमण गरेका थिए । उनीहरुले एक नेपाली नागरिक सहित २६ जनाको हत्या गरेका थिए जसमा सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको हमला पछि भारतमा भएको आतङ्कवादी हमलामा सबैभन्दा धेरै नागरिक हताहत भएका थिए ।

पहलगाम आक्रमण चरम बर्बरताले भरिएको थियो जसमा धेरै जसो पीडितहरुलाई उनीहरुको परिवारको सामुन्ने र निकै नजिकबाट टाउकोमा गोली हानी हत्या गरिएको थियो । हत्यामा अपनाइएको तरिकाले परिवारका सदस्यहरुलाई जानाजान आघात पुर्‍याइएको थियो, साथै उनीहरुलाई सन्देश बोकी जान भनी उपदेश दिइएको थियो ।

यो आक्रमण स्पष्ट रुपमा जम्मू र कश्मीरमा फर्किरहेको सामान्य अवस्थालाई कमजोर पार्ने उद्देश्यले गरिएको थियो । विशेष गरी यो हमला गत वर्ष २३ मिलियन पर्यटकले भ्रमण गरेको रेकर्ड रहेको यस उपत्यकाको अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई असर गर्ने उद्देश्यले डिजाइन गरिएको थियो । खास गरी यहाँको विकास र गतिलाई हानी पुर्‍याए यसले यस क्षेत्रलाई सधै पछाडी पारिराख्ने र पाकिस्तानबाट हुने निरन्तर सीमापार आतङ्कवादका लागि उर्बर भूमि निर्माण गर्न मद्दत गर्ने उनीहरुको आकलन थियो ।

जुन तवरले आक्रमण गरिएको थियो त्यसको उद्देश्य नै दुवै जम्मू र कश्मीर र बाँकी देशमा कलह भड्काउने उद्देश्यले गरिएको थियो । यी योजनाहरु विफल हुनुमा सरकार र भारतका जनतालाई श्रेय जान्छ ।

आफूलाई ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) भनी चिनाउने समूहले सो आक्रमणको जिम्मा लिएको छ । यो समूह संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित पाकिस्तानी आतङ्कवादी समूह, लश्कर–ए–तैयबाको लागि काम गर्ने एक मोर्चा हो । उल्लेखनीय छ कि भारतले सन् २०२४ मे र नोभेम्बरमा संयुक्त राष्ट्र संघको १२६७ प्रतिबन्ध समितिको अनुगमन टोलीलाई अर्धवार्षिक प्रतिवेदनमा पाकिस्तानमा रहेका आतङ्कवादी समूहका लागि काम गर्ने टीआरएफ बारे जानकारी दिएको थियो । यसअघि पनि, सन् २०२३ डिसेम्बरमा भारतले अनुगमन टोलीलाई टीआरएफ जस्ता साना आतङ्कवादी समूहहरुमार्फत लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले काम गरिरहेको बारेमा जानकारी गराएको थियो । यस सन्दर्भमा अप्रिल २५ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रेस विज्ञप्तिमा टीआरएसँग सम्बन्धित प्रसङ्ग हटाउन पाकिस्तानले दिएको दबाब उल्लेखनीय छ ।

पहलगाम आतङ्कवादी आक्रमणको अनुसन्धानले आतङ्ककारीहरुको पाकिस्तानमा र पाकिस्तानसँग सम्पर्क रहेको देखाएको छ । द रेसिस्टेन्स फ्रन्टले गरेका दाबी र लश्कर–ए–तैयबाको सामाजिक सञ्जाल ह्यान्डलहरुबाट गरिएको रिपोस्टले पनि यसलाई पुष्टि गरेको छ । प्रत्यक्षदर्शीहरुको बयान र कानूनी निकायहरुसँग उपलब्ध अन्य जानकारीको आधारमा आक्रमणकारीहरुको पहिचान जस्ता कार्यहरु अघि बढिसकेका छन् । हाम्रा गुप्तचर निकायले यस टिमका लागि काम गर्ने योजनाकार र समर्थकहरुको वास्तविक तस्वीर पनि फेला पारिसकेको छ ।

यस आक्रमणका विशेषताहरु पाकिस्तानले भारतमा गर्ने सीमापार आतङ्कवादको लामो ट्रयाक रेकर्डसँग पनि सम्बन्धित रहेका छन् जसलाई राम्रोसँग अभिलिखित गरिएको छ र ती प्रश्नभन्दा बाहिर रहेका छन् । विश्वभरका आतङककारीहरुका लागि आश्रयस्थलको रुपमा पाकिस्तान कहलिएको छ र अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धित आतङ्ककारीहरु दण्डको डर नबोकी बसिरहेका छन् । यसका साथै यस विषयमा विश्वलाई तथा वित्तीय कार्यवाही कार्यदल जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुलाई जानाजानी भ्रमित गर्ने कुरामा पाकिस्तान परिचित रहेको छ । यसको सबैभन्दा ज्वलन्त उदाहरण साजिद मीरको मुद्दा हो जसमा उक्त आतङ्ककारीलाई मृत घोषित गरिएको थियो र पछि अन्तर्राष्ट्रिय स्तरबाट दबाब आएपश्चातको प्रतिक्रियामा पुनःजीवित पारिएको थियो र त्यसपछि जीवित फेला पारी पक्राउ गरिएको थियो ।

पछिल्लो समयमा पहलगाममा भएको आक्रमणले जम्मू कश्मीर र भारतका अन्य भागहरुमा समेत गहिरो आक्रोश उत्पन्न गरेको छ । उक्त आक्रमणपश्चात भारत सरकारले पाकिस्तानसँगको आफ्नो भूमिकासँग सम्बन्धित रहेर प्रारम्भिक कदमहरुका साथ स्वभाविक रुपमा प्रतिक्रिया दिएको छ । यहाँहरु सबैलाई अप्रिल २३ गते घोषणा गरिएका निर्णयहरु बारे थाहा नै छ ।


यद्यपि अप्रिल २२ गतेको आक्रमणका दोषी र योजनाकारहरुलाई न्यायको कठघरामा ल्याउनु आवश्यक थियो । आक्रमण भएको दुई साता बितिसक्दा पनि पाकिस्तानबाट आफ्नो भूभाग वा आफ्नो नियन्त्रणमा रहेको भूभागमा रहेको आतङ्कवादी पूर्वाधार विरुद्ध कारबाही गर्न कुनै ठोस कदम चालिएको छैन । त्यसको सट्टा उसले अस्वीकार र आरोप मात्र लगाएको छ । हाम्रो गुप्तचरले पाकिस्तानमा रहेका आतङ्कवादी मोड्युलहरुको अनुगमनपछि भारत विरुद्ध थप आक्रमणहरु हुने संकेत गरेको थियो । तसर्थ यसलाई रोक्नु र यस विरुद्ध पूर्वतयारी गर्नु दुवै हाम्रा लागि बाध्यता थियो ।

यहाँहरुलाई थाहा भएकै होला कि आज बिहानै भारतले यस्ता सीमापार आक्रमणहरु विरुद्ध प्रतिक्रिया दिने, पूर्वतयारी गर्ने र यसलाई रोक्ने आफ्नो अधिकारको प्रयोग गरेको छ । यी कार्यहरु आकलित, नभड्किने खालका, आनुपातिक र जिम्मेवारपूर्ण थिए । यी कार्यहरु आतङ्कवादी पूर्वाधारलाई ध्वस्त पार्ने तथा भारत पठाइने सम्भावित आतङ्ककारीहरुलाई निमिट्यान्न पार्ने कुरामा केन्द्रित थिए ।

यहाँहरुलाई याद होला कि सुरक्षा परिषद्ले यही अप्रिल २५ गते पहलगाम आतङ्कवादी हमलाको बारेमा एक प्रेस विज्ञप्ति जारी गरेको थियो । त्यसलाई यहाँ मैले उद्धृत गरेको छु, “यस निन्दनीय आतङ्कवाद कार्यका दोषी, योजनाकार, यसलाई आर्थिक र अन्य तवरले सघाउ पुर्‍याउनेहरुलाई जवाफदेही बनाउने र न्यायको कठघरामा उभ्याउने आवश्यकता रहेको छ”। भारतले गरेको पछिल्लो कार्यलाई यसै सन्दर्भमा हेरिनुपर्दछ ।

आज बिहानै गरिएको हाम्रो कार्यहरुको बारेमा बिफ्रिङ्ग गर्न मसँगै कर्णेल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंह उपस्थित हुनुहुन्छ । म वहाँहरुलाई अपरेशन सिन्दूरको बारेमा केही विवरणहरु यहाँहरु सबैसँग साझा गर्न अनुरोध गर्नेछु ।

सुदूरपश्चिम प्रदेशलाई धेरै फाइदा पुग्ने गरी भारतसँग कुराकानी भयो- मुख्यमन्त्री शाह

भारतको औपचारिक भ्रमण सकेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली आज स्वदेश फिर्ता भएको छ। औपचारिक भ्रमण सकेपछि टोली लखनउबाट स्थलमार्ग भएर स्वदेश फिर्ता भएको हो। भारत सरकारको आमन्त्रणमा शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गते भारत प्रस्थान गरेको थियो। टोलीले दिल्ली, देहरादुन र लखनउको भ्रमण गरेको छ।

भ्रमणको क्रममा मुख्यमन्त्री शाहले भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र तीन मन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको थियो। त्यस क्रममा विविध विषयमा छलफल गरिएको थियो।

भारत भ्रमणबाट फर्केपछि मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गरी यो भ्रमणले भविष्यमा सुदूरपश्चिम प्रदेशलाई धेरै फाइदा पुग्ने बताउनुभयो। उहाँले खास गरेर संघीयता र यस प्रदेशलाई बलियो बनाउने विषयमा भारतसँग कुराकानी भएको उल्लेख गर्नुभयो।

भारत भ्रमणको क्रममा विशेष गरेर लगानी सम्मेलन, पर्यटन विकास, कृषि, ऊर्जा, कनेक्टिभिटी लगायतको विषयमा भारतसँग छलफल भएको मुख्यमन्त्रीको भनाइ थियो। यस्तै, लागुऔषधसहित सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि छलफल भएको भन्दै उहाँले थप्नुभयो,“यस विषयमा राज्यमन्त्री र दुवै प्रदेशका मुख्यमन्त्री सकारात्मक हुनुहुन्छ।”

मुख्यमन्त्री शाहले पलिया–गौरीफन्टा रोडलाई दुई लेनको बनाउन र खक्रौलादेखि भारतको तिकुनियासम्मको रोड बनाउनका लागि पनि भारतलाई आग्रह गरेको बताउनुभयो। त्यस्तै, दुवै देशबिच युथ एक्सचेन्जका विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको भनाइ थियो। उहाँले यहाँका विद्यार्थी त्यहाँ गएर र त्यहाँ विद्यार्थी यहाँ आएर केही कुरा सिक्ने विषयमा छलफल भएको जानकारी दिनुभयो।

मुख्यमन्त्री शाहले प्रधानमन्त्री केपी ओलीको पनि चाँडै भारत भ्रमण हुने उल्लेख गर्नुभयो। “त्यसका लागि भारतले कतिपय तयारी धेरै अगाडि बढाइसकेको मैले त्यहाँ जानकारी पाएँ”, उहाँले भन्नुभयो। यस्तै, उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि आफूले निम्तोसमेत दिएको उहाँको भनाइ छ। भ्रमणका लागि आमन्त्रण र सम्पूर्ण व्यवस्थापनका लागि उहाँले भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।

 

 

 

 

 

 

गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीका कारण आएको होइनः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्र बैँकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पार्नुभएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

राष्ट्र बैँकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाई भएको उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्री ओली गभर्नर कांग्रेसलाई दिने पक्षमा रहेको समेत बताउनुभयो । उहाँले सत्ता गठबन्धमा समेत कुनै समस्या नभएको दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओली गठबन्धनभित्र कुनै समस्या सिर्जना नगरेको कारण गठबन्धमा समस्या नरेहको बताउनुभयो । उहाँले वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको समेत बताउनुभयो ।

‘‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी छ तर बहुमत छैन । त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धमा कुनैपनि समस्या क्रिएट गर्नुभएको नि छैन ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैँकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहीँ होइन । राष्ट्र बैँकभित्रै आएको समस्या हो । उहाँ गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’’

वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई समेतसँगै लैजाने नीतिअनुरूप अध्यादेशमार्फत ऐन निर्माण गरेको सभापति देउवाको दाबी छ ।

रेशम चौधरी पक्राउ घटनाः नाउपाद्वारा निष्पक्ष छानबिनको माग

काठमाडौँ, वैशाख २३ गते । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै अध्यक्ष श्रेष्ठले यस्तो माग गर्नुभएको हो ।

लोकतन्त्रको मर्म प्रश्न, प्रतिवाद र न्यायको पक्षमा बोल्नु रहेको बताउँदै एक निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु आपत्तिजनक भएको उहाँको भनाइ छ । यही वैशाख १७ गते सर्वोच्च अदालतको कर्मचारीले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरी करिब पाँच घण्टा डिल्लीबजार कारागारमा राखेको थियो ।

उक्त पत्र लेख्ने कर्मचारी विष्टलाई प्रहरीले पक्राउ गरी हाल अनुसन्धान गरिरहेको छ । श्रेष्ठले चौधरीको गिरफ्तारी सङ्घीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमाथि चोट भएको टिप्पणी गर्दै सरकारले घटनाको गहिरो अध्ययन गर्न र सार्वजनिक रूपमा जवाफ दिन आग्रह गर्नुभयो ।

‘‘हामी सरकारमै छौं तर लोकतन्त्रको मुल लक्ष्य भनेको सत्यको पक्षमा उभिनु हो । प्रश्न गर्नु, प्रतिवाद गर्नु र न्यायको पक्षमा बोल्नु नै लोकतन्त्रको मर्म । आज म सभामुखमार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु–कसरी एक निर्वाचित जनप्रतिनिधि, जननेता कार्यक्रमस्थलबाटै यस्तो तवरले पक्राउ पर्छन् । कसरी व्यक्तिगत रिसिबीलाई कानूनभन्दा माथि राख्छन् ।,’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘यो घटनाको गहिरो अध्ययन होस् । किनभने यहाँ केबल एक जनाको गिरफ्तारी होइन । सङ्घीयता, समावेशिता र लोकतन्त्रमाथिको विश्वासमा चोट लागेको छ । वैशाख १७ गते भएको प्रशासनिक मनोमानिको निष्पक्ष छानविन होस् । रेशम चौधरीज्युप्रति भएको व्यवहारको सार्वजनिक जवाफ देओस् ।’’ नागरिक उन्मुक्ति पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित सहभागी छ ।

पूर्वमन्त्री प्रदीप नेपालको निधन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको मङ्गलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । यसैगरी उहाँले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । एमालेको पोलिटब्युरो सदस्य रहिसक्नुभएका उहाँले पत्रकारिता एवम् साहित्य विधामा निरन्तर कलम चलाउँदै आउनुभएको थियो । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गर्नुभएको थियो ।

नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक हुनुभएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय हुनुहुन्थ्यो । भूमिगत कालमा उहाँ सञ्जय थापाका नाममा परिचित हुनुहुन्थ्यो ।