Page 129 – Nepalboli

युरोप दिवसको अवसरमा काठमाडौमा कार्यक्रम आयोजना

युरोप दिवसका अवसरमा विहिवार साझ ललीतपुर स्थित पाटन सङ्ग्रहालयमा स्वागत समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथीको रुपमा सहभागी भएका थिए । त्यस अवसरमा उनलाई नेपालका लागि युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिक लरेन्जो तथा यहाँस्थित युरोपेली मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले स्वागत गरेका थिए ।

त्यस अवसरमा राजदूत लरेन्जोले युरोपेली सङ्घमा आबद्ध देशहरुको नेपालसँग सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै शान्तिका लागि नेपाल बलियो आवाज बनेको बताए । नेपाललाई युरोपेली सङ्घको उच्च प्राथमिकता प्राप्त विश्वसनीय साझेदारका रुपमा प्रस्तुत गर्दै उनले हाम्रा सदस्य राष्ट्रहरूसँग मिलेर ‘टिम युरोप दृष्टिकोण’अन्तर्गत मेलमिलाप र स्थायी शान्तिको भावनामा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउने नेपालको प्रयासमा युरोपेली सङ्घको साथ तथा सहयोग रहने बताए ।

हामी जलवायु सङ्कट नियन्त्रण तथा प्राकृतिक प्रकोपविरुद्धका प्रतिकार्यमा पनि सङ्घले नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै राजदूत लरेन्जोले समृद्धिको चुनौतीपूर्ण यात्रामा रहेको नेपाललाई अल्पविकसित देशको दर्जाबाट स्तरोन्नति हुन, आर्थिक वृद्धिलाई बढाउन तथा लगानी आकर्षित गर्न सघाउने बताए ।

 

 

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ- प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको बताएका छन्। ७३ औँ कानुन दिवस-२०८२ का अवसरमा सर्वोच्च अदालतद्वारा शुक्रबार आयोजित चियापान समारोहमा उनले समग्र मुद्दा फर्छ्यौट प्रतिशतमा समेत विगत वर्षको तुलनामा उल्लेख्य सुधार भएको बताए।

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा आगामी असार मसान्तभित्रमा र पाँच ९५० वर्ष नाघेका मुद्दा २०८३ असारभित्रमा शून्य बनाउने लक्ष्यमा अधिकतम् सफलता हासिल भइरहेको जानकारी दिए। ‘सर्वोच्चको समग्र मुद्दा फर्छ्यौट प्रतिशतमा पछिल्ला तीन वर्षदेखि सङ्ख्यात्मक वृद्धि भई पुराना बक्यौता मुद्दा उल्लेख्य रूपमा घटेका छन्’, उनले भने, ‘उच्च अदालत एवं जिल्ला अदालतले दुई वर्ष नाघेका पुराना मुद्दालाई शून्य बनाउने र जुनसुकै मुद्दालाई पनि १८ महिना नाघ्न नदिने लक्ष्यमा अधिकाधिक सफलता हासिल भएको तथ्याङ्कले देखाइरहेका छन्।’

प्रधानन्यायाधीश राउतले विगतको निरन्तरतास्वरुप चालु आर्थिक वर्षको साउन १ गतेदेखि न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन प्रारम्भ भई न्यायसम्पादनलाई प्रभावकारी बनाउने, न्यायमा पहुँच अभिवृद्धि गर्ने, सुशासन तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने, न्यायपालिकामा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने तथा मानवसंशाधन तथा भौतिक पूर्वाधार विकाससहितका पाँच वटा प्राथमिकतामा कार्यक्रम केन्द्रित रहेको जानकारी दिए।

उनले भने, ‘रणनीतिक योजनामा आधारित भई सर्वोच्च अदालत र देशभरिका अदालत एवं न्यायाधीकरणहरूले प्रत्येक वर्ष आफ्नो वार्षिक कार्ययोजना निर्माण गरी न्यायसम्पादनलाई प्रभावकारी बनाउँदै नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ क्रियाकलाप सञ्चालन गर्दै आइएको छ।’

प्रधानन्यायाधीश राउतले न्यायपालिकाले मूलतः मुद्दा फर्छ्यौटमा आवधिक र सङ्ख्यात्मक लक्ष्यका साथै गुणात्मक र शीघ्र न्यायसम्पादनका लागि फरक मुद्दा व्यवस्थापन पद्दति, सूचना प्रविधिको अधिकतम् प्रयोग, मेलमिलापलाई प्रोत्साहन र सुशासन तथा जनआस्था अभिवृद्धिका साथै न्यायमा पहुँचको सुनिश्चिततालाई उच्च प्राथमिकतामा राखेको बताए।

‘अदालतप्रतिको जनआस्था अभिवृद्धिको परिणामस्वरुप अदालतको कार्यचापमा भएको बढोत्तरीलाई सम्बोधन गर्न देशभरिका अदालतमा अतिरिक्त समयमा जिम्मेवारी बहन गरिरहनुपरेको अवस्था छ’, प्रधानन्यायाधीश राउतले भने, ‘कार्यचापका तुलानामा सेवासुविधामा देखिएको न्यूनताले लक्ष्यप्राप्तिमा जनशक्तिलाई उत्प्रेरित गराउन अत्यावश्यक भएको मैले महसुस गरेको छु।’

उनले व्यवस्थापकीय दृष्टिले गरिएका सुधारका निरन्तर प्रयासका कारण न्यायपालिकाले राखेका लक्ष्यहरू सुधारोन्मुख हुँदै आएको र आगामी दिनमा थप गति लिने विश्वासका साथ न्यायिक जनशक्तिलाई आशावादी भई कार्यक्षेत्रमा निरन्तर लागिरहन सबैमा आग्रह गरे। ‘कानुनको शासन, स्वतन्त्र न्यायपालिकासम्बन्धी मूल्यमान्यता एवं शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनसम्बन्धी सिद्धान्तलाई व्यवहारमा उतार्न सफल भएको आजको दिनलाई कानुन दिवसका रूपमा मनाउँदै आइएको बेहोरा सबैमा विदितै छ’, प्रधानन्यायाधीश राउतले भने, ‘यस अवसरमा न्यायपूर्ण समाजको स्थापनार्थ विधिको शासनमार्फत आआफ्नो कर्तव्य निर्वाहमा सबैलाई सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।’

नेपालको संविधानले परिकल्पना गरेको विशिष्टीकृत अदालतको अवधारणाअनुरुप २०८१ चैत २ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लाको अधिकारक्षेत्र रहने गरी उपभोक्ता अदालत, २०८२ वैशाख २ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोक जिल्ला अदालतसमेतको अधिकार क्षेत्र रहनेगरी बाल अदालतको स्थापना गरिएकोसमेत उनले जानकारी दिए। न्यायपालिकाको संस्थागत सुधारका प्रयास र रणनीतिक दस्ताबेजमा उल्लेख भएका कुराहरुलाई मूर्तरुप दिनका लागि स्रोतसाधनको उपलब्धता र जनशक्तिको सक्षमता एवं इमान्दारितापूर्ण कार्यसम्पादन अपरिहार्य हुने भन्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकामा प्रवेश गरेका जनशक्तिको प्रवेशमात्र पर्याप्त नभई वृत्तिविकास र व्यावसायिक विधाहरूमा क्षमता विकासका लागि प्रशिक्षणको निरन्तरता अत्यावश्यक रहेको बताए।

‘कार्यसम्पादनमा प्रोत्साहन गर्न नसकिएमा न्यायपालिकाले प्राप्त गरेका दक्ष जनशक्तिलाई टिकाइराख्न र भविष्यको उत्तराधिकारीका रूपमा स्थापित गर्न चुनौतीपूर्ण देखिन्छ’, प्रधानन्यायाधीश राउतले भने, ‘यी सबै उद्देश्यमा न्यायपालिकालाई आवश्यक स्रोतसाधनको उपलब्धता अधिक महत्वपूर्ण छ। तसर्थ न्यायपालिकाको संस्थागत प्रबन्धका लागि भएका योजनाबद्ध सुधार प्रक्रियाले राखेका अपेक्षाको यथोचित सम्बोधनका लागि साधनस्रोतको व्यवस्थापनमा नेपाल सरकार तथा समयानुकूल कानुन निर्माण एवं संशोधन कार्यमा संसद् र सम्बद्ध निकायको सकारात्मक सहयोग हुनेछ भन्ने आशा एवं विश्वास लिएको छु।’

विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधानन्यायालय ऐन, २००८ ले स्वतन्त्र न्यायपालिकाको स्थापनासँगै शक्ति पृथकीकरणको अभ्यासलाई आत्मसात् गरेको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २६ लाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ।

भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिनेछौं – एस जयशंकर

भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने बताएका छन्। इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले यस्तो बताएका हुन्। भारत–इरान मैत्री सन्धिको ७५ औं वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची भारत भ्रमणमा छन्। जयशंकरले एक्समा पोस्ट गरेर यसबारे जानकारी दिए।

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणको बारेमा इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भने,‘यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो।’

भारतीय विदेशमन्त्रीले २२ अप्रिलमा पहलगाम आक्रमणपछि भारतले मे ७ मा आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गर्दै सीमापार आक्रमण गरेको बताए।

जयशंकरले भने,‘हामी तनाव बढाउन चाहँदैनौं, तर हामीविरुद्ध सैन्य कारबाही गरियो भने कडा प्रतिक्रिया दिनेछौं भन्नेमा कुनै शंका छैन।’ जयशंकरले छिमेकी र नजिकको साझेदारको रूपमा परिस्थितिबारे राम्ररी जानकार हुनु इरानलाई महत्त्वपूर्ण रहेको बताए।

 

 

आतंकवादविरुद्ध भारतको लडाईमा नेपालको समर्थन

आतंकवादविरुद्ध दक्षिणी छिमेक भारतले पाकिस्तान विरुद्ध थालेको लर्डाईको नेपालले समर्थन गरेको छ । पाकिस्तानी सेनाको संरक्षणमा रहेका आतंकवादीहरुले पछिल्लो समयमा पहलगाममा गरेको आक्रमणमा नेपालका एक नागरिक सहित २६ भारतीयको मृत्यु भएको थियो । जसको जवाफी कारवाही स्वरुप भारतले मंगलवार राती देखि पाकिस्तानमा रहेका आतंकवादी शिविरहरु माथी आक्रमण सुुरु गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले विहिवार एक विज्ञप्ति जारी गर्दै नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, पहलगामको दुखद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका थिए । साथै परराष्ट्र मन्त्रालयले उक्त आततायी आतंकवादी आक्रमण को तत्कालै आलोचना गरेको पनि जनाएको छ ।

साथै नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ । त्यस्तै नेपालले दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने बताएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ।

सरकारले नेपाली भूमिलाई छिमेकी देशहरूविरुद्ध प्रयोग हुन नदिने पनि बताएको छ। नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग गर्न दिनेछैन, विज्ञप्तिमा भनिएको छ।

 

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो

गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेको छ ।

वैशाख २३ गते मङ्गलबार बिहानदेखि बिहीबारसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल एसएसबी सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पट्रोलिङ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शेलेन्द्र थापाले जानकारी दिनुभयो ।

भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँग संयुक्त पट्रोलिङ वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको जनाइएको छ ।

सोही अवधिमा सीमा इलाकाका एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको छ । वैैशाख २३ गते ५६४, वैैशाख २४ गते ६४० र वैैशाख २५ गते ६४० ठाउँमा गरी एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा सुरक्षा जाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

उक्त क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुुर, नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्यसमेत कडाइका साथ गरिएको छ ।

नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यसमेत गरिएको छ । यसैगरी सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाइएको सशस्त्र प्रहरीबल नेपालले आज जानकारी गराएको छ ।

 

नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामी मधेशमा

नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाले यस्तो जानकारी गराउनुभएको हो । उहाँका अनुसार मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा देखिएका छन् ।

‘‘कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ । यानकी प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्दछ । आर्थिक वर्ष २०८०-०८१ को तथ्याङ्कलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा एकभन्दा कम यानकी ०.९२ प्रतिशत रहेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा एकभन्दा माथि, ४८ जिल्लामा एकभन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला परेका छैनन् । मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा देखिएका छन् । यो कुल केसको एक तिहाई भन्दा बढी हो । दोस्रो सबैभन्दा बढी केसहरू लुम्बिनी प्रदेशमा छन् । जहाँ कुल केसको एक चौथाइभन्दा बढी रोगीहरू रहेका छन् ।’’

मधेश प्रदेशमा कुल केसको एक तिहाईभन्दा बढी रहेका छन् । दोस्रो सबैभन्दा बढी केसहरू लुम्बिनी प्रदेशमा रहेका छन् । जहाँ कुल केसको एक चौथाईभन्दा बढी रोगीहरू रहेको सचिव डा देवकोटाले बताउनुभयो ।

आर्थिक वर्ष २०८०-०८१ को अन्त्यसम्म नयाँ फेला परेका दुई हजार चार सय ७२ कुष्ठरोगीहरूमध्ये महिलाको सङ्ख्या एक हजार ४२ रहेको बताउनुभयो । १४ वर्ष मुनिका नयाँ बिरामीको सङ्ख्या एक सय ३६ रहेको उहाँको भनाइ छ ।

सचिव देवकोटाले पहिचान रहेका सबै कुष्ठरोगका बिरामीहरू उपचाररत रहेको बताउनुभयो । उहाँका अनुसार कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ । प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्छ ।

आर्थिक वर्ष २०८०-०८१ को तथ्याङ्कलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा एकभन्दा कम (०.९२ प्रतिशत) रहेको छ । तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा एकभन्दा माथि, ४८ जिल्लामा एकभन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनैपनि नयाँ बिरामी फेला परेका छैनन् । मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ ।

संसद्‍मा पाकिस्तानी आतंकवादी गतिविधीको विरोध, पाकिस्तानी सेनाको टोली काठमाडौ आएकोमा निन्दा

नेपालको संसद्‍मा भारत–पाकिस्तान विचको पछिल्लो तनाव वारे संसदहरुले बोलेका छन । दुई देशबीच चलेको आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले वुधवार ध्यानाकर्षण गरेका छन् ।

प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँछन् । तर, आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताउँछन् । बुधबार प्रतिनधि सभाको बैठकमा बोल्दै उनले पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरे ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउँछन् । उनले हालै पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उचित नरहेको बताएका छन् ।

छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताएका हुन् । ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो’, उनले भने ।

कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताए । राजनीतिक दलका शीर्ष नेताहरू पनि यो विषयमा गम्भीर हुन आवश्यक रहेको उनले बताए । राजनीतिक दलका बीचमा राष्ट्रिय विषयमा एकता हुन आवश्यक रहेकोमा उनले जोड दिए ।

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान आमुनेसामुने भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तालाई दोषी देखाएर भारतले जवाफी हमला सुरु गरेको हो ।

 

 

 

 

 

सङ्घीय लोकतान्त्रिक मोर्चाद्धारा भारतद्धारा पाकिस्तान माथी सुरु गरिएको आक्रमणको समर्थन

रेशम चौधरी पक्राउको मोर्चाद्धारा विरोध

सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले भारतको काश्मीर स्थित पहलगाममा आतंकवादीहरुले आक्रमण गरी नेपाली नागरिक सुदिप न्यौपाने सहित २८ जना भारतीय पर्यटकको गरेको हत्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण बताउँदै उक्त मानवता विरोधी जघन्य अपराधको घोर भर्त्सना गरेको छ । आतङ्कवादको विरुद्धमा गरिने सबै खाले सङ्घर्ष र कारबाहीप्रति आफूहरूको ऐक्यबद्धता रहेको समेत जनाएको छ ।

साथै नेपाली नागरिक सुदिप न्यौपानेको परिवारलाई क्षतिपूर्ति, सहयोग र रेखदेख गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

त्यस्तै बैठकले वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई राज्यद्वारा गरिएको गैरकानुनी गिरफ्तारीको घोर भर्त्सना र विरोध गरेको छ । साथै उक्त गैरकानुनी कार्यमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग समेत गरेको छ ।

ऐतिहासिक मधेस जनविद्रोह, आन्दोलन, किराँत लिम्बुवान आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा मुद्दा लगाई जेलमा राखिएका राजवन्दीहरुलाई विना सर्त रिहाइ तथा झुठा मुद्दा लगाइएकाहरूको मुद्दा खारेज गर्न नेपाल समेत बैठकले सरकारसँग माग गरेका छ ।

नेपाल सरकारद्वारा विभिन्न आन्दोलनरत पक्षसँग विभिन्न समयमा गरिएका सम्झौताहरूलाई तत्काल कार्यान्वयन गर्न समेत मार्चाको बैठकले माग गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने सुरक्षा समितिको निर्णय

केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले भारत र पाकिस्तानबीच बढेको तनाबलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो ।

बैठकमा तनाबपछि नेपालमा पर्न सक्ने प्रभावबारे पनि विश्लेषण गरिएको एक सहभागीले जानकारी दिए । त्यस्तै बैठकमा छिमेकी राष्ट्र भारत र पाकिस्तानमा रहेको नेपालीहरूको सुरक्षा अवस्थाबारे पनि छलफल भएको थियो । उनीहरूको अवस्थाबारे कुटनीतिक माध्यमबाट बुझ्ने निर्णय पनि बैठकमा भएको छ ।

बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने, ‘सीमामा थप सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नका लागि आवश्यक सर्कुलर गृहमन्त्रीज्यूको निर्देशनमा भइसकेको छ । अब कसरी अगाडि बढ्ने भन्ने निर्णय बैठकले गरेको छ ।’

यसअघि सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइसकेको छ । बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको र सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबि) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिएको विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

 

स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्न- राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । त्यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेनै छ भन्ने मैले विश्वास लिएको छु ।’’

राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ हामी सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

उहाँले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहिन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यम सामु थपिएको चुनौती भन्दै यस्ता चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै राजनीतिक परिवर्तनपछि नेपाली जनताले अपेक्षा गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा आफ्नोतर्फबाट नेपाली प्रेसले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

सो अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८१ पत्रकार महासङ्घका पूर्व अध्यक्ष विपूल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई प्रदान गरिएको थियो भने राष्ट्रिय पत्रकारीता पुरस्कार २०८१ विमल गौतम बाग्लुङ, दिपेन्द्र श्रेष्ठ कास्की, लोग्शरी कुँवर कैलाली, दिपेन्द्र बान्तवा सङ्खुवासभा, डिल्लीराम खतिवडा उदयपुर र सागर पण्डित तनहुँलाई प्रदान गरिएको थियो ।