६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको अर्थमन्त्रीको भनाई
अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताउनु भयो ।
मन्त्री महतले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गर्नुभयो । सामाजिक सञ्जालमा नकारात्मक कुरा भए पनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो ।
‘‘अहिले हाम्रो अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ । विदेशी रेमिट्यान्स पनि स्वदेशमा आइरहेको छ । बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ । शेयर मार्केट पनि बढेको छ । जग्गाको कारोबार पनि बढेको छ । अत्याधिक अवस्थामा शेयर र जग्गामा अत्याधिक कारोबार हुँदाखेरी माग आपूर्तिको बीचमा ठूलो असन्तुलन भयो ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘त्यसले गर्दा त्यहाँ सिथिलता आएको थियो । अब विस्तारै पनि लय फर्किदै छ । र, राजश्व पनि विस्तारै बढ्न थालेको छ ।’’
हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको तर्क समेत गर्नुभयो । अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढावा पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।