सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको उजुरी आह्वान – Nepalboli

सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको उजुरी आह्वान

   २०८० मंसिर ८, शुक्रबार  

सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भएका ६ जना विरुद्ध उजुरी आह्वान भएको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ समितिले उनीहरु विरुद्ध उजुरी दिन १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो। शुक्रबार सिंहदबारमा बसेको बैठकले उनीहरुको विषयमा सार्वजनिक सञ्चार माध्यमसहित संघीय संसद्‌ सचिवालयले उजुरी माग गर्ने निर्णय गरेको हो।

न्याय परिषद्‌ले सर्वोच्च अदालतको रिक्त स्थायी न्यायाधीशका लागि उच्च अदालतका ४ र कानुन व्यवसायीकनट २ गरी ६ जनाको नाम सिफारिस गरेको थियो। सर्वोच्च अदालतमा ७ जना न्यायाधीशको दरकन्दी रिक्त रहेको छ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले चार उच्च अदालतका न्यायाधीश र राजनीतिक दलको भागबन्डामा दुई कानुन व्यवसायी गरी ६ जनाको नाम सिफारिस मंसिर ५ गतेको बैठकले गरेको थियो।

सिफारिस हुनेमा उच्च अदालतका न्यायाधीशहरु महेश शर्मा पौडेल, शारंगा सुवेदी, टेकप्रसाद ढुङ्गाना, अब्दुल अजिज मुसलमान र कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ताहरु सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका थिए।

सिफारिस लगत्तै उनीहरुको नाम संसदीय सुनुवाइका लागि पठाइएको थियो। सुनुवाइ समितिले अब उनीहरुका विरुद्ध उजुरी संकलन गर्दै सुनुवाइ प्रक्रिया थालनी गर्नेछ।

सुनुवाइ समितिले उजुरीमाथि छलफल गर्दै प्रस्तावित न्यायाधीशहरुलाई आफ्नो कार्ययोजना पेस गर्ने मौका दिनेछ। उनीहरुको प्रस्तुतपछि अनुमोदनको निर्णय हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै