दसैंको मुखमा चिनीको हाहाकार, उपभोक्ता हैरान – Nepalboli

दसैंको मुखमा चिनीको हाहाकार, उपभोक्ता हैरान

   २०८० आश्विन २६, शुक्रबार  

दसैंको मुखमा बजारमा चिनीको हाहाकार भएको छ। बजारमा उपभोक्ताहरूले सहजै चिनी किन्न नपाएको गुनासो गरेका छन्। चिनी नभएर ग्राहकलाई खाली हात पठाउन परेको काठमाडौंका खुद्रा व्यवसायीहरु बताउँछन्।

दुईसाता यता बजारमा चिनी नपाएको उपभोक्ताहरुको गुनासा छन भने व्पारीहरु चिनी आफुहरुले नपाएका कारण विक्रिमा नल्याउन सकेको बताउछन । चिनी नपाउँदा बजारमा उपभोक्तालाई दसैं आए जस्तो अनुभूति हुन सकेको छैन।

सरकारले खुद्रा बजारमा चिनी उपलब्ध गराइदिए ५० पैसा मात्रै नाफा राखेर बेच्न आफूहरू तयार भएको व्यापारीहरु बताए। बजारमा एक महिनादेखि नै चिनीको आपूर्ति कम हुन थालेको खुद्रा व्यवसायी संघका कोषाध्यक्ष बसन्त श्रेष्ठले बताए। उनकाअनुसार अधिकांश होलसेल पसलमै चिनीको अभाव छ। कुनै होलसेलमा चिनी पाएपनि महँगो मूल्यका कारण खुद्रा व्यापारीले ल्याउन सकेका छैनन्।

धेरैजसो होलसेलमा चिनी नै छैन। कुनै पसलमा पाएपनि चिनी बेच्न सक्ने अवस्था छैन, उनले भने, उनीहरूको आफ्नै मूल्य छ। यहाँ ल्याएर बेच्नै सकिँदैन। सरकारले फ्याक्ट्री तथा होलसेल पसलमा चिनीको मौज्दात र मूल्यबारे अनुगमन गर्नुपर्ने उनले बताए।
पहिले पनि सरकारले अनुगमन गरेपछि केही परिमाण चिनी मौज्दात भेटिएको थियो, उनले भने, फेरि अनुगमन गर्नुपर्ने बेला भएको छ। १५ दिनदेखि चिनीको गोदाम रित्तिएको थोक व्यापारी इश्वर श्रेष्ठ बताउँछन्।

केही समय अघि वाणिज्य विभागले अनुगमन गरेर चिनी मौज्दात भेटेपछि ठूला व्यापारीले चिनी लुकाउन थालेको ती व्यापारीको भनाइ छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०र१० हजार टन चिनी ल्याउन अनुमति पाएका छन्।

जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ दिने म्याद सहित असोज १० गते टेण्डर आह्वान गरेको हो। जसको अवधि कात्तिक २५ गते सकिन्छ।

साल्ट ट्रेडिङले आह्वान गरेको टेन्डरको म्याद असोज २० गते सकिसकेको छ। साल्ट ट्रेडिङले दसैंमा र खाद्यले तिहारमा चिनी ल्याउने प्रयास गरिरहेको जनाएको छ।

त्यस्तै, सरकारले जिटुजी प्रक्रियामार्फत् ५० हजार टन चिनी ल्याउन कूटनीतिक पहल भइरहेको समेत छ।

सो परिमाणको चिनी ल्याउन साउनमै उच्चस्तरीय पहल गरिएको हो तर हालसम्म निर्णय भएको छैन।

सहुलियत पसलमा चिनी राख्न वाणिज्य विभागले उद्योगीसँग चिनी सापटी समेत मागिरहेको छ।

वाणिज्य विभागका सूचना अधिकारी आनन्दराज पोखरेलकाअनुसार उद्योगमा एक लाख ८८ हजार टन चिनी मौज्दात छ।

तर, आधाभन्दा बढी चिनी कोकाकोला, पेस्सी लगायत बढी चिनी खपत हुने कम्पनीले खरिद गरेर उद्योगमै राखेका छन्। बाँकी चिनी बजारमै जानेछ।

सरकारले गत आइतबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ। सहुलियत पसलमा पनि उपभोक्ताले चिनी पाउन सकेका छैनन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै