चिनीमा मनोमानी- कृत्रिम अभाव सिर्जना गरी मूल्यमा कालोबजारी – Nepalboli

चिनीमा मनोमानी- कृत्रिम अभाव सिर्जना गरी मूल्यमा कालोबजारी

   २३ आश्विन २०८०, मंगलवार  

नेपालीको ठुला चाडपर्व दसैँ, तिहार नजिकिँदै गर्दा चिनीको भाउ महँगो हुनु नौलो होइन तर यो पटक त चिनी प्रतिकेजी १५० रुपियाँसम्म पुगेको छ । त्यो पनि सहज रूपमा सबै पसलमा पाइँदैन । एक महिनाअगाडि मात्रै प्रतिकेजी १०० रुपियाँमा कारोबार भएको चिनी अहिले बढेर १५० रुपियाँसम्म पुगेको हो ।

नेपालीको ठुला चाडपर्व दसैँ, तिहार र छठमा जुन बेला चिनीको बढी खपत हुन्छ, त्यो बेलामा सीमित व्यापारीले बजार नियन्त्रणमा लिई चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्यमा कालोबजारी हुँदासमेत सरकारका जिम्मेवार निकाय कहाँ छन् ? आमउपभोक्ता प्रश्न गरिरहेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चले तीन महिनाअगाडि नै अनुदानको चिनी खरिद गरी सरकारको मातहतमा रहेका खाद्य, व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी ७३ रुपियाँमा पाइने चिनी नेपालमा १५० रुपियाँ पुगेको छ । त्यसमा बजारमा कृत्रिम अभावको वातावरण सिर्जना गरेर उपभोक्तालाई चर्को मुल्य तिर्न थप दबाब सिर्जना गरिइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट टे«डिङ कर्पोरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ५० प्रतिशत भन्सार छुटमा ६० हजार टन चिनी खरिद गर्नका साउन १८ गते र साउन ३१ गते दुई वटा पत्र अर्थ मन्त्रालयमा पेस गरेको थियो । अर्थ मन्त्रालयले भदौको अन्तिम साता १० हजार टन खाद्य व्यवस्था तथा व्यापार कम्पनी र १० हजार टन साल्ट ट्रेडिङ कर्पोरेसनलाई गरी कुल २० हजार टन मात्रै चिनी खरिदका लागि स्विकृति दिएको छ । त्यो चिनी खरिदका लागि टेन्डर प्रक्रियामा जानुपर्ने भएकाले कहिले आउँछ भन्ने टुङ्गो छैन । बजारमा चिनीको हाहाकार सिर्जना गरी मनपरी मूल्यमा बिक्री भइसकेको छ ।

अघिल्लो हप्ता मात्रै व्यावारीहरुले लुकाएर राखिएको ठुलो मात्रामा चिनी सरकारले बरामद गरेका थिए । तर पनि बजारमा सहज देखिएको छैन ।

नेपाल खुद्रा व्यापार सङ्घले हरेक १५ दिनमा पुनरवलोकन गर्दै आएको खाद्य तथा किराना वस्तुका सामानको मूल्य सूचीबाट चिनी हटाएको छ । चिनीको मूल्य थोकमै मनलाग्दी भएकाले अधिकांश खुद्रा व्यापारीले चिनी बिक्री गर्न छोडेकाले मूल्य सूचीमा राख्न छोडेको सङ्घले स्पष्ट पारेको छ ।

सङ्घका कोषाध्यक्ष नरेशबाबु शाहीले थोक तथा ठुला व्यापारीले मनपरी भाउ बढाएकाले खुद्रा व्यापारको सूचीमा चिनीको मूल्य हटाउनु परेको बताउनुभयो । थोक व्यापारीबाट मनपरी मूल्य तिरेर चिनी किन्नुपर्ने तर बिल नपाइने समस्याका कारण फसिने जोखिमका कारण चिनीको कारोबार गर्न छोडेको सङ्घका कोषाध्यक्ष शाहीको भनाइ छ । थोक व्यापारीले प्रतिकेजी १३० रुपियाँमा चिनी बेच्ने तर बिल भने प्रतिकिलो १०५ रुपियाँको मात्रै दिने भएपछि आफूले चिनीको कारोबार कसरी गर्ने ? उहाँले प्रतिप्रश्न गर्नुभयो ।

पछिल्लो केहि समय यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि चिनी बिक्रीवितरण स्थगित गरेको छ । कम्पनीमा अहिले चिनीको मौज्दात कम रहेकाले बिक्रीवितरण रोकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै