चन्द्रयान र सूर्य मिसन पछि अब भारतको समुद्रयान

छिमेकी मुलुक भारतले चन्द्रयान ३ र सूर्य मिसन पश्चात् अब समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको छ । यसका लागि भारतले समुद्रमा जाने यानको निर्माण गरिरहेको छ । जसको नाम समुद्रायन हो । यसलाई मत्स्य ६००० पनि भनिएको छ । उक्त समुद्रायनमा तीनजना मानिसहरु समुद्रको ६ किलोमिटर गहिराईसम्म जानेछन् अनि त्यहाँ अध्ययन अनुसन्धान गर्नेछन् ।
भारतका पृथ्वी विज्ञानमन्त्री किरेन रिजिजूूले सेप्टेम्बर ११ मा एक ट्वीट गर्दै भारतको अबको मिसन समुद्रयान भएको बताएका छन् । चेन्नाइको नेशनल इन्स्टिच्यूट अफ ओशन टेक्नोलोजीले उक्त यान बनाएको हो ।
यसका माध्यमबाट तीनजना व्यक्ति समुद्रभित्र ६ हजार मिटरको गहिराइसम्म पुग्नेछन् । उनीहरुले त्यहाँका स्रोत तथा जैविक विविधताको अध्ययन गर्नेछन् ।
उक्त परियोजनाको कारणबाट समुद्रको पर्यावरणमा कुनै नोक्सानी नहुने मन्त्रीको दाबी छ ।
यो एक गहिरो सामुद्रिक मिसन हुनेछ जसबाट सामुद्रिक अर्थतन्त्र अर्थात् ब्लू इकोनोमीको विकास गर्ने उद्देश्य छ । यसबाट समुद्रको भित्र रहेका जे जानकारीहरु प्राप्त हुनेछन् त्यसबाट कैयन् मानिसहरुलाई रोजगारी मिल्नेछ । किनकि यसबाट सामुद्रिक स्रोतसाधनको प्रयोग हुनेछ ।
रोचक कुरा त के भने एकातर्फ भारतीय अन्तरिक एजेन्सी इसरोले चन्द्रयान ३, गगनयान तथा सूर्य मिसनजस्ता अन्तरिक्ष मिसन चलाइरहेको बेला पृथ्वी विज्ञान मन्त्रालयले समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको हो ।
भारतको नेसनल इन्स्टिच्यूट अफ ओसन टेक्नोलोजीले यसअघि एक पर्सनल स्फेयर यान बनाएको थियो । जुन समुद्रको ५ सय मिटर सम्मको गहिराइमा जान सक्थ्यो ।
उक्त यानमा एकजना मात्रै व्यक्ति बस्न मिल्थ्यो । यो २.१ मिटर व्यासको एउटा गोलाकार पनडुब्बी थियो जुन माइल्ड स्टीलबाट बनेको थियो । बंगालको खाडीमा एक जहाजबाट उक्त यानको परीक्षण गरिएको थियो । त्यसमा सफलता प्राप्त भएसँगै संस्थानले समुद्रयान परियोजना अगाडि बढाएको हो ।