सङ्घीयता कार्यान्वयन अनुगमनका लागि संयुक्त समिति बनाउने गृहकार्य – Nepalboli

सङ्घीयता कार्यान्वयन अनुगमनका लागि संयुक्त समिति बनाउने गृहकार्य

   २३ भाद्र २०८०, शनिबार  

सङ्घीयता कार्यान्वयन अध्ययन, आवश्यक सुझाव र निर्देशनसमेत दिन सक्ने गरी सङ्घीय ससद्मा थप एक संयुक्त समिति गठनको गृहकार्य अघि बढाइएको छ । हाल सङ्घीय संसद्मा दुई संयुक्त समिति छन् । यी समितिको सभापति चयनको प्रक्रियासँगै नयाँ समिति गठनको राजनीतिक सहमति भइसकेको छ । राजनीतिक रूपमा प्रक्रिया अघि बढेसँगै समिति गठन हुन सक्ने संसद् सचिवालयले जनाएको छ ।

नयाँ समितिको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले पाउने पनि दलीय समझदारी छ । अहिलेका दुई समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले सभापति पाउने राजनीतिक सहमति यसअघि भइसकेको छ । दस विषयगत समितिमा सभापति चयन भए पनि संयुक्त समितिको नेतृत्व चयन प्रक्रिय अघि बढेको छैन ।

राष्ट्रिय सभाले गठन गरेको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संयुक्त समिति गठनको सुझाव दिएको थियो । सङ्घीय शासन प्रणाली र कानुनी शासनको निरन्तर अनुगमन, पृष्ठपोषण दिनेगरी समिति गठनको सुझाव समितिले दिएको थियो । सांसद खिमलाल देवकोटाको संयोजकत्वको समितिले २०८० असार मसान्तसम्म समिति गठनको सुझाव दिएको थियो ।

नेपालको संविधानको धारा ९७ (२) ले कुनै खास प्रयोजनका लागि सङ्घीय संसद्ले संयुक्त समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो समिति बढीमा २५ सदस्यीय हुने संवैधानिक प्रावधान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै