जी–२० को १८औँ शिखर सम्मेलन दिल्लीमा आज सुरु हुँदै – Nepalboli

जी–२० को १८औँ शिखर सम्मेलन दिल्लीमा आज सुरु हुँदै

   २३ भाद्र २०८०, शनिबार  

जी–२० शिखर सम्मेलन आजदेखि भारतको नयाँदिल्लीमा सुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँदिल्लीमा भेला भएका छन् ।

सम्मेलनमा दीगो विकास र वृद्धि, जलवायु वित्त, व्यापार र लगानी, अन्तर्राष्ट्रिय शान्ति तथा डिजिटल रुपान्तरण लगायत विषयमा छलफल हुनेछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले जी–२० बैठकमा प्रधानमन्त्री ली छ्याङलाई पठाएका छन् भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफनो विदेशमन्त्रीलाई सम्मेलनमा पठाएका छन ।

शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, चिनियाँ प्रधानमन्त्री ली छयाङ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, फ्रेन्च राष्ट्रपति इम्यान्युएल म्याक्रोन, साउदी अरबका मोहम्मद बिन सलमान, जापानका प्रधानमन्त्री फुमिओ किसिदालगायतका शीर्ष नेता शुक्रबार नै दिल्ली आइसकेका छन् ।

सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीमा झण्डै ५० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सम्मेलन आयोजनास्थल र त्यस आसपासको ३५ किलोमिटर क्षेत्रलाई उच्च सतर्कता क्षेत्र घोषणा गरिएको छ । सडकमा सैनिक, अर्धसैनिक तथा प्रहरी तैनाथ गरिनुकासाथै आकाशमा चौबिसै घण्टा ड्रोन निगरानीको व्यवस्था गरिएको छ ।

जी–२० शिखर सम्मेलनलाई विश्वले नै चासोको साथ हेर्ने गर्छ । विश्वको कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशत ओगटेका मुलुकहरूको समूह जी–२० मा विश्वका करिब ६० प्रतिशत जनसंख्या छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै