प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभामामा जाने तयारी पुुरा

प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसंघको महासभामा जाने टोली तय भएको छ।परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सो जानकारी दिएका हुन्।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको ७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्डसहितको प्रतिनिधिमण्डल भदौ ३० मा प्रस्थान गर्नेछ।
मन्त्री साउदका अनुसार प्रधानमन्त्री भदौ ३० देखि असोज ४ (तदनुसार १६ देखि २१ सेप्टेम्बर २०२३) सम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहने कार्यक्रम रहेको छ।
भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहाल, प्रेस सल्लाहकार गोविन्द आचार्य, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल छन्।
यस्तै, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीहरू लगायत नेपालबाट मिडिया प्रतिनिधिहरु समेत रहने उनले जानकारी गराए।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने मन्त्री साउदले जानकारी दिए।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको परराष्ट्र मन्त्री साउदको सचिवालयले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाटै चीन भ्रमणमा जाने छन्।