सर्वोच्च अदालतद्धारा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त – Nepalboli

सर्वोच्च अदालतद्धारा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

   २०८० भाद्र २१, बिहीबार  

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत मान्य नहुने भन्दै पदमुक्त गरेर प्रदेशसभाको सबै भन्दा ठूलो दलको नेतालाई ४८ घण्टा भित्र नयां मुख्यमन्त्री बनाउन परमादेश दिएका छन । अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त आदेश दिएको हो।

कोशीका प्रतिपक्षी दलका नेता हिक्मत कार्कीले दिएको रिटमाथि न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले सोमबारदेखि अन्तिम बहस सुन्न थालेको थियो।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उत्प्रेषणयुक्त परमादेश अथवा उपयुक्त आदेश माग गरेका थिए।

उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो।

यसअघि निवर्तमान सभामुख बाबुराम गौतमले थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरिदिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै