एमाले लुम्बिनी अधिवेशनमा मतदान हुँदै, अध्यक्षमा २ र ५ पदाधिकारीमा १२ जनाको उम्मेदवारी – Nepalboli

एमाले लुम्बिनी अधिवेशनमा मतदान हुँदै, अध्यक्षमा २ र ५ पदाधिकारीमा १२ जनाको उम्मेदवारी

   १८ भाद्र २०८०, सोमबार  

नेकपा (एमाले) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसङ्गठनबाट छानिएका गरी १ हजार जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश सङ्गठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वकबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसङ्गठनबाट ८३ गरी जम्मा १ हजार जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो ।

५ पदाधिकारीमा १२ जनाको उम्मेदवारी
प्रदेश कमिटीको पाँच जना पदाधिकारीका लागि १२ जनाको उम्मेदवारी परेको छ । सोमबार बिहान १० बजेसम्म निर्धारित मनोनयन दर्ताको अवधिभित्र अध्यक्षमा दुई जनासहित १२ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रदेश कमिटी अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजाले हिंजो साँझ नै उम्मेदवारी दर्ता गरेका थिए । दुई उपाध्यक्ष पदका लागि रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रुपन्देहीकै अनुप बराल र बाँकेका कुजन विश्वकमाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, एक जना सचिव पदका लागि दाङका लक्ष्मण आचार्य र गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी दिएको निर्वाचन मण्डलका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

दुई जना उपसचिव पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र दुर्गाप्रसाद चौधरी तथा रोल्पाका पूर्णबहादुर बुढा र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन मण्डलका अनुसार आज सोमबार दिउँसोदेखि मतदान प्रक्रिया सुरु हुने भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै