एमाले लुम्बिनी अधिवेशनमा भएन सहमति, मतदान हुदै

नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् ।
कंडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा पनि सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर कसैले पनि दाबी नछोडेपछि सहमतिको सम्भावना करिब टरेको नेताहरु बताउँछन् । रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकटका नेताहरु प्रदेश सांसदहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले समर्थन गरेका छन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट नेताहरुले कँडेललाई दोहोर्याउने प्रयास गरिरहेका छन् । उनीहरुले एक वर्ष मात्र तदर्थ समितिको नेतृत्व गरेकाले कँडेललाई एकपटक अवसर दिनुपर्ने तर्क गरिरहेका छन् । यद्यपि कँडेलले आफ्नो गुट नभएको दाबी गरेका छन् ।
यो अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । १२ जिल्लाबाट जिल्लागत रुपमा १८६, अपांगबाट एक, मजदुरबाट ३ र खुल्लाबाट पदाधिकारीसहित १५ जना चयन हुँदैछन् । जसअनुसार १२ वटै जिल्ला कमिटीहरुले सहमतिमा नाम पठाउन अलग अलग वैठक सुरु भएका छन् । यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरुको पनि निर्वाचन हुने छ । पदाधिकारी पाँच जनाको हुनेछन् ।